प्रेस विज्ञप्ति
परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय तालिम तथा अनुसन्धान संस्था (UNITAR) को संयुक्त आयोजनामा सम्मेलन कूटनीति, बहुपक्षीय वार्ता तथा मानव अधिकार (Conference Diplomacy, Multilateral Negotiations and Human Rights) सम्बन्धी विषयमा यही २९ अक्टोबर २०१८ - २ नोभेम्बर २०१८ ( कार्तिक १२-१६) सम्म (पाँच दिन) सघन तालिम कार्यक्रम सम्पन्न भयो ।
तालिम कार्यक्रमको सुरूमा परराष्ट्र मन्त्रालय, सामान्य प्रशासन र नीति, योजना, विकास कूटनीति तथा विदेशमा रहेका नेपाली सम्बन्धी महाशाखाका प्रमुख सहसचिव श्री मणिप्रसाद भट्टराईले यस तालिमबाट सहभागीहरूको ज्ञान, सीप र प्रवृत्तिमा सकारात्मक योगदान हुनसक्ने भएकोले तालिममा सक्रिय सहभागी भई अधिकतम लाभ लिन आग्रह गर्नुभएको थियो ।
तालिममा बहुपक्षीय कूटनीति तथा मानव अधिकार परिषद् अन्तर्गत हुने सम्मेलनमा सहभागी हुने, सम्मेलन सञ्चालन गर्ने तथा प्रतिनिधिमण्डलको तर्फबाट पालना गर्नुपर्ने प्रक्रियाहरूलाई संयुक्त राष्ट्र सङ्घको महासभा, सुरक्षा परिषद्, अन्य विभिन्न निकायहरू तथा सार्कमा गरिने अभ्यासहरूलाई नमुना सम्मेलन (Mock Conference) को रूपमा सहभागीहरूले प्रस्तुत गर्नुभएको थियो ।
तालिम कार्यक्रमको समापनमा परराष्ट्र मन्त्रालयका सचिव श्री शंकरदास वैरागीले तालिमका सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गर्ने भएकोले परराष्ट्र मन्त्रालय यस्ता तालिम सञ्चालन गरी कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको जानकारी दिँदै स्रोत व्यक्ति तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीका अधिकृत तथा उच्च अधिकृत तहका ३४ जना कर्मचारीहरूको सहभागिता रहेको यस तालिममा स्रोत व्यक्तिको रूपमा संयुक्त राष्ट्र सङ्घीय तालिम तथा अनुसन्धान संस्थाका विशेषज्ञ तथा स्वीडेनका कूटनीतिज्ञ पूर्व राजदूत महामहिम लार्स टिल्फर्स (Lars Tillfors) तथा संयुक्त राष्ट्र सङ्घ, जेनेभा मुख्यालयका मानव अधिकार विशेषज्ञ युसीफ हम्दान (Youseef Hamdan) रहनुभएको थियो ।
परराष्ट्र मन्त्रालय, काठमाण्डौ ।
०२ नोभेम्बर २०१८ (२०७५ कार्तिक १६)