सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तुर्कमेनिस्तानको आवाजा सहरमा आयोजित भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलन (Third United Nations Conference on Landlocked Developing Countries -LLDC3) मा सहभागी भई स्वदेश फर्कनुहुँदा जारी गरिएको प्रेस नोट

(२०८२ साउन 2३ गते, शुक्रबार)

सञ्चारकर्मी मित्रहरू,

  • सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तुर्कमेनिस्तानका राष्ट्रपति महामहिम श्री सेरदार बेर्दमुखमेडोभ (His Excellency Mr. Serdar Berdimuhamedov) तथा संयुक्त राष्ट्र संघका महासचिव महामहिम श्री एन्टोनियो गुटेरेस (His Excellency Mr. António Guterres) को निमन्त्रणामा देखि ८ अगस्ट २०२५ मा तुर्कमेनिस्तानको आवाजा सहरमा आयोजित भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्र संघीय सम्मेलन (Third United Nations Conference on Landlocked Developing Countries-LLDC3) मा सहभागी भई आज स्वदेश फर्कनुभएको छ।

 

सम्माननीय प्रधानमन्त्रीज्यू उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 3 अगस्ट २०२५ मा काठमाडौंबाट तुर्कमेनिस्तान प्रस्थान गर्नुभएको थियो। 

 

  • सम्माननीय प्रधानमन्त्रीज्यूले अति कम विकसित मुलुकहरूको अध्यक्षको हैसियतमा तथा नेपालको तर्फबाट ५ अगस्ट २०२५ मा सम्मेलनलाई सम्बोधन गर्नुभयो।

 

सम्बोधनका क्रममा उहाँले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका पूर्वाधार अभाव, बजार सीमितता, प्राथमिक उत्पादन (primary products) मा निर्भर निर्यात व्यापार, उच्च पारवहन लागत, न्यून वैदेशिक लगानी, जलवायु परिवर्तनका प्रतिकूल असर लगायतका समस्या तथा चुनौतीहरूको चर्चा गर्नुभएको थियो। साथै, यस्ता समस्याहरूको समाधानका लागि भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूबीच आपसी सहयोग र साझेदारी विस्तार गर्नुका साथै विकास साझेदारहरूले थप सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो।  

 

सम्माननीय प्रधानमन्त्रीज्यूले भूपरिवेष्टित मुलुकहरूको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भू-जडित, पारवहन-निर्भरबाट व्यापार-प्रतिस्पर्धी र जलवायु-संकटापन्नबाट जलवायु-प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम (Awaza Programme of Action) एक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो।साथै, उक्त कार्यक्रम कार्यान्वयनका लागि विश्व समुदायले थप प्रतिबद्धता र सहकार्य गर्नुपर्नेसमेत बताउनुभयो।

 

सम्माननीय प्रधानमन्त्रीज्यूले स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा करिडोर निर्माणमार्फत सीमापार सम्पर्क (Cross-border Connectivity) विस्तारमा नेपालले काम गरिरहेको बताउनुभयो। उहाँले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुकहरू, विकास साझेदार तथा दातृ निकायहरूलाई आह्वानसमेत गर्नुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1625/statement-delivered-by-rt--hon-pm/

 

  • सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका लागि व्यापार, व्यापार सहजीकरण र क्षेत्रीय आबद्धताको परिवर्तनकारी सम्भावनाको सदुपयोग (Seizing the transformative potential of trade, trade facilitation, and regional integration for landlocked developing countries) नामक उच्चस्तरीय विषयगत गोलमेच (High-Level Thematic Roundtable) को सहअध्यक्षता (co-chair) गर्नुभयो। सो अवसरमा उहाँले समुद्रसम्म प्रत्यक्ष पहुँच नभएका कारण भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले उच्च पारवहन लागतलगायतका समस्याहरू भोग्नुपरेको बताउनुभयो।

 

साथै, यी समस्याहरू समाधान गर्दै भूपरिवेष्टित मुलुकहरूका ६० करोड भन्दा बढि मानिसहरूको जीवनस्तरमा उल्लेख्य सुधार गर्नका लागि प्रभावकारी र ठोस कदम चाल्नुपर्ने आवश्यकता ‍औंल्याउनुभयो

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1631/opening-remarks-by-rt-hon-mr-k-p-sharma-oli/

 

