Press Note on the State Visit of the Rt. Hon. President


सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको जनवादी गणतन्त्र चीनको राजकीय भ्रमण सम्बन्धमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूले जारी गर्नुभएको प्रेस नोट
(२०७६ बैशाख १९ तदनुसार २ मे २०१९) 

उपस्थित  सञ्चारकर्मी  मित्रहरू,

  • मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महाहिम सी चिनफिङ्गको मैत्रिपूर्ण निमन्त्रणामा चीनको राजकीय भ्रमण पूरा गरी  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू हिजो स्वदेश फर्कनु भएको छ।
  • भ्रमणका अवसरमा भएका गतिविधिहरुका बारेमा भ्रमण दलका सञ्चारकर्मी मित्रहरु एवं नेपाली राजदूतावास, बेइजिङ्ग तथा नेपाली महावाणिज्यदूतावास ल्हासाबाट जारी गरिएका प्रेस विज्ञप्तिहरुबाट यहाँहरु अवगत नै हुनुहुन्छ।
  • सम्माननीय राष्ट्रपतिज्यूले २६ अप्रिलमा आयोजित अन्तर्राष्ट्रिय सहयोगका लागि दोश्रो बेल्ट एण्ड रोड फोरमको उद्‍घाटन समारोहमा भाग लिनुभयो। उद्‍घाटन समारोह पश्चात् आयोजित ‘अझ उज्ज्वल साझा भविष्यका लागि बेल्ट एण्ड रोड फोरम (Belt and Road Forum for a Brighter Shared Future)’ बिषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्य, सहयोग तथा कनेक्टिभिटीका लागि महत्वपूर्ण मञ्च रहेको उल्लेख गर्दै यस ऐतिहासिक पहलकदमीले अर्थतन्त्रहरुलाई एकीकृत गर्न, बजारहरुलाई जोड्न तथा पूर्वाधारहरुमा लगानी गर्न प्रोत्साहित गर्ने एवं विश्वव्यापी रुपमा स्रोत साधनको ठूलो अभाव रहेको परिप्रेक्ष्यमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।उहाँले पृथ्वीको सुन्दर तथा अझ उज्ज्वल भविष्यका लागि कनेक्टिभिटीमा अभिवृद्धि तथा हरित विकासमा जोड दिनुभयो।
  • सम्माननीय राष्ट्रपतिज्यूले २७ अप्रिलको Leaders’ Roundtable मा ‘संयुक्त राष्ट्रसंघको सन् २०३० कार्यसूची कार्यान्वयनका लागि हरित तथा दिगो विकास अभिवृद्धि (Promoting Green and Sustainable Development to Implement the UN 2030 Agenda)’ बिषयक तेश्रो सत्रलाई सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा उहाँले जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुका बारेमा विश्वभरका नेताहरुको ध्यानाकृष्ट गराउँदै बैज्ञानिक अनुसन्धानमा आधारित स्वच्छ उर्जा तथा न्यून कार्बनयुक्त वातावरण मैत्री आर्थिक विकासका लागि जोड दिनुभयो।साथै, उहाँले दिगो विकासको सन् २०३० कार्यसूचीलाई हासिल गर्न राष्ट्रहरुबीच सहयोग अभिवृद्धि गर्नुपर्ने बताउँदै आर्थिक रुपान्तरण, समावेशी तथा समन्यायिक विकासका लागि बीआरआईको साझा विकास तथा समृद्धिको मर्मसँग दिगो विकासको लक्ष्य मेल खाने बताउनुभयो।
  • उपर्युक्त बैठकहरु पश्चात् सहभागी राष्ट्रहरुका नेताहरुको तर्फबाट Belt and Road Forum for a Brighter Shared Future शीर्षकमा संयुक्त विज्ञप्ति जारी भएको छ।उक्त विज्ञप्तिमा नेपालका चासोका बिषयहरु पनि समेटिएका छन् जसमा भू-परिवेष्ठित मुलूकलाई भू-जडित मुलुकमा रुपान्तरणका लागि पारवहन व्यवस्था तथा कनेक्टिभिटी सम्बन्धी पूर्वाधारलाई सुदृढ गर्ने, बहुपक्षीय व्यापार प्रणालीलाई नियममा आधारित बनाउने र नेपाल-चीन सीमा वारपार रेल्वे लगायत हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (Nepal-China Trans-Himalayan Multi-Dimensional Connectivity Network including Nepal-China cross border railways) समावेश छन्।
