सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू भारतको राजकीय भ्रमण पश्चात् स्वदेश फर्कनुहुँदा माननीय परराष्ट्रमन्त्री श्री शिशिर खनालज्यूले जारी गर्नुभएको प्रेस नोट
सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू भारतको राजकीय भ्रमण पश्चात् स्वदेश फर्कनुहुँदा माननीय परराष्ट्रमन्त्री
श्री शिशिर खनालज्यूले जारी गर्नुभएको
प्रेस नोट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं
२०८३ मंसिर 07, तदनुसार 23 नोभेम्बर २०२6
उपस्थित सञ्चारकर्मी मित्रहरू,
सम्माननीय प्रधानमन्त्री श्री वालेन्द्र शाहज्यू मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ।
नेपालमा भएको ऐतिहासिक राजनीतिक परिवर्तन र आमनिर्वाचन पश्चात् गठन भएको वर्तमान सरकार प्रमुखबाट छिमेकी मित्रराष्ट्र भारतमा भएको यो पहिलो द्विपक्षीय भ्रमण हो। वर्तमान सरकारले नेपालको राष्ट्रहित प्रवर्द्धन गर्ने दिशामा आर्थिक वृद्धि, विकास र समृद्धिलाई प्राथमिकतामा राखेको छ। मित्रराष्ट्र भारतसँग रहिआएको हाम्रो सदियौं पुरानो घनिष्ठ, वहुआयामिक, सहयोगात्मक र जनस्तरको सम्बन्ध एवम् सहकार्यलाई थप मजबूत बनाई दुबै मुलुकका नागरिकले प्रत्यक्ष अनुभूत र लाभ प्राप्त गर्ने दिशामा यो भ्रमण केन्द्रित मात्र रहेन लामो समयपछि यस भ्रमणले नेपाल-भारत सम्बन्धलाई संभावनायुक्त सकारात्मक लयमा फर्काएको छ।
- यसै सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज मंसिर 7 मा भारतका महामहिम राष्ट्रपति श्रीमती द्रोपदी मुर्मुसँग शिष्टाचार भेट गर्नुभयो। भेटका क्रममा उहाँहरूबीच नेपाल-भारतबीच रही आएको सौहार्दपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भयो।
- भ्रमणको महत्वपूर्ण पक्षको रुपमा नयाँ दिल्लीको हैदरावाद हाउसमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज 23 नोभेम्वर 2026 मा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूसँग भेटवार्ता सम्पन्न गर्नुभयो। सो अवसरमा दुई प्रधामन्त्रीहरूबीच नेपाल-भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण पक्षहरूमा घनिभूत एवम् सार्थक छलफल सम्पन्न भयो।
- सो अवसरमा उहाँहरूबीच दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ प्रगाढ पार्ने सम्बन्धमा फलदायी छलफल तथा विचारहरूको आदान-प्रदान गरियो। उहाँहरूबीच खासगरी कनेक्टिभिटी, ऊर्जा साझेदारी, व्यापार तथा आर्थिक सहकार्य र खेलकूद लगायत जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भयो। दुवै प्रधानमन्त्रीज्यूहरूले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयहरूमा समेत विचार आदानप्रदान गर्नुभएको छ।
- भ्रमणका अवसरमा नेपाल-भारत सम्बन्धलाई परिणाममुखी साझेदारीमा रुपान्तरण गरी दुई देश र दुई मुलुकका नागरिकहरूले ठोस लाभ प्राप्त गर्न फलदायी बनाउने उद्देश्यले दुई प्रधानमन्त्रीज्यूहरूले दुई देशका नागरिकहरुको आकाँक्षा, खासगरी युवा लक्षित “विकसित भारत-समुन्नत नेपाल” सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज (Joint Vision Document) जारी गर्नुभएको छ। यसअन्तर्गत दुई देशबीच रहिआएको आर्थिक तथा विकास साझेदारी, Physical तथा Digital कनेक्टिभिटी, ऊर्जा क्षेत्र सहकार्य र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने साथै Climate Resilience, विपद् जोखिम न्यूनीकरण, खेलकुद, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष तथा नवप्रवर्तनजस्ता नयाँ, संस्कृति तथा पर्यटन र उदीयमान क्षेत्रमा समेत सहकार्य अघि बढाउने सहमति भएको छ। यो Joint Vision