A.D.:
Nepal Samvat: 1145 DILLAGA NAWAMI - 24
प्रेस विज्ञप्ति
कतारका लागि नेपालका राजदूत महामहिम श्री रमेशचन्द्र पौडेलले आज आयोजित विशेष समारोहमा कतार राज्यका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ। सोहीक्रममा अमिरी दिवान (राजप्रासाद कार्यालय) मा आयोजित उक्त समारोहमा राजदूत पौडेललाई गार्ड अफ अनरले स्वागत गरिएको थियो।
ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात् अमिरसँगको शिष्टाचार भेटको क्रममा राजदूत पौडेलले अमिरको अप्रिल २०२४ मा भएको नेपाल भ्रमणबाट नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताउँदै नेपालका सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको तर्फबाट अमिरको सुस्वास्थ्यका साथै कतार र कतारी जनताको उत्तरोत्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो।
राजदूत पौडेलले आफूलाई न्यानो स्वागत गरेकोमा अमिर र कतार सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। वहाँले नेपाल र कतारबीचको घनिष्ठ र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउन आपसी सहयोगका विविध क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम गर्न मध्यस्थताको लागि अमिर र कतार सरकारले खेलेको नेतृत्वदायी भूमिकाप्रति हार्दिक आभार व्यक्त गर्दै राजदूत पौडेलले बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि सहजीकरण गरिदिन समेत अनुरोध गर्नुभयो।
अमिरले राजदूत पौडेललाई स्वागत गर्दै कतार राज्यका लागि नेपालको राजदूत नियुक्त भएकोमा बधाई दिँदै विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन राजदूतलाई कतार सरकारले हरसम्भव सहयोग गर्ने जानकारी दिनुभयो।
अमिरले मध्यपूर्वमा स्थायी शान्तिको लागि कतार निरन्तर प्रयत्नरत रहने प्रतिबद्धता जाहेर गर्नुभयो। आफ्नो नेपाल भ्रमणबाट अत्यन्त हर्षित भएको बताउँदै वहाँले नेपालको सम्माननीय राष्ट्रपतिलाई आभार व्यक्त गर्नुभयो। साथै, सोही क्रममा अमिरले कतारमा नेपाली आप्रवासी समुदायलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो।
उक्त समारोहमा अमिरी दिवान तथा कतारको परराष्ट्र मन्त्रालयका पदाधिकारी एवं यस दूतावासका नियोग उपप्रमुख श्री कुमार राई सहभागी हुनुहुन्थ्यो।
नेपाली राजदूतावास
दोहा, कतार
२०८१ माघ १३ (तदनुसार २६ जनवरी २०२५)।