सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली  बाकु, अजरबैजानमा सम्पन्न भएको असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलन सहभागी भई स्वदेश फर्किनुहुँदा जरी गरिएको प्रेस नोट

सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली  बाकु, अजरबैजानमा सम्पन्न भएको असंलग्न आन्दोलनको १८औं शिखर सम्मेलन सहभागी भई स्वदेश फर्किनुहुँदा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग हुने संवादका लागि तयार गरिएको प्रेस नोट
२०७६ कात्तिक १० गते आइतबार

सञ्चारकर्मी मित्रहरू,

  1. असंलग्न आन्दोलनको अठारौं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वगरी सम्मानीय प्रधानमन्त्री श्री के पी शर्मा ओली आज स्वदेश फर्कनुभएको छ। नेपाली प्रतिनिधिमण्डलमा सम्माननीय प्रधानमन्त्रीका धर्मपत्नी श्रीमती राधिका शाक्यसमेत सहभागी हुनुहुन्थ्यो। नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार श्री विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव श्री शंकरदास बैरागी, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि श्री अमृतबहादुर राई लगायत परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू समेत समावेश हुनुहुन्थ्यो। सम्माननीय प्रधानमन्त्री यही २०७६ कात्तिक ७ गते काठमाडौंबाट अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएको थियो।
  2. अजरबैजानको बाकु पुग्नुहुँदा त्यहाँको विमानस्थलमा सम्माननीय प्रधानमन्त्रीलाई अजरबैजानका उप-प्रधानमन्त्री महामहिम श्री अलि अहमादोभ, परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवाली, अजरबैजानका परराष्ट्र उपमन्त्री महामहिम श्री नादिर हुसेनोभ, नेपालका लागि अजरबैजानका गैरआवासीय राजदूत डा. अस्रफ शिखालियभ एवम् मन्त्रीस्तरीय र उच्च अधिकारीस्तरीय बैठकका लागि नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले स्वागत गर्नुभएको थियो।
  3. अजरबैजान रहनुहँदा सम्माननीय प्रधानमन्त्रीले २०७६ कात्तिक ८ गते असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनको उद्‍घाटन समारोहमा सहभागि हुनुभयो। उद्‍घाटन समारोहमा आदोलनका निवर्तमान अध्यक्ष, आयोजक राष्ट्रका राष्ट्रपती एवं नवनिर्वाचित अध्यक्ष, संयुक्त राष्ट्रसंघको महासभाका अध्यक्ष र संयुक्त राष्ट्रसंघका महासचिवका प्रतिनिधी तथा राजनीतिक विभागका उपमहासचिवले संबोधन गर्नु भएको थियो। शिखर सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको नेता तथा नेपालका प्रधानमन्त्रीको हैसियतमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले सम्बोधन गर्नुभयो। सम्माननीय प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ यहाँहरूले परराष्ट्र मन्त्रालयको वेबसाइट र इमेलमार्फत समेत तत्कालै पाइसक्नुभएको छ।
  4. यस शिखर सम्मेलनको उच्चस्तरीय संवादको विषय “Upholding the Bandung Principles to ensure concerted and adequate response to the challenges of the contemporary world” राखिएको थियो। यहाँहरूलाई थाहा नै छ, सन् १९५५ मा इण्डोनेसियाको बाङडुङमा सम्पन्न एशिया-अफ्रिका सम्मेलनबाट पारित १० सिद्धान्तहरू नै असंलग्न आन्दोलनको सैद्दान्तिक र दार्शनिक आधारशीला थिए। आफ्नो सम्बोधनमा सम्माननीय प्रधानमन्त्रीले ६४ वर्ष अगाडि पूर्व र पश्चिमबीचको असहज शीतयुद्धको माहोलमा एशिया र अफ्रिका महादेशका नेताहरूले अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका आधारभूत मूल्यहरू बाङडुङ सम्मेलनमार्फत प्रतिपादन गरेको स्मरण गर्दै ती सिद्दान्तहरूले संयुक्त राष्ट्र संघको बडापत्रको सम्मान, राष्ट्रिय स्वभिमानको