Document ले यी नयाँ विषयहरूमा सहकार्य अगाडि बढाउनको लागि आवश्यक परेमा हाम्रा पुराना सन्धि, संझौता र सहमतिहरूलाई पनि परिमार्जन गर्ने बाटो खुलेको छ। सन् १९५० को सन्धि लगायत पुराना सन्धिहरूमा पनि हामी यी विषयहरूमा बसेर नयाँ सन्धिको बाटोबाट नेपाल-भारतको सम्बन्धलाई नयाँ आयामबाट समय सापेक्ष बनाउनका लागि आवश्यक सबै खाले सन्धिहरूको पुनरावलोकन गर्नको लागि स्पेस खुलेको छ। यी नेपालले लामो समयदेखि उठाएका विषयहरू पनि यस Vision Document ले सम्बोधन गरेको छ।
- यसैगरी दुई देशबीचको व्यापार सहजीकरणलाई थप प्रभावकारी बनाउने, पारवहन व्यवस्थामा सुधार गर्ने तथा सीमापार सम्पर्क सञ्जाललाई सहज बनाउने दिशामा मिलेर काम गर्ने सहमति भएको छ। यो नेपालले दशकौं देखि उठाउँदै आएको विषय हो। नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि कोलकाता र विशाखापट्टनम बन्दरगाहका अतिरिक्त नेपाललाई थप बन्दरगाहहरू Deendayal Port (Kandla, Gujarat) र Paradip Port (Odisha) प्रवेशद्वारका रूपमा प्रयोग गर्न पहुँच प्रदान गर्ने विषयमा सहमति भएको छ। यो ठूलो उपलब्धिबाट नेपालको अन्तर्राष्ट्रिय व्यापार थप सहज हुनुका साथै नेपाली व्यवसायीहरूका लागि नयाँ अवसरहरू सिर्जना हुने तथा नेपाल र भारतबीचको व्यापारिक एवम् आर्थिक सम्बन्ध थप मजबुत हुनेमा हामी विश्वस्त छौं।
- नेपाल-भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमा स्तम्भहरूको मर्मत सम्भारमा भएको प्रगति उल्लेख गर्दै दुई देशका प्रधानमन्त्रीज्यूहरूले विद्यमान सीमा सम्बन्धी विषयमा कार्य गर्न नेपाल र भारतका परराष्ट्र/विदेश सचिवहरूलाई निर्देशन दिनुभएको छ।
- भ्रमणका क्रममा भएका छलफल र सहमतिहरू समावेश गरी दुबै पक्षको प्रतिबद्धता र प्राथमिकता झल्कने गरी Joint Press Release जारी गरिएको छ। लामो समयदेखि प्रधानमन्त्रीस्तरीय भ्रमणहरूमा यस प्रकारको Joint Statement जारी हुन सकेको थिएन।
- सम्पर्क सञ्जाल (कनेक्टिभिटी) को क्षेत्रमा विशेष उपलब्धिहरू हासिल भएका छन् । दुई देशका प्रधानमन्त्रीज्यूहरूले जनकपुर-अयोध्याबीच यात्रुवाहक रेलको भर्चुअल रूपमा संयुक्त रूपमा उद्घाटन गर्नुभयो। यसले दुई देशबीच रही आएको सामाजिक तथा धार्मिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै पर्यटन एवम् जनस्तरको सम्बन्ध प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ। यो अर्को ठूलो उपलब्धि हो।
- हवाई सम्पर्क सञ्जाललाई प्रवर्द्धन गरी नागरिक-नागरिक बीचको सम्बन्ध एवम् आर्थिक सहकार्यलाई थप मजबुत बनाउन नागरिक उड्डयनसम्बन्धी विषयमा दुई नेताहरूबीच छलफल भएको छ। हालको एकतर्फी रूपमा रहेको B345 काठमाडौ-भैरहवा-लखनउ हवाई मार्गलाई दुईतर्फी (Bidirectional) बनाउन दुबै पक्ष सहमत भएका छन्। यो भ्रमणको अर्को ठूलो उपलब्धिका रूपमा रहेको छ।
- भारतीय प्रधानमन्त्रीज्यूले नेपालको विकास यात्रामा भारतको निरन्तर सहयोग र समर्थन रहने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ। भारतले नेपाललाई भारतीय रुपैयाँ १५,००० करोड अर्थात् नेपाली रुपैयाँ करिब २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ। यो हालसम्म कै सबैभन्दा ठूलो आर्थिक सहयोग प्याकेज हो।
उक्त सहायताअन्तर्गत भारतीय रुपैयाँ ३,५०० करोड अर्थात् नेपाली रुपैयाँ करिब ५६ अर्ब विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार परियोजनाहरूका लागि अनुदान सहायता र ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि भारतीय मुद्रामा आधारित ऋण सुविधा (Line of Credit) अन्तर्गत भारतीय रुपैयाँ ११,५०० करोड अर्थात् नेपाली रुपैयाँ करिब १ खर्ब ८४ अर्ब उपलब्ध हुनेछ।
