A.D.:
Nepal Samvat: 1146 CHILLAGA PARU - 16
March 04, 2026, 08:17 PM
पश्चिम एसिया क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमप्रति नेपाल सरकार पूर्ण रूपमा सचेत रहेको छ। परराष्ट्र मन्त्रालयले उक्त अवस्थाको निरन्तर रूपमा नजिकबाट विश्लेषण गर्दै आएको छ। पश्चिम एसियास्थित नेपाली नियोगहरूबाट प्राप्त दैनिक प्रतिवेदनका आधारमा त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे नियमित रूपमा अद्यावधिक जानकारी संकलन भइरहेको छ। नियोगहरूले सम्बन्धित मुलुकका सरकारी निकायहरू, सुरक्षा संयन्त्रहरू तथा नेपाली समुदायसँग नजिकको सम्पर्क र समन्वय कायम राखेका छन्। हालसम्म प्राप्त विवरणअनुसार उक्त क्षेत्रका विभिन्न मुलुकहरूमा रहेका तथा ट्रान्जिटका क्रममा विमानस्थल प्रयोग गरिरहेका सबै नेपाली नागरिकहरू सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
यस परिप्रेक्ष्यमा, परिस्थितिको प्रभावकारी, समन्वयात्मक तथा द्रुत व्यवस्थापनका लागि गठन गरिएको Emergency Response Team (ERT) को पहिलो बैठक आज Team संयोजक परराष्ट्र सचिवज्यूको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले हालसम्म भएका समग्र प्रयासलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
१. बैठकको निर्णयअनुसार परराष्ट्र मन्त्रालयमा Emergency Control Room स्थापना गरी २४ सै घण्टा हटलाइन, इ–मेल रेसपोन्स तथा गुनासो व्यवस्थापन (Grievance Handling) को व्यवस्था गरिनेछ। Control Room सञ्चालनका लागि परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधिहरू रहने व्यवस्था मिलाइएको छ।
२. पश्चिम एसियास्थित विभिन्न विमानस्थलहरूमा ट्रान्जिटमा रहेका नेपाली नागरिकहरूको आवश्यक व्यवस्थापन तथा भिसा सहजीकरणका लागि सम्बन्धित नियोगहरूलाई निर्देशन दिइएको छ।
३. हालको परिस्थितिमा परराष्ट्र मन्त्रालयले जारी गरेको Travel Advisory तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्थायी रूपमा श्रम स्वीकृति स्थगन गरेको अवस्थालाई दृष्टिगत गर्दै सम्बन्धित नियोगहरूलाई मागपत्र प्रमाणीकरण नगर्न निर्देशन दिने निर्णय गरिएको छ।
४. पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागमार्फत सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा हालसम्म करिब १६,००० जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरिसक्नुभएको छ। उक्त दर्ता प्रणालीलाई सबैका लागि थप सरल, सहज र सर्वसुलभ बनाउँदै व्यापक पहुँच सुनिश्चित गरिनेछ। यस प्रयोजनका लागि नियोगहरूलाई त्यहाँस्थित नेपाली संघसंस्था, समुदाय तथा गैरआवासीय नेपाली संघ लगायतसँग समन्वय गरी सूचना प्रवाह सुदृढ गर्न निर्देशन दिइएको छ। प्राप्त विवरणका आधारमा आवश्यक सहयोगको प्रकृति तथा प्राथमिकता निर्धारण गर्ने कार्य ERT मार्फत गरिनेछ।
५. कामदारहरूको हक, हित तथा सुरक्षाको सुनिश्चितताका लागि सम्बन्धित मुलुकहरू, अन्तर्राष्ट्रिय संघसंस्था लगायतसँग समन्वय सुदृढ गर्ने विषयमा विशेष जोड दिइएको छ।
६. बैठकले हालको विषम परिस्थितिमा नेपालमा अलपत्र परेका विदेशी नागरिकहरूको भिसा सहजीकरण गर्ने सम्बन्धमा गृह मन्त्रालयलाई आवश्यक सुझाव दिने निर्णयसमेत गरेको छ।
नेपाल सरकार पश्चिम एसियामा रहेका करिब १८ लाख नेपालीहरूको सुरक्षा, संरक्षण र हितप्रति पूर्ण रूपमा संवेदनशील र प्रतिबद्ध रहेको पुनः स्पष्ट पार्दै सम्बन्धित सबैलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गर्दछ। मन्त्रालयले त्यहाको अवस्थाबारे निरन्तर अद्यावधिक जानकारी गराउँदै जाने व्यहोरा समेत जानकारी गराइन्छ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८२ फागुन २०