संबर्द्धन, सार्वभौमिक समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप र विवादहरूको शान्तिपूर्ण समाधानको मान्यता स्थापना गरेको बताउनुभयो। असंलग्न आन्दोलन अन्यायपूर्ण र स्वतन्त्रताविहीन विश्वको विपक्षमा दक्षिणी गोलार्धमा रहेका जनता र मुलुकहरूको मौलिक हक रक्षा गर्न रचना गरिएको निर्णायक कदम थियो। विश्व मामिलाको वस्तुगत मूल्याङ्कन गरी पूर्वाग्रहरहित ढङ्गले बिदेशनीतिको अभ्यास गर्ने विवेकसम्मत निर्णय थियो भन्ने उल्लेख गर्दै सम्माननीय प्रधानमन्त्रीले यसमार्फत निर्णय प्रक्रियामा आफ्नो स्वायत्तता कायम गरी सर्वभौम सत्ताको आत्मा जोगाउने अभिलाषा रहेको कुरा बताउनुभयो।
  5. असंलग्नताको उद्देश्यमा समाहित भएका बाङडुङ सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मूल्यको रूपमा रहेको बताउँदै सम्माननीय प्रधानमन्त्रीले शान्तिपूर्ण सह-अस्तित्व(पञ्चशील)का पाँच सिद्धान्तहरू नेपालका अमर पुत्र गौतम बुद्धका शिक्षाको देन रहेको एवं “सबैसँग मित्रता, कसैसँग छैन शत्रुता”(Amity with All, Enmity with None) को नेपालको पररराष्ट्र नीतिको मर्मसँग पूर्णरूपले मिल्दो रहेको बताउनुभयो। Comprehensive Democracy को अवस्थामा मात्र मानव अधिकार सार्थक हुनसक्ने बताउँदै सम्माननीय प्रधानमन्त्रीले हरेक व्यक्तिलाई गरिबीबाट उन्मुक्ति, समान अवसरमा पहुँच, सुरक्षा र मर्यादित रूपमा जिउने हकको प्रत्याभूति हुन सकेमा मात्र सबैले मानव अधिकारको उपभोग गर्नसक्ने बताउनुभयो। विश्वस्तरमा मुलुकहरूबीच सार्वभौमिक समानता, अहस्तक्षेप, शोषण, बल र धम्कीको प्रयोगबिना सबै मुलुकहरूले सम्मानीत र मर्यादीत ढंगले विकासका समान अवसर हासिल गर्नसक्ने तुल्याउनु यसको मर्म रहेको बताउँदै सम्माननीय प्रधानमन्त्रीले प्रजातान्त्रिक, समावेशी, न्यायपूर्ण र स्वच्छ विश्व व्यवस्थाको परिकल्पना Comprehensive Democracy ले गरेको बताउनुभयो। असंलग्न आन्दोलन शान्ति, सुरक्षा, न्याय र विकासको पर्याय रहेको कुरा सम्माननीय प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा बताउनुभयो।
  6. सम्बोधनमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले अत्यधिकलोभले वातावरणीय संकट र सामाजिक द्वन्द्व निम्त्याएको भन्दै दीगो विकासका लक्ष्य पूरा गर्दै भविष्यका लागि पर्यावरण संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो। यसै तथ्यलाई बिचार गरेर नेपालले सगरमाथा संवादको पहिलो कार्यक्रम जलवायु परिवर्तन र पर्वतीय अर्थतन्त्रमा केन्द्रित गरिने निर्णय गरेको जानकारी दिनुभयो।
  7. सम्माननीय प्रधानमन्त्रीले असंलग्न आन्दोलनले आफ्ना निर्णयको कार्यान्वयन गर्नुपर्ने, राजनीतिक संदेशलाई व्यवहारमा उतार्नुपर्ने, सदस्यहरू बीचमा रहेका मतभेद अन्त्य गर्दै आन्दोलनलाई प्रभावकारी र गतिशील बनाउन आवश्यक रहेको बताउनुभयो। त्यसका लागि सम्माननीय प्रधानमन्त्रीले ५ बुँदे सुझावहरू प्रस्तुत गर्नु भएकोछः
    • आन्तरिक रूपमा असंलग्न आन्दोलन भित्र एकता, ऐक्यबद्दता कायम गर्दै वाह्य रूपमा प्रभावशाली ढंगले विश्वव्यापी असमानतालाई सदाका लागि उन्मूलन गर्नुपर्ने।
    • असंलग्न आन्दोलनले सद्‌भाव, समझदारी र सहयोग बढाउँदै आन्दोलनको एकतालाई कमजोर तुल्याउने गरी मतभेद र विभाजन आउन दिन नहुने।
    • दक्षिणका मुलुकहरूको क्षमता र सामर्थ्य परिचालन गर्दै विकास र साझा समृद्धि हासिल गर्न सामूहिक क्षमता बढाउनुपर्ने।
    • असंलग्न आन्दोलनले जल्दाबल्दा समसामयिक मुद्दाहरूमा व्यवस्थित ढंगले विमर्श गरी समाधानका ठोस उपायहरू पहिल्याउनु पर्ने, र
    • संयुक्त राष्ट्रसंघको केन्द्रियता रहने गरी बहुपक्षीयतालाई मजबुत तुल्याउनुपर्ने।

