A.D.:
Nepal Samvat: 1146 CHILLAGA CHATURTHI - 19
March 07, 2026, 09:05 PM
पश्चिम एसिया क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई नेपाल सरकारले नजिकबाट नियाल्ने क्रम जारी राखेको छ। त्यस क्षेत्रमा ठूलो संख्यामा रहेका नेपालीहरूको सुरक्षा, हित तथा कल्याण सुनिश्चितताका लागि मन्त्रालय तथा विदेशस्थित सम्बन्धित नियोगहरू निरन्तर क्रियाशील रहेका छन् ।
१. यसै सन्दर्भमा आज सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूले संयुक्त अरब इमिरेट्सका राष्ट्रपति His Highness Sheikh Mohamed bin Zayed Al Nahyan सँग टेलिफोन संवाद गरी मित्रराष्ट्र युएईले व्यहोरिरहेको वर्तमान विषम परिस्थितिमा नेपाल सरकारको तर्फबाट सहानुभूति तथा ऐक्यबद्धता जनाउनुभयो । संवादकै क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाली लगायत सम्पूर्ण नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिनुभएकोमा महामहिम राष्ट्रपतिज्यूलाई हार्दिक धन्यवाद दिँदै आभार व्यक्त गर्नुभयो । जवाफमा युएईका महामहिम राष्ट्रपतिज्यूले नेपालको शुभेच्छा, सद्भाव र ऐक्यबद्धताका लागि धन्यवाद दिनुभयो । यसैगरी १ मार्च २०२६ का दिन Zayed International Airport मा ड्युटीमा रहेका बखत Shrapnel खसेर निधन भएका नेपाली नागरिक स्व. दिवस श्रेष्ठप्रति श्रद्धाञ्जली तथा गहिरो समवेदना प्रकट गर्दै नेपाली नागरिकहरूको इमान्दारिता, परिश्रम र प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा दुई मुलुकबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
२. उक्त क्षेत्रमा रहेका नियोगहरूबाट दैनिक अद्यावधिक विवरण लिने कार्य मन्त्रालयले जारी राखेको छ । आज पनि आक्रमणको क्रम निरन्तर नै रहेको छ । सम्बन्धित सरकारका सुरक्षा निकायहरूले सुरक्षा सावधानीका बारेमा जानकारी गराइरहेका छन् । यसै बमोजिम नियोगहरूले सूचना तथा Advisory हरू जारी गरेर नेपाली नागरिकहरूलाई सचेत र सावधान गराइरहेको अवस्था छ ।
३. १ मार्च २०२६ का दिन अबुधाबीमा दुखद् निधन भएका नेपाली नागरिक स्व. दिवस श्रेष्ठको पार्थिव शरीर आज अपरान्ह नेपाल आइपुगेकोमा कन्सुलर सेवा विभागका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भई सहजीकरण समेत गरी मृतक श्रेष्ठका पिता तथा परिवारका सदस्यहरूलाई शव हस्तान्तरण गरिएको छ ।
४. कुवेत एयरले खाने बस्ने व्यवस्था गर्न इन्कार गरेका ५० जना Transit Passengers लाई नेपाली राजदूतावास, कुवेत सिटीले गैर आवासीय नेपाली संघ र नेपाली समुदायसँग समन्वय गरी खाना र आवासको व्यवस्था गरेको छ । कतार, कुवेत र इराकको आकाश उडानका लागि बन्द रहेकोमा आजदेखि दोहा अन्तर्राष्ट्रिय विमानस्थल ट्रान्जिटमा रहेका यात्रुको व्यवस्थापनका लागि आंशिक रूपमा खुला भएको छ भने हिजोसम्म खुला रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द भएको जानकारी प्राप्त भएको छ । आकाश खुला भएकाले इच्छुक यात्रुहरूले युएईका अन्य विमानस्थलहरू, साउदी अरब र ओमानबाट पनि यात्रा गर्न सक्नु हुने जानकारी गराइन्छ ।
५. पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आज साँझसम्म ५१,४०५ जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ । त्यसरी दर्ता भएका विवरणहरू प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यकता अनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने छ ।
परराष्ट्र मन्त्रालय सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानून विपरित हुने किसिमका फोटो वा भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान-प्रदान गर्ने कार्य नगर्नु हुन विशेष आग्रह गर्दछ । साथै, कुनै समस्या आइपरेमा मन्त्रालयको Emergency Action Room का टेलिफोन नम्बरहरू वा इमेल वा सम्बन्धित मुलुकस्थित नेपाली नियोगहरूले उपलब्ध गराएका सम्पर्क नम्बर वा इमेलमा तुरुन्त जानकारी गराउनुहुन अनुरोध गरिन्छ ।
_____
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २३