राष्ट्रिय आर्थिक गणना २०८२
A.D.:
Nepal Samvat: 1146 CHAULAGA PANCHAMI - 20
November 20, 2025, 01:24 PM
प्रेस विज्ञप्ति
आकर्षक रोजगारीको प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगी तहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा विभिन्न अनलाईन डेटिङ, अनलाईन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका र 19 अक्टोबर 2025 मा स्क्यामिङ्ग केन्द्रमा म्यानमार सुरक्षाकर्मीको छापा परेपछि भागी थाईल्याण्ड प्रवेश गरेका 37 (सैंतिस) जना नेपाली नागरिकहरूलाई नेपाली राजदूतावासले थाइल्याण्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा उद्धार गरी आज मिति 2082 मंसिर 03 गतेका दिन नेपाल एयरलाइन्सको उडान नं. RA402 मार्फत नेपाल फर्काएको छ।
त्यसैगरी, म्यानमारको म्यावडीमा रहेका थप 23 जना, थाईल्याण्डको मेसोटमा रहेका २ जना तथा कम्बोडियामा रहेका ४ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार, कम्बोडिया तथा थाईल्याण्डका सम्बन्धित निकायहरूसँग समन्वय भईरहेको छ।
नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुन: अनुरोध गर्दछ। साथै, आमसञ्चार माध्यम तथा नागरिक समाजलाई समेत यो सन्देश प्रवाह गरी सहयोग गरिदिन नेपाली राजदूतावास बैंकक हार्दिक पुन:अनुरोध गर्दछ।
नेपाली राजदूतावास, बैकक
03 मंसिर 2082