  • सम्माननीय राष्ट्रपतिज्यूले २८ अप्रिलमा आयोजित अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीको उद्‍घाटन समारोहमा सहभागी भई त्यहाँ रहेको नेपाली मण्डपको उद्‍घाटन गर्नुभयो।उक्त प्रदर्शनी ६ महिनासम्म संचालन हुने छ र यसबाट नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्न एउटा उपयुक्त अवसर प्राप्त भएको छ।
  • भ्रमणको अर्को महत्वपूर्ण पक्षको रुपमा बेइजिङ्गमा सम्माननीय राष्ट्रपतिज्यूले आफ्ना समकक्षी चिनियाँ राष्ट्रपति महामहिम सी चिनफिङ्गसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गर्नुभयो। उक्त अवसरमा नेपाल-चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तथा मजबुत बनाउने बिषयमा बिचारहरुको आदानप्रदान भयो। सम्माननीय राष्ट्रपतिज्यूले बीआरआई फोरम भव्यताका साथ सम्पन्न भएकोमा चीनका महामहिम राष्ट्रपतिलाई बधाई दिंदै यस फोरमले बीआरआईलाई कनेक्टिभिटी तथा पूर्वाधार विकासको माध्यमबाट आर्थिक विकास हासिल गर्न सकिने माध्यमको रुपमा यसको महत्व स्थापित गरेको बताउनुभयो।महामहिम राष्ट्रपति सीले नेपाल-चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्क अन्तर्गत सीमापार रेलमार्ग लगायत पूर्वाधार विकासमा चीनले सहयोग गर्ने बताउनुभयो। नेपालको राष्ट्रिय प्राथमिकताका आधारमा शिक्षा, निर्यात व्यापार प्रवर्द्धन र नाकाहरु खोल्ने लगायत बिषयमा सघाउन चीन तयार रहेको पनि उहाँले बताउनुभयो। साथै, नेपाल सरकारको “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय संकल्प पूरा गर्न तथा नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन चिनियाँ सहयोग रहने विश्वास दिलाउनुभयो। सम्माननीय राष्ट्रपतिज्यूले चीनका राष्ट्रपति महामहिम सीलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ र चीनका राष्ट्रपतिले आफूले सुन्दर देश नेपालको भ्रमणलाई ठूलो महत्व दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको छ।
  • त्यसैगरी सम्माननीय राष्ट्रपतिज्यूसँग चिनियाँ कम्युनिष्ट पार्टीका अनुशासन अनुगमन केन्द्रीय आयोगका सचिव महामहिम चाओ लजीले भेट गर्नुभयो।दुवै नेतृत्वका बीचमा आपसी हितका बिभिन्न बिषयमा महत्वपूर्ण छलफल भयो।
  • बेइजिङ्ग प्रस्थान गर्नुअघि सम्माननीय राष्ट्रपतिज्यूले चीनको शान्सी प्रान्तको ऐतिहासिक शहर सियानको भ्रमण गरी त्यहाँका गभर्नर महामहिम लिउ गुओजोङ्गसँग भेट गर्नुभयो।
  • बेइजिङ्गको बसाइ पश्चात् सम्माननीय राष्ट्रपतिज्यूले चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरी चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्र कमिटीका सचिव महामहिम वु इङ्गजिएसँग नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रका साझा चासोका बिभिन्न विषयमा छलफल गर्नुभयो।महामहिम वु इङ्गजिएले दुवै देशबीच सम्पन्न भएका समझदारी तथा सम्झौता एवं सहमतिहरु कार्यान्वयनमा चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले सहयोग गर्ने बताउनुभयो। त्यसैगरी नेपाल र चीनबीच सम्पन्न पारवहन यातायात सम्झौतामा हस्ताक्षर भएपश्चात् उक्त सम्झौताको कार्यान्वयनका लागि नेपाल र चीन सीमा वारपार सम्पर्क बढाउनका लागि थप नाकाहरु खोल्ने बारेमा पनि छलफल भयो।
  • भ्रमणका अवसरमा नेपाल र चीन सरकारबीच ७ वटा दस्तावेजहरुमा हस्ताक्षर सम्पन्न भएको छ। ती मध्ये नेपाल र चीनबीच सन् २०१६ मा सम्पन्न पारवहन यातायात सम्झौताको प्रोटोकल महत्वपूर्ण दस्तावेजको रुपमा रहेको छ।यस प्रोटोकलमा हस्ताक्षर भएसँगै पारवहन सम्झौता पूर्णरुपमा कार्यान्वयनमा आउने छ। यसबाट नेपालको तेश्रो मुलुकसँग व्यापारिक कारोबारका लागि चिनियाँ भूभाग भएर समुद्रसम्म पहुँच सुनिश्चित हुनेछ। यसले नेपालको पारवहन सुविधालाई विविधीकरण गरेको छ।

