प्रेस विज्ञप्ति
इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि शुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुबै पक्षबीच युद्धविराम भएपश्चात शान्तिसुरक्षाको स्थिति क्रमश: सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख रहेको कुरा सबैमा विदितै छ । उक्त अवधिभित्र दुबै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै यस मन्त्रालयले यात्रा सम्बन्धी सुझाव (Travel Advisory) र सूचनाहरू जारी गर्नुका साथै आवश्यक परेको वखत आपत्कालीन उद्धारका लागि विवरण समेत संकलन गरेको र तेल अविवस्थित नेपाली राजदूतावास, दोहास्थित नेपाली राजदूतावास एवम् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूतसँग समेत निरन्तर सम्पर्क र समन्वय गरेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।
द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै ‘Operation Sindhu’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ (९) जना नेपाली नागरिकहरुलाई यस अघि नै इरानबाट उद्धार गरी भारत हुँदै निजहरु सबैजना स्थलमार्गबाट स-कुशल आ-आफ्नो घर फिर्ता भईसक्नु भएको छ । यसैबीच इरानको जेलमा थुनामा रहेका पाँच (५) जना नेपाली नागरिकहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (International Organization for Migration-IOM) को सहयोगमा मिति २४ जुलाई २०२५ का दिन काठमाडौं अवतरण गर्नुभएको छ ।
यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) लाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै, यस विषयमा निरन्तर रुपमा समाचार तथा सूचना प्रवाह गर्नुहुने संचारकर्मीहरुलाई समेत हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
परराष्ट्र मन्त्रालय
सिंहदरवार, काठमाडौं ।
२५ जुलाई २०२५