२०८२ भदौ र असोज महिनामा परराष्ट्र मन्त्रालय र अन्तर्गतका निकायहरूबाट सम्पादित प्रमुख कार्यहरूः
November 11, 2025, 03:12 PM
२०८२ भदौ ७ देखि ९ गतेसम्म सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति महामहिम Ms. Vo Thi Anh Xuan ले नेपाल भ्रमण गर्नुभएको। उक्त भ्रमणका सम्बन्धमा आवश्यक व्यवस्थापन, समन्वय लगायतका कामहरू मन्त्रालयबाट सम्पन्न भएका। भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन योगदान पुगेको।
२०८२ असोज २२ गते सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीले विदेशस्थित नेपाली राजदूत / नियोग प्रमुखहरूसँग गर्नुभएको भर्चुअल बैठकका क्रममा नेपाली कूटनीतिक नियोगहरूबाट प्रवाह हुने सेवालाई सरल, निष्पक्ष, उत्तरदायी, चुस्त, पारदर्शी, प्रविधिमैत्री र प्रभावकारी बनाउन निर्देशन दिनुभएको।
२०८२ असोज ३१ गते सम्माननीय प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोग प्रमुखहरूलाई वर्तमान सरकारका प्राथमिकताबारे परराष्ट्र मन्त्रालयको सभाहलमा कूटनीतिक ब्रिफिङ गर्नुभएको।
२०८२ भदौ १५ देखि १६ गतेसम्म तत्कालीन प्रधानमन्त्री सम्माननीय श्री के.पी. शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको Tianjin मा आयोजना भएको Shanghai Cooperation Organization (SCO) Summit 2025 मा सहभागी भएको। उक्त संगठनको डायलग पार्टनरका रूपमा नेपालको प्रतिवद्धता जाहेर गर्ने र सहकार्य बढाउने दिशामा प्रगति भएको। साथै, प्रधानमन्त्रीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम Mr. Xi Jinping, उपराष्ट्रपति महामहिम Mr. Han Zheng, रूसी संघका राष्ट्रपति महामहिम Mr. Vladimir Putin लगायत विभिन्न मुलुकका राष्ट्र / सरकार प्रमुखहरूसँग द्विपक्षीय बैठक गर्नुभएको। त्यसैगरी, सम्माननीयज्यू २०८२ भदौ १८ गते बेइजिङमा आयोजित Commemoration of Victory of Chinese Peoples War of Resistance को ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुनुभएको।
२०८२ भदौ १९ देखि २२ गतेसम्म सम्माननीय प्रधानन्यायाधीश श्री प्रकाशमान सिंह राउतको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश Shri Bhushan Ramkrishna Gavai ले नेपालभ्रमण गर्नुभएको।
२०८२ कात्तिक ३ देखि ५ गतेसम्म जेनेभामा आयोजित Sixteenth Session of the United Nations Conference on Trade and Development (UNCTAD 16) मा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री अनिल कुमार सिन्हाको नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको।
२०८२ भदौ १ देखि २ गतेसम्म श्रीमान् परराष्ट्र सचिवज्यूको निमन्त्रणामा भारतका विदेश सचिव महामहिम श्री विक्रम मिश्रीले नेपाल भ्रमण गर्नुभएको। सो अवसरमा दुई देशका प्रतिनिधिमण्डलबीच विदेश सचिवस्तरमा वार्ता तथा छलफल भएको र भारतीय विदेश सचिवले सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल, सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओली तथा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटघाट गर्नुभएको।
२०८२ भदौ १० देखि १३ गतेसम्म जनवादी गणतन्त्र चीनका Vice Minister of the General Administration of Customs H.E. Mr. Wang Lingjun ले नेपाल भ्रमण गर्नुभएको। उक्त अवसरमा उहाँले माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल तथा माननीय कृषि तथा पशुपन्छी विकासमन्त्री श्री रामनाथ अधिकारीसँग शिष्टाचार भेटघाट गर्नुभएको।
२०८२ भदौ १३ गते सुदुरपश्चिम प्रदेशमा लगानी तथा विकास सम्मेलनको आयोजना सम्बन्धमा मन्त्रालयमा तयारी बैठक आयोजना गरिएको।
२०८२ असोज ७ गते विदेशस्थित ९ वटा नेपाली नियोगहरू, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अध्यागमन विभागलगायतको भर्चुअल तथा भौतिक सहभागितामा भिजिट भिसामा गई वैदेशिक रोजगारीमा संलग्न हुने नेपालीहरूको वर्तमान अवस्था, प्रवृत्ति, चुनौती, जोखिम तथा अध्यागमन नियमन सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको।भिजिट भिसालगायत श्रम आप्रवासनसँग सम्बन्धित समस्याहरूलाई प्रभावकारी रुपमा समाधान गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित, भरपर्दो र पूर्वानुमानयोग्य बनाउन गर्नुपर्ने नीतिगत सुधारका विषयहरूमा छलफल भएको।
२०८२ असोज २१ गते करिब दुई वर्षअघि हमासको अपहरणमा परेका नेपाली विद्यार्थी स्वर्गीय विपिन जोशीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याउनेदेखि सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा श्रद्धाञ्जली अर्पण कार्यक्रम र धनगढी विमानस्थलसम्म शव लैजानका लागि उडान ब्यवस्थापनको समन्वय गरिएको।
२०८२ असोज २३ देखि २४ गतेसम्म श्रीलंकाको कोलम्वोमा आयोजना भएको BIMSTEC Expert Group on Poverty Alleviation को चौथो बैठकमा नेपालको सहभागिता रहेको। बैठकमा BIMSTEC Poverty Plan of Action को कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै गरिबी न्यूनीकरण मार्फत क्षेत्रीय विकासका उद्देश्यहरु हासिल गर्न आपसी सहयोग प्रवर्द्धन गर्ने विषयमा छलफल भएको।
२०८२ असोज २३ देखि २९ गतेसम्म अबुधाबीमा सम्पन्न IUCN World Conservation Congress 2025 का दौरान विभिन्‍न पदहरूका लागि भएको निर्वाचनमा IUCN Regional Councillor for South and East Asia पदमा नेपालका उम्मेदवार श्री रोशनी अधिकारी पाठक निर्वाचित हुनुभएको। निर्वाचन प्रक्रियामा मन्त्रालयबाट आवश्यक सहयोग गरिएको तथा यस प्रकारका नेतृत्वबाट पर्यावरणको क्षेत्रमा योगदान पुर्याउने अवसर प्राप्त भएको।
२०८२ असोज २४ गतेको निर्णयबाट नेपालस्थित विदेशी अवैतनिक महावाणिज्य / वाणिज्यदूतहरूले सवारीसाधनमा प्रयोग गर्दै आएका निलो नम्बरप्लेट सम्बन्धी व्यवस्था खारेज गरिएको र सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायहरूमा पत्राचार गरिएको।
२०८२ असोज २८ देखि ३० गतेसम्म Asian Disaster Preparedness Centre र बिमस्टेक सचिवालयको संयुक्त आयोजनामा सम्पन्न Regional Policy Dialogue on Flood Emergency Response in the BIMSTEC Region कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलले भाग लिएको। उक्त संवादमा बिमस्टेक क्षेत्र अन्तर्गत बाढीजन्य विपद्को रोकथाम एवं प्रतिकार्यका लागि एउटा साझा क्षेत्रीय संयन्त्र निर्माण गर्ने लगायत सोसँग सम्बन्धित अन्य प्राविधिक विषयहरूमा छलफल भएको।
२०८२ असोज २९ देखि ३० गतेसम्म ढाकामा आयोजित SAARC-ADB Consultative Workshop on Preparation of the First SAARC Development Report विषयक कार्यशालामा नेपालको सहभागिता रहेको।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७.ब बमोजिम माननीय अर्थमन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको बैठकमा परराष्ट्र सचिवको सहभागिता रहेको।
खुट्टा भाँचिएर घाइते हुनुभएका नेपाली राष्ट्रिय फुटबल टोलीका एक सदस्यको दोहास्थित Aspetar-Orthopedic and Sports Medicine Hospital मा थप उपचारको सहजीकरणका लागि कतार फुटबल संघसँग समन्वय गरिएको।
सन् २०२६ मा हज तथा उमराका लागि साउदी अरेबियाको मक्का, मदिना जाने हजयात्रीको सुविधा तथा व्यवस्थापन सम्बन्धमा त्यहाँस्थित नेपाली नियोग, गृह मन्त्रालय, साउदी अरेबियाको काठमाडौस्थित राजदूतावास लगायत केन्द्रीय हज कमिटीका बीचमा निरन्तर समन्वय गरिएको।
२०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपश्चात नेपालीका लागि संयुक्त अरब इमिरेट्सको भिजिट भिसा र वर्किङ्ग भिसासम्बन्धमा युएइ सरकारका सम्बन्धित निकायमा कुराकानी गरिएको र आन्दोलन पश्चात नयाँ सरकार गठन भई नेपालमा जनजीवन सामान्य भैसकेको बारे युएइ पक्षलाई जानकारी गराइएको।
२०८२ भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी पुस्ताको आन्दोलनपश्चात नेपाल भ्रमणसम्बन्धमा विभिन्न मुलुकहरूले जारी गरेका प्रतिबन्धात्मक Travel Advisory हटाउन विदेशस्थित नेपाली नियोगहरूमार्फत अनुरोध गरिएको।
२०८२ असोज २८ गते भारतको बेँगलुरुस्थित BIMSTEC Energy Centre ले भर्चुअल माध्यमबाट आयोजना गरेको Capacity-building Programme on Hot-Line Maintenance in Transmission Lines विषयक कार्यक्रममा सहभागी भएको। उक्त कार्यक्रममा बिमस्टेक क्षेत्रभित्र भरपर्दो र अविच्छिन्न विद्युतीय प्रसारण प्रणाली स्थापना गर्नका लागि क्षमता विकास, प्राविधिक सहायता सहित क्षेत्रीय साझेदारी लाई बढावा दिने विषयमा छलफल भएको।
राहदानी विभाग, विदेशस्थित नेपाली नियोग तथा जिल्ला / इलाका प्रशासन कार्यालयहरूबाट भदौ र असोज महिनामा गरी कुल १,११,३३७ थान राहदानी जारी गरिएको।
कन्सुलर सेवा विभागबाट भदौ र असोज महिनामा गरी कुल 95,067 थान कागजात प्रमाणीकरण गरिएको।
मन्त्रालय र अन्तर्गतका निकायबाट अन्य नियमित कार्यहरू सम्पादन भएका।