  • त्यसै गरी सम्माननीय प्रधानमन्त्रीज्यूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका संवृद्धिका संवाहकका रूपमा संरचनागत परिवर्तन, विविधिकरण र विज्ञान, प्रविधि तथा नवप्रवर्तन (Structural transformation, diversification, and science, technology and innovation (STI) as drivers of prosperity in landlocked developing countries -LLDCs) नामक उच्चस्तरीय विषयगत गोलमेच (High-Level Thematic Roundtable) लाई सम्बोधन गर्नुभयो। सम्बोधनमा उहाँले भूपरिवेष्टित विकासोन्मुख  मुलुकहरूको अर्थतन्त्रको संरचनात्मक रूपान्तरणका लागि उत्पादकत्व बढाउन, स्रोतसाधनको परिचालन गर्न, रोजगारीका अवसरहरू सुनिश्चित गर्न र विश्वव्यापी मूल्य श्रृंखलामा आबद्धता बढाउन विज्ञान, प्रविधि र नवप्रवर्तनको प्रयोगमा जोड दिनुभयो।

 

यसका लागि विकसित देशहरूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको वैज्ञानिक तथा प्राविधिक क्षमता विकास गर्न सहयोग गर्नुपर्ने र प्रविधि हस्तान्तरण गर्नुपर्ने बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1626/statement-by-right-honourable-k-p-sharma/

 

  • सम्माननीय प्रधानमन्त्रीज्यूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको अनुकूलन क्षमता अभिवृद्धि, सहनशीलता सबलीकरण र वातावरण परिवर्तन तथा प्रकोपको सम्बोधन (Enhancing adaptive capacity, strengthening resilience and addressing vulnerability to climate change and disasters in landlocked developing countries) नामक उच्चस्तरीय विषयगत गोलमेच (High-Level Thematic Roundtable) लाई पनि सम्बोधन गर्नुभयो। सो अवसरमा उहाँले जलवायु वित्तमा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको पहुँच बढाउन, प्रभावकारी अनुकूलनका उपायहरू विकास गर्न,  नोक्सान र क्षति कोष (Loss and Damage Fund) बा लाभ उठाउन क्षमता विकास प्रविधि हस्तान्तरणको आवश्यकता रहेको बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1632/prime-minister-of-nepal-at-the-high-level-thematic-roundtable-3/

 

  • सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका लागि दिगो संरचना निर्माण, सम्पर्क सबलीकरण र सहज परिवहन प्रणाली प्रवर्द्धन (Building sustainable infrastructure, strengthening connectivity, and promoting unfettered transit systems for landlocked developing countries) नामक उच्चस्तरीय विषयगत गोलमेच (High-Level Thematic Roundtable) लाई सम्बोधन गर्नुभयो। सम्बोधनमा भूपरिवेष्टित विकासोन्मुख  मुलुकहरूको दिगो विकासका लागि ट्रान्जिट मुलुक, विकास साझेदार अन्तर्राष्ट्रिय समुदायबीचको साझेदारी महत्त्वपूर्ण हुने बताउँदै यसका लागि नवीन वित्तीय संयन्त्र, प्रविधि हस्तान्तरण भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूका विशिष्ट आवश्यकताअनुरूपका क्षमता विकासका कार्यहरू आवश्यक रहेको बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1628/statement-by-right-honourable-mr-k-p-sharma-oli/

 

 

  • साथै, सम्माननीय प्रधानमन्त्रीज्यूले सुदृढ व्यापार तथा यातायात सम्पर्कमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन (Promotion of Regional Security and Cooperation through Enhanced Trade and Transport Connectivity) नामक कार्यक्रमलाई सम्बोधन गर्नुभयो।सम्बोधनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले दिगो सहकार्य, समावेशी समृद्धि र बलियो क्षेत्रीय एकीकरणका लागि व्यापार र यातायात सम्पर्क (Trade and Transport Connectivity) सहयोगी रहेको बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1628/statement-by-right-honourable-mr-k-p-sharma-oli/

 

  • सम्माननीय प्रधानमन्त्रीज्यूले पग्लँदो हिमताल र त्यसभन्दा पनि बढी : भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूलाई असर गर्ने जलवायु चुनौतीहरूको समाधान (Glacial Melt and Beyond: Unravelling the Climate Challenges Impacting LLDCs) विषयक कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा वहाँले हिमाल बचाउन र जलवायु संकटको सामूहिक रूपमा सामना गर्न एकताबद्ध प्रयासकालागि नेपालले सक्रिय र नेतृत्वदायी भूमिका खेल्न तयार रहेको बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1636/statement-by-rt--hon-mr--k-p/

 

  • सम्माननीय प्रधानमन्त्रीज्यूले दक्षिण-दक्षिण सहयोग (South-South Cooperation) सम्बन्धी मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा वहाँले विकासोन्मुख मुलुकहरूबीच एकआपसमा सहयोग तथा साझेदारी वृद्धि गर्नुपर्ने कुरामा जोड दिनुभयो।साथै, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूको हित प्रवर्द्धन गर्न खास गरी क्षेत्रीय स्तरमा भौतिक तथा डिजिटल पूर्वाधार विस्तार गर्नुपर्ने बताउनुभयो।

