मितिः २०८१।११।०६
प्रेस विज्ञप्ति
यही २०२५ फेब्रुअरी १६ को बेलुका भारतको उडिसा राज्यस्थित Kalinga Institute of Industrial Technology (KIIT) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चिर शान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौँ।
त्यस अकल्पनीय घटना पश्चात् सिर्जित समस्या समाधानका लागि यस मन्त्रालयले निरन्तर पहल र समन्वय गरिरहेको छ। सो घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारत सरकार, उडिसा राज्यको मुख्य मन्त्रीको कार्यालय तथा सम्बन्धित शैक्षिक संस्थाका अधिकारीहरूसँग निरन्तर सम्पर्क गरी समस्या समाधानका लागि पहल गरिरहेको छ।
उक्त शैक्षिक संस्थाले नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति क्षमायाचना गर्दै त्यस्तो दुर्व्यवहार गर्ने आफ्ना कर्मचारीहरूलाई कारबाही गरेको जानकारी दिएको छ। साथै, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई छात्रावासमा फर्कन र अध्ययनलाई निरन्तरता दिनसमेत अनुरोध गरेको छ। प्रकृति लम्सालको मृत्युसँग जोडिएका एक जना व्यक्तिलाई पक्राउ गरिएको र स्थानीय प्रहरीले मृत्युको अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएको छ। मृत्युको निष्पक्ष छानवीन भई दोषीमाथि कानून अनुसारको कारवाही हुनेमा विश्वस्त छौँ।
उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता र अध्ययनको निरन्तरताका लागि थप समन्वय गर्न नेपाली राजदूतावास, नयाँ दिल्लीबाट दुई जना प्रतिनिधिहरू घटनास्थल पुगी स्थानीय निकाय, उक्त शैक्षिक संस्था र नेपाली विद्यार्थीहरूसँग सम्पर्क तथा समन्वय गरिरहनुभएको छ। साथै, नेपाली राजदूतावास, नयाँ दिल्लीले आवश्यक पर्ने विद्यार्थीका लागि परामर्शको व्यवस्था पनि मिलाएको छ।
यस घटनाको समाधानका लागि सहयोग गर्ने भारत सरकार, उडिसा राज्य सरकार तथा सम्बन्धित निकायहरूलाई धन्यवाद ज्ञापन गर्दै यस घटनाबाट प्रत्यक्ष रूपमा प्रभावित हुनुभएका विद्यार्थी, परिवारजन र सरोकारवाला सबैमा धैर्य धारण गरिदिनुहुन अनुरोध गर्दछौँ।
यस समस्याको समन्वयको लागि निम्न अनुसार सम्पर्क गर्न सकिने व्यहोरा समेत अनुरोध गर्दछौः
नेपाली राजदूतावास, नयाँ दिल्ली
ईमेलः polnepembdelhi@gmail.com
फोनः +९१ ८९२९ ६०१ ९२५
परराष्ट्र मन्त्रालय, काठमाण्डौ
ईमेलः sa@mofa.gov.np
फोनः +९७७ ९८४९२०७०९८