A.D.:
Nepal Samvat: 1146 SILLAGA TARITIYA - 18
सञ्चारकर्मी मित्रहरू,
१. नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू २०८२ माघ १८ देखि २१ (तद्‌नुसार सन् २०२६ फेब्रुअरी १ देखि ४) सम्म जापानको ४ दिने‍ भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ।
२. भ्रमणको अवधिमा मिति २०८२ माघ २० (तद्‌नुसार ३ फेब्रुअरी २०२६) का दिन सम्माननीय राष्ट्रपतिज्यू तथा प्रथम महिला श्रीमती सविता पौडेलज्यूले टोकियोमा जापानका सम्राट नारुहितो तथा साम्राज्ञी मासाकोसँग भेटघाट गर्नुभयो। सो अवसरमा नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ऐतिहासिक ७०औं वार्षिकोत्सवको गहन महत्वका साथै गहिरो मित्रता, सद्भाव र सहयोगमा आधारित नेपाल-जापान सम्बन्धका विभिन्न पक्षहरूमा विचार आदानप्रदान भयो।
३. सोही दिन सम्माननीय राष्ट्रपतिज्यू र जापानका प्रधानमन्त्री महामहिम श्री तकाइची सनायकाबीच भएको भेटघाटमा कूटनीतिक सम्बन्ध स्थापनापछि विगत ७० वर्षमा नेपाल र जापानबीच रही आएको उत्कृष्ट सम्बन्धको समीक्षा गर्दै आगामी वर्षहरूमा नेपाल-जापान सम्बन्धलाई अझ सुदृढ बनाउने बारेमा छलफल भयो। साथै, दुई देशबीच व्यापार, लगानी, मानव संसाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटन जस्ता क्षेत्रमा आपसी हितलाई अभिवृद्धि गर्नेगरी सहयोग अगाडि बढाउने विषयमा पनि छलफल भयो।
प्रधानमन्त्री सनायकाले संविधान र लोकतन्त्रको रक्षाको लागि सम्माननीय राष्ट्रपतिज्यूले खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गर्दै नेपालको आर्थिक उन्नति, स्थायित्व र लोकतान्त्रिकरणका लागि जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नुभयो र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सफलताको कामना गर्दै यो नेपालको स्थायित्व र यो क्षेत्रकै लागि महत्त्वपूर्ण रहेको बताउनुभयो।
बैठक सुरु हुनुभन्दा अगाडि सम्माननीय राष्ट्रपतिज्यूले सम्मान गारतको समेत निरीक्षण गर्नुभयो।
४. साथै, सोहि दिन साँझ सम्माननीय राष्ट्रपतिज्यू नेपाली राजदूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल र जापानबीच रहेको उत्कृष्ट सम्बन्धको चर्चा गर्नुका साथै जापान एक भरपर्दो विकास साझेदारको रूपमा नेपालको सामाजिक-आर्थिक विकास प्रयासमा जापानको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो।
नेपालको प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने र द्विपक्षीय व्यापार एवं पर्यटन विस्तार गर्ने ठूलो सम्भावना रहेको बताउँदै उहाँले जापानमा बसोबास गरिराखेका नेपालीहरुले यस क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्न आह्वान समेत गर्नुभयो।
द्विपक्षीय सम्बन्धको उल्लेखनीय पक्ष जापानमा ठूलो नेपाली समुदायको उपस्थिति रहेको उल्लेख गर्दै उहाँले आफ्नो परिश्रम, निष्ठा र एकता मार्फत नेपाली समुदायले जापानको समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै नेपालको छविलाई सधैं उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। साथै, जापानमा हासिल गरेको ज्ञान, सीप, पूँजी र प्रविधिलाई स्वदेशमा उपयोग गरेर समृद्ध नेपालको सपना साकार पार्न थप योगदान पुर्याउन समेत उहाँले आह्वान गर्नुभयो। जनताको सर्वोच्च हितको रक्षा गर्दै सुशासन मार्फत देशको समृद्धिका लागि फागुन २१ मा नेपालमा हुने प्रतिनिधि सभाका सदस्यहरूको निर्वाचनपछि स्थिरता र विकासका नयाँ सम्भावनाहरू खुल्ने बताउँदै उहाँले जापानमा रहेर पनि नेपाली समुदायले नेपालमा निर्वाचन सफल बनाउन आफ्नो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
