सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्पेनको सेभिया सहरमा आयोजित “विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलन” (Fourth International Conference on Financing for Development -FFD4) मा सहभागी भई स्वदेश फर्कनुहुँदा जारी गरिएको प्रेस नोट
(२०८२ असार 20, शुक्रबार)
सञ्चारकर्मी मित्रहरू,
1. सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो सान्चेज पेरेज कास्तेखोन तथा संयुक्त राष्ट्र संघका महासचिव महामहिम श्री एन्टोनिओ गुटेरेसको संयुक्त निमन्त्रणामा 30 जुनदेखि ४ जुलाइ २०२५ सम्म स्पेनको सेभिया सहरमा आयोजित विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलन (Fourth International Conference on Financing for Development-FFD4) मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यू उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असार १४, २०८२ मा काठमाडौँबाट स्पेन प्रस्थान गर्नुभएको थियो।
2. सम्माननीय प्रधानमन्त्रीज्यूले अति कम विकसित देशहरूको विश्व समन्वय ब्युरो (Global Coordination Bureau) को अध्यक्षको हैसियतमा तथा नेपालको तर्फबाट ३० जुन २०२५ मा सम्मेलनको मुल सत्र (General Debate) लाई सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा उहाँले अति कम विकसित मुलुकहरूले सामना गर्दै आएका चुनौतीहरूको चर्चा गर्दै सोको समाधानका लागि विकसित मुलुकलगायत विकास साझेदारहरूले थप सहयोग र साझेदारी विस्तार गर्नुपर्ने कुरामा जोड दिनुभयो। सम्माननीय प्रधानमन्त्रीज्यूले यस्ता मुलुकहरूको विकास र समृद्धिका साथै सहज र दिगो स्तरोन्नति (Smooth and sustainable graduation) का लागि सेभिया प्रतिबद्धता (Sevilla Commitment) एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। साथै, उक्त प्रतिबद्धता कार्यान्वयनका लागि विश्व समुदायले थप प्रतिबद्धता र प्रयत्न गर्नुपर्ने बताउनुभयो।
3. सम्बोधनकै क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्र (LDC) बाट स्तरोन्नति हुने बताउँदै सोका लागि आवश्यक स्रोतसाधन परिचालन गरिरहेको उल्लेख गर्नुभयो। यस क्रममा उहाँले विकास साझेदार तथा दातृ निकायहरूलाई नेपालको आर्थिक विकासमा थप सहयोग प्रदान गर्नसमेत आह्वान गर्नुभयो।
4. सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय विकास सहायता पुनर्ताजगीकरण (Revitalizing International Development Cooperation) नामक बहुसरोकारवालाहरू सम्मिलित गोलमेच बैठकको सहअध्यक्षता गर्नुभयो। सो अवसरमा उहाँले गरिबी, असमानता, ऋणभार (debt burden) तथा जलवायु परिवर्तनलगायतले अति कम विकसितलगायत विकासशील मुलुकहरूलाई गहिरो असर पारेको उल्लेख गर्नुभयो। यी समस्याहरूको समाधानका लागि अन्तर्राष्ट्रिय विकास सहकार्य थप सुदृढ हुनुपर्ने कुरामा उहाँले जोड दिनुभयो।
5. त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूले अति कम विकसित मुलुकहरूसम्बन्धी उच्चस्तरीय कार्यक्रम (High-Level Event on LDCs) को अध्यक्षता गर्नुभयो। कार्यक्रममा उहाँले अति कम विकसित राष्ट्रहरूले गरिबी, भोकमरी, कुपोषण, व्यापार घाटाजस्ता समस्याहरू भोगिरहेको बताउनुभयो।साथै, यी मुलुकहरूले ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम छुट्ट्याउनुपरेकाले जनताका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न कठिन परेको उल्लेख गर्नुभयो। यस सन्दर्भमा उहाँले विकासका लागि वित्त सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न आह्वान गर्नुभयो।
6. सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले खानेपानी तथा सरसफाइका लागि वित्तीय स्रोत परिचालनसम्बन्धी राष्ट्र प्रमुखस्तरीय अभियान (Unlocking Water and Sanitation Financing through Heads of State Initiative) लाई सम्बोधन गर्दै नेपाल खानेपानी तथा सरसफाइसम्बन्धी उक्त अभियानमा समावेश भएको घोषणा गर्नुभयो।साथै नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइको पहुँचलाई मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइलगायतका आधारभूत सेवाहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
7. यसै गरी सम्मेलनकै क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले स्पेनका प्रधानमन्त्री श्री पेद्रो सान्चेज पेरेज कास्तेखोनले आयोजना गर्नुभएको विश्व ऐक्यबद्धतामा लगानी: विकास सहायताको नयाँ सोच (Investing in Global Solidarity: A New Vision of Development Cooperation) कार्यक्रमलाई सम्बोधन गर्दै विकासशील मुलुकहरूका लागि विकास साझेदारीको महत्त्व अझ बढेको उल्लेख गर्नुभयो। यस सन्दर्भमा उहाँले विकासशील मुलुकहरूलाई सहुलियतपूर्ण स्रोतहरूको वृद्धि गर्दै विकास साझेदारीलाई प्रभावकारी बनाउने सिद्धान्तहरू (principles related to effective development cooperation) को पालना गरी विकास सहयोगबाट अधिकतम नतिजा प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो।
