A.D.:
Nepal Samvat: 1146 CHILLAGA SHASTHI - 21
March 08, 2026, 08:49 PM
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्ला परिस्थितिका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरू निरन्तर क्रियाशील रहेका छन् । नेपाली नियोगहरूले समस्यामा परेका नेपालीहरूको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका छन् ।
१. नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेका छन् । तसर्थ, राहदानी लगायत अत्यावश्यक कार्यका लागि सेवाग्राहीहरूले नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमा सम्पर्क गरी समय मिलाएर नियोगमा जान सक्नुहुनेछ । त्यसैगरी हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनीहरू, निकायहरू र नियोगहरूका सूचनाहरू हेरी आवश्यक जानकारी प्राप्त गर्न सक्नु हुनेछ ।
२. उक्त क्षेत्रका धेरैजसो मुलुकका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारीहरू दैनिक रूपमा अद्यावधिक गरिरहेका छन् । स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपायहरू तथा समाचारहरूबारे जानकार रहन अनुरोध गरिन्छ ।
३. परराष्ट्र मन्त्रालय पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन विशेष आग्रह गर्दछ ।
४. पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ५४,७८६ जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । त्यसरी दर्ता भएका विवरणहरू प्राथमिकताकासाथ अध्ययन गर्दै आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
५. पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेका छन् । संयुक्त अरब इमिरेट्स (UAE) मा Flydubai र Air Arabia का सीमित उडानहरू सञ्चालनमा रहेका छन् भने दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको छ । त्यसैगरी साउदी अरेविया र ओमानतर्फ हवाई सेवा हाल पुन: सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सक्नुहुनेछ ।
साथै, कुनै समस्या आइपरेमा मन्त्रालयको Emergency Action Room का टेलिफोन नम्बरहरू वा इमेल वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त सम्पर्क गर्नुहुन मन्त्रालय अनुरोध गर्दछ ।
__
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २४