A.D.:
Nepal Samvat: 1145 GULAGA TRAYODASHI - 28
इजरायलको दक्षिणी भू-भागमा हमासले सन् २०२३ अक्टोबर ७ का दिन अन्धाधुन्ध आक्रमण गर्दा हताहत भएका इजरायल लगायत विभिन्न मुलुकका नागरिकहरू मध्ये तत्काल १० जना नेपाली विद्यार्थीहरूको पनि दु:खद मृत्यु भएको र सोही मितिदेखि हमासको कब्जामा रहेका विद्यार्थी श्री विपिन जोशीको बारेमा हालैका दिनमा विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त घटनापश्चात् मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राखी निजको खोजी, रिहाइ तथा स्वदेश फिर्तीका लागि यथासम्भव प्रयास गर्दै आएको छ। यस क्रममा सम्माननीय राष्ट्रपतिज्यूले जर्मनीको भ्रमणमा रहँदा उहाँका जर्मन समकक्षी र नेपालको राजकीय भ्रमणमा आउनुभएका कतारी समकक्षीसँग निज जोशीको शीघ्र र सुरक्षित रिहाइका लागि पहल र पहुँच बढाइदिन अनुरोध गर्नुभएको थियो।
सम्माननीय प्रधानमन्त्रीज्यूले गत मार्च र अप्रील महिनामा इजिप्ट र टर्कीका महामहिम राष्ट्रपतिहरूसँग टेलिफोन सम्वाद गरी निज विपिन जोशीको अवस्था पहिचान तथा शीघ्र रिहाइका लागि उहाँहरूको सहयोग र सद्भावको लागि अनुरोध गर्नुभएको थियो । प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देवराज घिमिरेज्यूले अरब संसदका आफ्ना समकक्षीलाई पत्राचार गरी निज जोशीको रिहाइका लागि उहाँको समर्थन र सहयोगको लागि अनुरोध गर्नुभएको थियो।
यसैगरी, माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूले उपलब्ध सबै द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलाई उपयोग गर्दै निज विपिन जोशीको रिहाइका लागि इजरायल र हमासबीच मध्यस्थकर्ताको रुपमा सक्रिय मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका आफ्ना समकक्षी तथा उच्च अधिकारीहरू र इरान तथा टर्कीका समकक्षीलाई आ-आफ्नो तहबाट सहयोग र सद्भाव जुटाइदिन टेलिफोन, पत्राचार तथा भौतिक रुपमा भेटघाट, बैठक र कुराकानी गरी अनुरोध गर्नुभएको छ। कतिपय मुलुकहरूलाई दोहोर्याएर र तेहेर्‍याएर समेत अनुरोध गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा उपलब्ध मञ्चहरूमा समेत माननीय मन्त्रीज्यूले सबै अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गरी यस विषयलाई पर्याप्त अन्तर्राष्ट्रियकरण समेत गर्नुभएको छ भने पछिल्ला दिनहरूमा हुने सबैस्तरका कूटनीतिक भेटघाटका क्रममा यो विषयलाई एउटा प्रमुख कार्यसूचीको रुपमा उठान गर्दै आउनुभएको छ।
यसका अतिरिक्त, माननीय परराष्ट्रमन्त्रीज्यू र परराष्ट्र सचिवज्यूले मन्त्रालयमा कतार, इजिप्ट, इजरायल, अमेरिका तथा युरोपेली मुलुकका महामहिम राजदूतहरूले गर्नुहुने शिष्टाचार भेटघाट तथा कुराकानीका क्रममा विपिन जोशीको जीवन रक्षा र शीघ्र रिहाइको लागि पहल, पहुँच र सहयोग बढाइदिन अनुरोध गर्दै आउनुभएको छ।
यस विषयलाई उच्च प्राथमिकतामा राखी मन्त्रालयले विदेशस्थित सबै नेपाली राजदूतहरूलाई त्यहाँ रहेका आफ्ना कतारी र इजिप्सियन समकक्षीहरूलाई भेट गरी नेपाल सरकारको अनुरोध आ-आफ्ना सरकार समक्ष पुर्‍याइदिन अनुरोध गर्न निर्देशन दिएकोमा सोही बमोजिम भेटघाट गरी मन्त्रालय र नेपाल सरकारको चासो सञ्चार गरी प्रतिवेदनहरू पनि प्राप्त भएका छन्। यसैगरी, जेनेभास्थित नेपाली राजदूतले अन्तर्राष्ट्रिय रेडक्रसका प्रमुखसँग भेटघाट गरी निज विपिन जोशीको रिहाइको सम्भावना बारे छलफल समेत गर्नुभएको छ भने इजरायल र कतारमा रहेका नेपाली राजदूतहरूले यस विषयलाई प्रमुख कार्यभारको रुपमा लिई कार्यसम्पादन गरिरहनुभएको छ।
यसै क्रममा इजरायल र हमासबीच दुई पटक भएको अल्पकालीन युद्ध विरामको क्रममा मन्त्रालयले यसको स्वागत गर्दै मध्यस्थकर्ता मुलुकहरू कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाका वार्ताकारहरूलाई विपिन जोशीलाई रिहा हुने बन्दीको सूचीमा राख्ने विषयलाई प्राथमिकता दिन सम्बन्धित सरकारमार्फत् बारम्बार अनुरोध गरेको छ।
यसअघि मन्त्रालयको कार्यभार सम्हाल्नु भएका दुई जना माननीय परराष्ट्रमन्त्रीज्यूहरूले पनि यस विषयलाई उच्च प्राथमिकतामा राखी समाधानको प्रयास गर्नुभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।
यी सबै प्रयासका बाबजुद निज विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। यसै क्रममा निजको आमा र बहिनी हाल इजरायल पुग्नुभएको छ। निजहरूले त्यहाँका महामहिम राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, इजरायलका लागि अमेरिकी राजदूत तथा अन्य पिडित परिवारका सदस्यहरूसँग भेटघाट गरी निजको रिहाइका लागि आवाज उठाउनुभएको छ भने उहाँहरूको भ्रमणको सहजीकरण इजरायलस्थित नेपाली राजदूतावासबाट भइरहेको व्यहोरा पनि अनुरोध छ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं।
बुधबार, २०८२ भदौ ०४