8. सम्मेलनको पूर्वसन्ध्यामा २९ जुनमा आयोजित विकास वित्तसम्बन्धी नागरिक समाज (Civil Society Forum for FFD4) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले दिगो विकासको लक्ष्य प्राप्तिका लागि नागरिक समाज महत्त्वपूर्ण साझेदार रहेको धारणा राख्नुभयो। उहाँले नीति निर्माण, अनुगमन र जवाफदेहिता प्रणालीमा नागरिक समाजको भूमिकालाई सशक्त बनाउनुपर्ने विचार पनि प्रस्तुत गर्नुभयो।
9. सम्मेलनका अवसर (sideline) मा सम्माननीय प्रधानमन्त्रीज्यूले स्पेनका प्रधानमन्त्री (स्पेन सरकारका अध्यक्ष) महामहिम श्री पेद्रो सान्चेज पेरेज कास्तेखोनसँग भेटवार्ता गर्नुभयो। सो अवसरमा नेपाल र स्पेनबीचका द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
10. सम्मेलनका अवसर (sideline) मा सम्माननीय प्रधानमन्त्रीज्यूले इस्टोनियाका राष्ट्रपति महामहिम श्री अलार कारिस र पोर्चुगलका प्रधानमन्त्री महामहिम श्री लुइ मोन्टेनेग्रो तथा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयहरूमा छलफल गर्नुभयो। सम्माननीय प्रधानमन्त्रीज्यूले इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हमासले बन्दी बनाएका नेपाली नागरिक श्री विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिंदै निरन्तर पहलका लागि अनुरोध गर्नुभयो।
11. त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्र संघका महासचिव महामहिम श्री एन्टोनिओ गुटेरेससँग पनि भेट गर्नुभयो। भेटका क्रममा उहाँहरूबीच नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध थप सुदृढ बनाउने, बहुपक्षीयता (multilateralism) लाई सशक्त बनाउने र नेपालको अति कम विकसित मुलुकबाट हुने स्तरोन्नतिलाई दिगो बनाउनेलगायतका विषयहरूमा छलफल भयो। साथै, सो अवसरमा महासचिव श्री गुटेरेसले संयुक्त राष्ट्र संघको शान्ति स्थापना कार्यमा नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
साथै सम्माननीय प्रधानमन्त्रीज्यूले विश्व व्यापार संगठनका महानिर्देशक डाक्टर गोजी ओकोन्जो इवेला (Dr. Ngozi Okonjo-Iweala) सँग पनि भेटवार्ता गरी नेपालको व्यापार क्षमता अभिवृद्धि गर्न नेपाल र विश्व व्यापार संगठनबीचको सहकार्य अझ सुदृढ बनाउने विषयमा कुराकानी गर्नुभयो।
12. नेपाली राजदूतावास, म्याड्रिडद्वारा आयोजित स्पेनका व्यावसायिक समुदाय (business community) सँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले जलविद्युत्, पर्यटन, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानी गर्न आह्वान गर्नुभयो।
13. त्यसै गरी नेपाली राजदूतावास, म्याड्रिडद्वारा नै आयोजित स्पेनमा बसोबास गरिरहनुभएका नेपाली समुदायसँगको अन्तरक्रिया कार्यक्रममा नेपालको विकासमा प्रवासी नेपालीहरूले खेल्न सक्ने भूमिकाको चर्चा गर्नुभयो। त्यहाँ रहेका नेपालीहरूको हित र सुरक्षा सुनिश्चित गर्न थप प्रभावकारी र जनमुखी कार्य गर्न नेपाली राजदूतावासलाई निर्देशनसमेत दिनुभयो।
14. सम्मेलनमा सहभागी हुने क्रममा स्पेनमा रहनुभएका विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरूको सम्मानमा स्पेनका राजा श्री फिलिपे छेटौं (His Majesty Felipe VI) द्वारा २९ जुनमा आयोजित रात्रिभोजमा सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभयो। साथै, स्पेनका प्रधानमन्त्री महामहिम श्री पेद्रो सान्चेज पेरेज कास्तेखोनद्वारा ३० जुनमा आयोजित रात्रिभोजमा समेत सम्माननीय प्रधानमन्त्रीज्यू सहभागी हुनुभयो।
15. सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएका भेटघाटहरूले इस्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ। साथै, नेपाल र संयुक्त राष्ट्र संघसँगबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुगेको छ।
16. सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको सहभागिता एवम् सक्रियताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको छ। सो अवसरमा उहाँले अति कम विकसित मुलुकहरूको समुहका अध्यक्षका रूपमा धारणा प्रस्तुत गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्नुभएको छ।
17. सम्माननीय प्रधानमन्त्रीज्यूले स्पेनको व्यावसायिक समुदाय तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
18. सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उहाँका मुख्य सल्लाहकार श्री विष्णुप्रसाद रिमाल तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
19. अन्त्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणका विषयमा परराष्ट्र मन्त्रालय, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क तथा नेपाली राजदूतावास, म्याड्रिडबाट जारी गरिएका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्चालमार्फत जानकारी प्राप्त गर्नुभएकै छ। यस विषयमा नियमित रूपमा समाचार सम्प्रेषण गर्नुहुने सम्पूर्ण पत्रकार मित्रलगायत सञ्चार माध्यमहरूलाई धन्यवाद व्यक्त गर्दछौँ।
धन्यवाद।