 

उक्त सम्बोधन यस लिंकमा रहेको छ : https://mofa.gov.np/content/1629/opening-remarks-as-the-special-guest-by/

 

  • सम्मेलनको साइडलाइनमा  सम्माननीय प्रधानमन्त्रीज्यूले तुर्कमेनिस्तानका राष्ट्रपति महामहिम श्री सेरदार बेर्दमुखमेडोभ (His Excellency Mr. Serdar Berdimuhamedov) सँग भेटवार्ता गर्नुभयो। सो अवसरमा नेपाल र तुर्कमेनिस्तानबीचका द्विपक्षीय हितका विविध विषयहरूमा छलफल भएको थियो।

 

  • साथै, सम्माननीय प्रधानमन्त्रीज्यूले किर्गिज्स्तानका प्रधानमन्त्री महामहिम श्री अदिलबेक कासीमालिएभ (H. E. Mr. Adylbek Kasymaliev) सँग भेटवार्ता गरी द्विपक्षीय हित र चासोका विषयमा छलफल गर्नुभयो।

 

  • साथै, अति कम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक र साना विकासोन्मुख टापु राज्यहरूका लागि संयुक्त राष्ट्र संघीय उच्च प्रतिनिधि एवं संयुक्त राष्ट्र संघका उप-महासचिव (High Representative of the United Nations for the Least Developed Contries, Landlocked Developing Countries and Small Island Developing States) श्री रबाब फतिमा (Ms. Rabab Fatima) ले सम्माननीय प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभयो। सो भेटका क्रममा भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका समस्याहरूको समाधानका लागि विश्वव्यापी सहकार्य र सहयोग परिचालन गर्ने विषयमा छलफल भएको थियो।

 

  • साथै, सम्माननीय प्रधानमन्त्रीज्यूसँग एसियाली पूर्वाधार लगानी बैंक (Asian Infrastructure Investment Bank-AIIB) का अध्यक्ष श्री चीन लिछन (Mr. Jin Liqun) र लगानी प्रवर्द्धन एजेन्सीहरूको विश्व संगठन (World Association of Investment Promotion Agencies- WAIPA) का प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी निर्देशक इस्माइल इर्साहिन (Mr. Ismail Ersahin) ले शिष्टाचार भेट गर्नुभयो। सो भेटका क्रममा नेपालका प्राथमिकताका क्षेत्रमा लगानी भित्र्याउने विषयमा छलफल भएको थियो।

                                   

  • सम्माननीय प्रधानमन्त्रीज्यू तुर्कमेनिस्तानका राष्ट्रपति महामहिम श्री सेरदार बेर्दमुखमेडोभ (His Excellency Mr. Serdar Berdimuhamedov) ले विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा 5 अगस्ट २०२५ मा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभयो।

 

  • यस महत्त्वपूर्ण सम्मेलनमा सम्माननीय प्रधानमन्त्रीज्यूको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको छ। नेपाललगायत भूपरिवेष्टित विकासोन्मुख मुलुकहरूले सामना गर्दै आएका समस्याहरूको समाधान गर्न र हित प्रवर्द्धन गर्न नेपालले स्पष्ट आवाज उठाएको छ।

 

  • सम्मेलनका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएका द्विपक्षीय भेटघाटहरूबाट मित्र राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ। साथै, नेपाल र संयुक्त राष्ट्र संघबीचको सम्बन्ध र सहकार्य थप मजबुत बनाउन मद्दत पुगेको छ।

 

  • सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी श्रीमती राधिका शाक्य, उहाँका मुख्य सल्लाहकार श्री विष्णुप्रसाद रिमाल,  संघीय प्रतिनिधि सभा सदस्य माननीय सूर्यबहादुर थापा क्षेत्री तथा उच्च सरकारी अधिकारीहरू सहभागी हुनुहुन्थ्यो।

 

  • अन्त्यमा, सम्माननीय प्रधानमन्त्रीज्यूको यस भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले जारी गरेका प्रेस विज्ञप्ति तथा सामाजिक सञ्जाल मार्फत जानकारी प्राप्त गर्नुभएकै छ। यस विषयमा नियमित रूपमा समाचार सम्प्रेषण गर्नुहुने सम्पूर्ण पत्रकार मित्रलगायत सञ्चार माध्यमहरूलाई धन्यवाद व्यक्त गर्दछौँ।

 

धन्यवाद।