अत्यन्त जरुरी सूचना ।
राहदानी विभागले लामो समयको प्रयासपछि अन्तरिम अवधिका लागि वार्ता सहमति गरी थप ७,००,००० (सात लाख) राहदानी तथा सो को वैयक्तीकरण लगायतका सम्बद्ध सेवा आपूर्ति गर्न खरिद गर्न वर्तमान आपूर्तिकर्ता कम्पनी IN Smart Identity France SAS ( पहिलेको IDEMIA Identity and Security France SAS) सँग सम्झौता गरेको र सम्झौता अनुसार आगामी तीन हप्ता भित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने भएको छ।
उक्त व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित भएकोले यस विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाएको छ। तसर्थः राहदानी जारी सम्बन्धमा देहाय अनुसारको व्यवस्था गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
- राहदानी विभागले यस अघि दैनिक १ हजारको संख्यामा Appointment Slot खोल्ने गरेकोमा सेवाग्राहीको माग अनुसार सो सङ्ख्यालाई विभागको दैनिक क्षमता अनुसार बढाई सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन Slot उपलब्ध गराउँदै लगिने छ । यसका लागि विभागमा उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार अतिरिक्त समय काममा लगाई यथा शीघ्र राहदानी आपूर्ति सहज तुल्याउने व्यवस्था मिलाईने छ ।
- विदेश स्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा एक/दुई हप्ता भित्रमा छपाई गरी पठाइने व्यवस्था मिलाइने छ ।
- जिल्ला/इलाका प्रशासन कार्यालयबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा कार्तिक १५ गतेसम्म आवेदन दिने आवेदकहरूको राहदानी दुई हप्ताभित्र र उक्त मिति पछि आवेदन दिने आवेदकहरूको राहदानी साबिक बमोजिम क्रमशः छपाई गरी पठाइने व्यवस्था मिलाइने छ ।
यस अवधिमा सेवाग्राहीहरूलाई पर्न गएको असुविधा प्रति राहदानी विभाग दुःख व्यक्त गर्दछ । यस चुनौती पूर्ण परिस्थितिमा विभागलाई सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरू प्रति विभाग हार्दिक आभार व्यक्त गर्दछ ।
मिति २०८२ मङ्सिर ५
राष्ट्रिय आर्थिक गणना २०८२