- दुई प्रधानमन्त्रीज्यूहरूबाट भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको समेत संयुक्त रूपमा उदघाटन भएको छ। यसबाट सीमापार आवागमन, व्यापार तथा स्थानीयस्तरको सम्पर्कलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।
- यसैगरी, दुई प्रधानमन्त्रीले बनबासामा एकीकृत जाँचचौकी (Integrated Check Post-ICP) को संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ। यी पूर्वाधारहरूको विकासले भन्सार जाँच तथा क्लियरेन्स प्रक्रियालाई थप प्रभावकारी बनाउन, सुरक्षित अन्तरदेशीय व्यापार प्रवर्द्धन गर्न एवम् सीमापार आवागमनलाई सहजीकरण गर्न मद्दत पुर्याउनेछ।
- दुई देशबीच ऊर्जा साझेदारीलाई थप सुदृढ बनाउन इनरुवा (नेपाल)-न्यू पूर्णिया (भारत) र दोधारा (नेपाल)-बरेली (भारत) बीच Joint Venture मार्फत नयाँ विद्युत् प्रसारण लाइनहरूको निर्माण गर्ने सहमति हुनुका साथै तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास पनि सम्पन्न भएको छ। यी पहलहरूले दुई देशबीचको ऊर्जा व्यापार तथा क्षेत्रीय ऊर्जा कनेक्टिभिटीलाई विस्तार गर्न थप योगदान पुर्याउनेछन्।
- त्यसैगरी, भारतीय सहयोगमा सम्पन्न भएको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण (Phase II) को सञ्चालन र झापा-सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरिएको छ। यसले नेपालको ऊर्जा सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
- नेपाल-भारतबीच लामो समयदेखि विचाराधिन रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (DPR) लाई अन्तिम रूप दिन सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिने सहमति भएको छ। यस सहमतिले बहुपतिक्षित यस आयोजनाको कार्यान्वयन अगाडि बढाउने आधार तय भएको छ।
- दुई प्रधानमन्त्रीहरूबीच वार्ताका क्रममा नेपालमा Indian Institute of Technology (IIT) को Off-shore Campus स्थापना गर्ने निर्णय भएको छ। यो महत्वपूर्ण पहलले नेपालको उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न, दक्ष जनशक्ति विकास गर्न तथा नेपाली युवाहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याउनेमा हामी आशावादी छौं।
- वार्ता पश्चात भारतीय प्रधानमन्त्रीज्यूले नेपालका प्रधानमन्त्रीसमक्ष भारतको “प्रधानमन्त्री गति शक्ति राष्ट्रिय बहुआयामिक सम्पर्क गुरुयोजना” बारे एक प्रस्तुतीकरण गर्नुभयो। उक्त प्रस्तुतीकरणमा सडक, रेलमार्ग, हवाईमार्ग, जलमार्ग तथा बन्दरगाहलाई एकीकृत गरी पूर्वाधार विकास, यातायात सम्पर्क विस्तार र ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने भारतको योजनाका प्रमुख पक्षहरूबारे जानकारी गराउनुभयो।
- त्यसैगरी नेपाल-भारतबीच प्राकृतिक प्रकोप व्यवस्थापन, National Forensic Science University (India) र Crime Investigation Department (Nepal Police) बीच प्राज्ञिक सहकार्य, विकास आयोजनामा डिजिटलाइजेसन, दिगो सहरी विकास, स्वास्थ्य र औषधि, आयुर्वेद र परम्परागत औषधोपचार विधि, पशुपालन तथा मत्स्यपालनको विकास, दक्षिण एसिया सेटलाइटको उपयोग लगायतका विविध क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले देहायका ८ वटा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।
- Memorandum of Understanding (MoU) for Academic and Research Collaboration between National Forensic Sciences University, Gandhinagar, Gujarat, India, and Crime Investigation Department, Nepal Police.