यी सुझावहरूलाई मनन गरि असंलग्न आन्दोलनको कार्यशैली परिवर्तन गरेर समकालीन चुनौतीहरूको सामना गर्न सकिने र सामूहिक समृद्धिको यात्रा अघि बढाउन सक्षम हुने विश्वास सम्माननीय प्रधानमन्त्रीले व्यक्त गर्नुभयो।

  1. असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलनमा नेपाल एशिया – प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै सर्वसम्मतिबाट उपाध्यक्षमा निर्वाचित भयो। सोही हैसियतमा सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओलीले शिखर सम्मेलनको पहिलो दिनको अपरान्ह सत्रको अध्यक्षता गर्नुभयो। यसपटक नेपाल असंलग्न आन्दोलनको अक्टोबर २३–२४ मा सम्पन्न मन्त्रीस्तरीय बैठक र अक्टोबर २१–२२ मा सम्पन्न उच्च अधिकारीस्तरीय बैठकमासमेत एशिया-प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएको थियो। शिखर सम्मेलनको तयारीका लागि सम्पन्न मन्त्रीस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीले गर्नुभएको थियो।
  2. शिखर सम्मेलनको अवसरमा सम्माननीय प्रधानमन्त्रीले छिमेकी मित्रराष्ट्र भारतका उपराष्ट्रपति महामहिम श्री वेङ्कैया नायडु, पाकिस्तानका राष्ट्रपती महामहिम श्री अरिफ अल्भी, बंगलादेशका प्रधानमन्त्री महामहिम श्रीमती शेख हसिना र आयोजक राष्ट्र अजरबैजानका राष्ट्रपति महामहिम श्री इल्हाम अलियेभसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। त्यसैगरी, असंलग्न आन्दोलनका निवर्तमान अध्यक्ष भेनेजुएलाका राष्ट्रपति महामहिम श्री निकोलस मदुरो र उत्तर कोरियाली प्रतिनिधिमण्डलका नेता तथा त्यहाँका सर्वोच्च जन-सम्मेलनका अध्यक्ष महामहिम श्री चोइरोयङ हाइसँग पनि शिष्टाचार भेटघाट भयो। सबै द्विपक्षीय भेटघाटका अवसरमा द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो।
  3. यहाँहरूलाई अवगत नै छ नेपाल असंलग्न आन्दोलनको संस्थापक राष्ट्रमध्ये एक हो। हामी सन् १९५५ मा बाङडुङ सम्मेलनमा सहभागी राष्ट्र मध्ये एक हौं। स्थापना कालदेखि नै असंलग्न आन्दोलनका सबै शिखर सम्मेलनमा नेपालले उच्चतम तहमा प्रतिनिधित्व गरी आफ्नो स्वतन्त्र दृष्टिकोण प्रस्तुत गरिआएको छ। असंलग्नता र यसका सिद्धान्तहरू नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यताका रूपमा रहीआएका छन्। त्यसै आधारमा अन्तर्राष्ट्रिय परिस्थितिहरूका जटिलताका बाबजुद हामीले सबै अवस्थामा मौलिक दृष्टिकोणका साथ स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरी आएका छौं।
  4. असंलग्न राष्ट्रहरूको १८ औं शिखर सम्मेलनले बाकु घोषणापत्र र अन्तिम दस्तावेज (Final Document) पारित गरेकोछ। बाकु घोषणापत्रले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको सुदृढीकरण, बहुपक्षीयताको प्रबर्द्धन, सार्वभौमिक समानता, स्वतन्त्रता, अहस्तक्षेप, न्यायपूर्ण विश्वव्यवस्था, दक्षिण-दक्षिण सहयोग, आन्दोलनका सदस्यहरूबीच आन्तरिक एकता र सद्‌भाव, ऐक्यबद्धता, दीगो विकासका लक्ष्य हासिल गर्ने जस्ता विषयहरूमा जोड दिएकोछ।
  5. असंलग्नता नेपालको परराष्ट्र नीतिको आधारभूत मान्यता हुनुका अतिरिक्त असंलग्न आन्दोलन नेपालजस्ता मुलुकको सामूहिक पहिचान, ऐक्यबद्धता, सहयोग र समर्थनको स्रोतको रूपमा रहेको छ। यो शिखर सम्मेलनमा उच्चतम तहमा प्रतिनिधित्व गरेर नेपालले असंलग्नताको सिद्धान्तप्रतिको आफ्नो अविचलित आस्था र आन्दोलनप्रति ऐक्यबद्धताको मर्म पुष्टि गरेको छ।
  6. अन्त्यमा, संयुक्त राष्ट्र संघ प्रणाली बाहिर सबैभन्दा धेरै मुलुकहरू सदस्य रहेको र लामो समयदेखी दक्षिणका मुलुकहरूलाई स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता रऐक्यवद्धताको वैकल्पिक मञ्‍चको रूपमा रहेको असंलग्न आन्दोलनको १८ औं शिखर सम्मेलन सफलतापूर्वक आयोजना गर्नुका साथै अजरबैजानमा रहँदा न्यानो र हार्दिक आतिथ्यता प्रदान गर्ने आयोजक मुलुकका राष्ट्रपती महामहिम श्री इल्हाम अलियेभ तथा विगत ३ वर्ष देखी अध्यक्षको हैसियमा आन्दोलनलाई  नेतृत्व प्रदान गर्ने भेनेजुयलाका राष्ट्रपती महामहिम श्री निकोलस मदुरोलाई सम्माननीय प्रधानमन्त्रीले हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ। साथै, शिखर सम्मेलनको अबधीमा नेपालको सहभागिता र असंलग्न आन्दोलन बारे समाचार संप्रेषण गर्नुहुने सबै संचारकर्मी मित्रहरूमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।