५. यस अघि मिति २०८२ माघ १९ (तद्‌नुसार २ फेब्रुअरी २०२६) का दिन सम्माननीय राष्ट्रपतिज्यू नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउन जापान सरकारको तर्फबाट त्यहाँका विदेश राज्यमन्त्री महामहिम श्री होरी इवाओले आयोजना गर्नुभएको विशेष स्वागत समारोहमा सहभागी हुनुभयो। समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल र जापानबीच पारस्परिक सम्मान, विश्वास, समझदारी र सहयोगमा आधारित सौहार्दपूर्ण सम्बन्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो। बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानबीचको जनस्तरको सम्बन्धलाई सुदृढ पार्न बलियो पुलको रूपमा काम गरेको बारेमा प्रकाश पार्दै उहाँले विश्व शान्तिको मुहानको रूपमा लुम्बिनीको विकासमा जापानले गरेको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
नेपालका प्राथमिकताका क्षेत्रहरू जस्तै उत्पादन, जलविद्युत, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिमा जापानी लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गर्दै उहाँले पर्यटन क्षेत्रमा सहयोग विस्तार गर्न आह्वान गर्नुभयो। नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै सम्माननीय राष्ट्रपतिज्यूले यो अवसरले द्विपक्षीय सम्बन्धलाई नयाँ स्तरमा पुर्याउने र आगामी वर्षहरूमा गहिरो र फलदायी सहकार्यका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
६. यस अघि जापानका विदेश राज्यमन्त्री श्री इवाओले सम्माननीय राष्ट्रपतिज्यूसँग शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल-जापान सम्बन्ध र आपसी सहयोगका विविध क्षेत्रहरूमा थप सहकार्य गर्दै जाने विषयमा छलफल भएको थियो।
७. सोही दिन सम्माननीय राष्ट्रपतिज्यूले जापानी व्यवसायी, उद्यमी र लगानीकर्ताहरूसँग भेटघाट गर्नुभयो। सो अवसरमा 'नेपालमा व्यवसाय र लगानीका अवसरहरू' बारे प्रस्तुतिकरण गरिएको थियो। तत्पश्चात् जापानी र नेपाली व्यापारिक समुदायका साथै नेपाली भ्रमणदलबीच अन्तरक्रिया गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिज्यूले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यावसायिक अवसरहरू खोजी गर्न आमन्त्रित गर्नुका साथै लगानीका लागि नेपालका तर्फबाट हरसम्भव सहयोग प्रदान गर्ने आश्वासन दिनुभयो।
८. भ्रमण अवधिमा सम्माननीय राष्ट्रपतिज्यूले जापानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुसँग समेत भेटघाट र छलफल गर्नुभयो।
९. सम्माननीय राष्ट्रपतिज्यूले टोकियोस्थित सेन्सो-जी वौद्ध मन्दिर र टोकियो राष्ट्रिय संग्रहालयको भ्रमण गर्नुभयो।
१०. सम्माननीय राष्ट्रपतिज्यूले टोकियोस्थित नेपाली राजदूतावासको समेत भ्रमण गर्नुभयो। दूतावासको कामका बारेमा जानकारी लिँदै उहाँले त्यहाँका अधिकारीहरूलाई नेपाल-जापान सम्बन्धलाई अझ सुदृढ पार्नका साथै जापानमा रहेका नेपालीहरूको हितको रक्षा गर्न एवं उनीहरूलाई प्रभावकारी सेवा प्रदान गर्न निर्देशन दिनुभयो।
११. सम्माननीय राष्ट्रपतिज्यूको यस भ्रमणका क्रममा जापानका सम्राट एवं प्रधानमन्त्रीसँग भएको द्विपक्षीय भेटघाट र अन्य कार्यक्रमहरूमा उहाँले जनाउनुभएको सहभागिताबाट नेपाल-जापान सम्बन्धलाई थप सुदृढीकरण गर्न तथा आपसी हितका विषयमा सहयोग विस्तार गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको छ।
१२. सम्माननीय राष्ट्रपतिज्यूको भ्रमण दलमा उहाँकी धर्मपत्नी श्रीमती सविता पौडेल लगायत नेपाल सरकारका उच्च पदाधिकारीहरू सहभागी हुनुहुन्थ्यो।
१३. यस भ्रमणका क्रममा सम्माननीय राष्ट्रपतिज्यू तथा उहाँको भ्रमणदललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि जापान सरकारलाई सम्माननीय राष्ट्रपतिज्यू साथै नेपाल सरकारका तर्फबाट हार्दिक धन्यवाद एवं कृतज्ञता ज्ञापन गर्दछु।
१४. सम्माननीय राष्ट्रपतिज्यूको भ्रमणका विषयमा निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सु-सूचित गर्न पुर्याउनुभएको योगदानका लागि सम्पूर्ण सञ्चारकर्मी मित्रहरूमा सम्माननीय राष्ट्रपतिज्यू र परराष्ट्र मन्त्रालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु।
१५. यस भ्रमणलाई सफल तुल्याउन योगदान पुर्याउने सबैमा सम्माननीय राष्ट्रपतिज्यूले हार्दिक आभार व्यक्त गर्नुभएको छ।
धन्यवाद।