A.D.:
Nepal Samvat: 1145 KAULAGA CHATURDASHI - 29
October 20, 2025, 04:26 PM
नेपाली नागरिक विपिन जोशीको पार्थिव शरीर आज अपरान्ह २:३५ बजे इजरायलबाट काठमाडौं ल्याइएपश्चात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित शोकसभामा सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूले स्वर्गीय जोशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै उहाँको आत्माको चिर शान्तिको कामना गर्नुभएको छ।
साथै, प्रधानमन्त्रीज्यूले शोकसंतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ।
उक्त शोकसभामा उपस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री माननीय श्री कुलमान घिसिङ, गृह मन्त्री माननीय श्री ओम प्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री जगदीश खरेल, प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार श्री अजयभद्र खनाल, मुख्य सचिव श्री एकनारायण अर्याल, परराष्ट्र सचिव श्री अमृतबहादुर राई, सञ्चार तथा सूचना प्रविधि सचिव श्री राधिका अर्याल, नेपालका लागि इजरायली राजदूत H. E. Mr. Shmulik Arie Bass लगायत विशिष्ट महानुभावहरूले पनि स्वर्गीय जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै शोकसंतप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ।
जोशीको शव आजै विमानबाट धनगढीसम्म र त्यहाँबाट कञ्चनपुरस्थित घरमा पु-याउने व्यवस्था मिलाइएको छ। इजरायलस्थित नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको तत्वावधानमा मृतक जोशीको शव नेपाल ल्याइएको हो।
७ अक्टोबर २०२३ मा हमासद्वारा इजरायलको दक्षिणी भागमा भएको आक्रमणपछि बन्धक बनाई गाजातर्फ लगिएका निर्दोष नेपाली विद्यार्थी विपिन जोशीको निधनको दुःखद जानकारी इजरायली सरकारले १४ अक्टोबर २०२५ मा औपचारिक रूपमा गराएको थियो। उक्त ७ अक्टोबर २०२३ को आक्रमणमा परी १० जना निर्दोष नेपाली विद्यार्थीहरूको पनि तत्काल दुःखद निधन भएको थियो।
बन्धक बनाइएका जोशीको सकुशल रिहाइका लागि नेपाल सरकारले विभिन्न तहमा उपलब्ध भएसम्मका सबै प्रकारका प्रयास र पहल गरेको विषय विदितै छ। यससम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।
परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
२०८२ कार्तिक ०३