- MoU between Rashtriya Raksha University (RRU), India, and National Police Academy (NPA), Nepal.
- MoU between National Centre for Good Governance, Department of Administrative Reforms & Public Grievances, Government of India, and Nepal Administrative Staff College, Ministry of Federal Affairs and General Administration, Government of Nepal, on Capacity Building Training Programme for Civil Servants of Nepal.
- MoU between Government of India and Government of Nepal on Cooperation in the field of Ayurveda and other Traditional Systems of Medicine.
- MoU between Indian Space Research Organisation (ISRO), Government of India, and Ministry of Information and Communication (MOIC), Government of Nepal, on Establishment of Satellite Communication (SATCOM) Network for the Utilization of South Asia Satellite.
- MoU between Government of India and Government of Nepal on Technical Cooperation in the field of Sustainable Urban Development.
- MoU between Ministry of Health and Family Welfare, Government of India, and Ministry of Health and Food Safety, Government of Nepal, on Cooperation in the field of Health and Medicine.
- MoU between Government of India and Government of Nepal on Cooperation in the field of Livestock and Fisheries Development.
- यी समझदारीहरूले दुई देशबीचको बहुआयामिक सहयोग र सहकार्यलाई थप संस्थागत तथा परिणाममुखी बनाउन महत्त्वपूर्ण आधार प्रदान गर्नेछ।
- भ्रमणका अवसरमा नेपाल र भारतका उद्योगी, व्यवसायी एवम् लगानीकर्ताहरूको Nepal-India Business Roundtable लाई सम्बोधन गर्दै माननीय अर्थमन्त्रीले नेपालमा लगानीका अवसरहरूबारे जानकारी गराउँदै नेपालको आर्थिक विकासमा योगदान पुर्याउने गरी नेपालमा लगानी गरी आर्थिक गतिविधि विस्तार गर्न प्रोत्साहित गर्नुभएको छ।
भ्रमणका अवसरमा भारतका प्रधानमन्त्रीज्यू लगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ भएको छ।
यस भ्रमणका क्रममा भएका छलफल र उच्चस्तरीय भेटघाटहरूले नेपाल र भारतबीचको कूटनीतिक र आर्थिक एवम् विकास सहकार्यलाई नयाँ उचाइमा पुर्याउनुका साथै आगामी दिनमा आपसी हितका क्षेत्रहरूमा परिणाममुखी सहकार्य अघि बढाउन बलियो आधार तयार भएको छ।
परराष्ट्र नीतिको महत्वपूर्ण पक्षका रूपमा रहेका छिमेक सम्बन्धलाई थप गतिशीलताका माध्यमबाट आर्थिक विकास र समुन्नतिका लागि सौहार्दपूर्ण वातावरण निर्माण गर्ने र छिमेकी मुलुकले हासिल गरेको उल्लेख्य विकास र समुन्नतिको समुचित लाभ लिने दिशामा यो भ्रमण कोशेढुंगा सावित भएको छ।
साथै, छिमेकी मित्रराष्ट्रसँग एकअर्काका संवेदनशीलताहरू बुझ्ने तथा आपसी समन्वयमा तिनको उचित समाधान गर्दै द्विपक्षीय हितलाई प्रवर्द्धन गर्न यो भ्रमण पूर्णतः सफल भएको छ। नेपाल र नेपाली नागरिकका लागि यो ऐतिहासिक उपलब्धिका रूपमा रहिरहनेछ।
अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा भारत सरकारबाट प्रदान गरिएको न्यानो स्वागत, आतिथ्यता र यस राजकीय भ्रमणको विशिष्ट व्यवस्थापनका लागि भारतका प्रधानमन्त्रीज्यू एवम् भारत सरकारका सम्बद्ध सबै निकायहरू, प्रतिनिधि तथा पदाधिकारीहरू लगायत सम्पूर्ण भारतीय नागरिकप्रति नेपाली जनता, सम्माननीय प्रधानमन्त्रीज्यू र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु।
यस भ्रमणप्रति उत्सुकता, जनचासो र सरोकार एवम् शुभेच्छा र सद्भाव राखेर विश्लेषणात्मक र सकारात्मक ढंगले विचार र समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार माध्यमहरू, विश्लेषकहरू, सामाजिक सञ्जाल प्रयोगकर्ताहरू लगायत सबैलाई म हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद।