प्रेस विज्ञप्ति विदेशमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति

 

 

 

विदेशमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति

नेपाली राजदूतावास, मस्कटको पहलमा विदेशमा पहिलो पटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुभारम्भ यही ३१ जनवरी २०२५ मा सम्पन्न गरियो नेपाली राजदूतावासले ३१ जनवरी देखि ०१ फेब्रुअरी २०२५ सम्म सलालामा आयोजना गरेको राजदूतसँग प्रत्यक्ष संवाद, अन्तरक्रिया, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट-कन्सुलर सम्बन्धी विशेष कार्यक्रममा वैधानिकीकरण श्रम स्वीकृति पनि प्रदान गरिएको थियो। विभिन्न माध्यमबाट ओमान आई वैध रुपमा कम्पनीमा कार्यरत रहनु भएका नेपाली श्रमिकहरुलाई नेपाली राजदूतावास, मस्कटले नै वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था भएको छ।

महामहिम राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक श्री सुर्य बहादुर खत्रीले संयुक्त रुपमा नेपाली श्रमिकलाई वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने कार्यको शुभारम्भ गर्नु भएको थियो। वैदेशिक रोजगार विभागका कम्प्यूटर ईन्जिनियर श्री नरेश प्रसाद दासले सबै प्राविधिक व्यवस्था मिलाउनु भएको थियो।

कार्यक्रममा बोल्दै महामहिम राजदूतले नेपाली राजदूतावासले विगतमा गरेका कार्य तथा भविष्यको लागि भइरहेको पहलको बारेमा उपस्थित सबैलाई जानकारी गराउनु भयो। उहाँले वैधानिकीकरण श्रम स्वीकृतिको सेवाबाट ओमानस्थित नेपाली नागरिकहरुलाई सहज हुने विश्वास व्यक्त गर्दै नेपाली राजदूतावास नेपाली श्रमिकहरुको हकहित संरक्षणको लागि हरेक किसिमको सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। राजदूतले सामाजिक सुरक्षा कोषको महत्व, वैध माध्यमबाट विप्रेषण प्रवाह, श्रमिकले के गर्ने नगर्ने लगायतका विषयमा प्रकाश पार्दै उपस्थित महानुभावबाट उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो।

महानिर्देशक श्री सुर्य बहादुर खत्रीले विदेशमा पहिलो पटक वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिएकोले सबैलाई बधाइ दिँदै यसको औचित्यतामाथि प्रकाश पार्नु भयो। उहाँले बिना श्रम स्वीकृति विदेशमा काम गर्न जान नहुने, श्रम स्वीकृतिको आवश्यकता लगायतका विषयमा नेपाली श्रमिकहरुलाई जानकारी दिनु भएको थियो र कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिनु भएको थियो।

मस्कटबाट करिब ११०० किलो मीटर टाढा रहेको सलालामा नै राहदानी नवीकरण, बैधानिकीकरण श्रम स्वीकृति, विभिन्न जानकारी सहितको सेवा राजदूतावासले नियमित प्रदान गरेकोले सलालास्थित नेपाली श्रमिकहरुले खुसी व्यक्त गर्नुभयो। कार्यक्रममा सलालास्थित नेपाली सोसल क्लबका प्रतिनिधिहरू, स्वयंसेवकहरु लगायत नेपाली संघसंस्थाको कार्यक्रम अवधिभर सक्रिय सहभागिता र सहयोग रहेको थियो।

साथै ०३ फेब्रुअरी २०२५ (मिति २०८१/१०/२१) मा नेपाल घर, मस्कटमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी वैधानिकीकरण श्रम स्वीकृतिको सुरुवात गरियो। सोही अवसरमा महामहिम राजदूत र वैदेशिक रोजगार विभागका महानिर्देशक लगायतको टोलीसँग श्रम, आर्थिक कूटनीति, संघ सस्थाका सरोकार लगायतका विषयहरूमा अन्तरक्रिया गरिएको थियो। ओमानस्थित नेपाली संघसंस्थाको प्रतिनिधि, बैंकका प्रतिनिधि, स्वयंसेवकहरु, सामाजिक अभियन्ता लगायत उपस्थित महानुभावहरुले विभिन्न विषयमा प्रश्न तथा सुझाव दिनु भएको र वहाँहरुको जिज्ञासाको जवाफ दिइएको थियो।

नेपालबाट श्रम स्वीकृति नलिई ओमानस्थित कम्पनीहरुमा वैध तरिकाले काम गरिरहनु भएका नेपाली श्रमिकहरुलाई नेपाली राजदूतावास, मस्कटबाट नियमित रुपमा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरिने। वैधानिकीकरण श्रम स्वीकृतिको लागि श्रमिकले FEIMS प्रणालीमार्फत आफ्नो Profile बनाउने, कागजात अपलोड गरी अनलाइन आवेदन दिने र त्यसपश्चात राजदूतावासमा Biometrics (फोटो खिचाउन र Finger Print) को लागि स्वयम् उपस्थित हुनुपर्नेछ।

वैदेशिक रोजगार विभागका महानिर्देशक श्री सूर्यबहादुर खत्री र कम्प्यूटर ईन्जिनियर श्री नरेश प्रसाद दासको टोली ३० जनवरी २०२५ मा ओमान आउनु भएको, ३१ जनवरी देखि ०३ फेब्रुअरीसम्म कार्यक्रममा सहभागिता जनाई ०४ फेब्रुअरी २०२५ मा नेपाल फर्किनु भएको छ।

उक्त दुबै कार्यक्रमहरूको संचालन राजदूतावासका द्वितीय सचिव श्री बिशेष कुमार साहले गर्नु भएको थियो।

 

नेपाली राजदूतावास, मस्कट

०४ फेब्रुअरी २०२५