द्विपक्षीय वार्ता पश्चात् हस्ताक्षर सम्पन्न भएका सम्झौता/समझदारीहरुको सूची देहाय बमोजिम रहेको छः

  1. पारवहन यातायात सम्झौताको प्रोटोकल
  2. विद्यमान चिनियाँ सहयोग अन्तर्गतका मर्मत तथा संभार परियोजनाहरुको हस्तान्तरण
  3. भन्सारका विषयहरुमा सहयोग एवं पारस्परिक प्रशासनिक सहायतासम्बन्धी सम्झौता
  4. गुणस्तर मापन सम्बन्धी सहयोगको लागि समझदारीपत्र
  5. आर्थिक तथा प्राविधिक सहायता सम्बन्धी सम्झौता
  6. नेपालको उत्तरी भागमा जिविकोपार्जनको क्षेत्रमा सहयोगलाई सुदृढ गर्ने सम्बन्धी बैठकको मिनट
  7. सांस्कृतिक सम्पदाको चोरी, अदृश्य उत्खनन र गैरकानूनी पैठारी तथा निकासी रोकथाम सम्बन्धी सम्झौता
  • आर्थिक तथा प्राविधिक सहायता सम्बन्धी सम्झौता अन्तर्गत चिनियाँ सरकारले नेपाललाई उपलब्ध गराउने १ अरब युआन अनुदान सहयोगलाई जनताको जिविकोपार्जनमा सुधार, भूकम्पपछिको पूनर्निर्माण तथा पूर्वाधार क्षेत्रका आपसी सहमतिमा तय भएका परियोजनाहरुमा खर्च गरिनेछ।
  • भ्रमणका क्रममा सम्माननीय राष्ट्रपतिज्यूले बेईजिङ्गस्थित नेपाली राजदूतावासको भ्रमण गरी नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभयो।
  • साथै, सम्माननीय राष्ट्रपतिज्यूले बेइजिङ्गमा नेपाली राजदूतावास र Economic Joint Committee of China Commercial Stock Enterprises द्वारा संयुक्तरुपमा आयोजित Nepal-China Economic and Trade Forum लाई सम्वोधन गर्नुभयो।उहाँले बदलिंदो राजनीतिक परिवेशमा नेपाल लगानीका लागि उपयुक्त भएको बताउनु हुँदै चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान गर्नुभयो। उक्त कार्यक्रममा मैले पनि सम्बोधन गरेको थिएँ। यस क्रममा सरकारको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न नेपालमा वैदेशिक लगानी आवश्यक रहेको र सरकारले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सृजना गर्न बिभिन्न नीतिगत तथा कानूनी सुधारहरु गरेको जानकारी दिंदै चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आव्हान गरेको थिएँ। सो कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत लगायत निजी क्षेत्रका प्रतिनिधिहरुले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्नुभयो।
  • गणतन्त्र नेपालको राष्ट्रपतिबाट सम्पन्न चीनको यो पहिलो राजकीय भ्रमण भएकोले यसको विशेष महत्व रहेको व्यहोरा जानकारी गराउन चाहन्छु।यस भ्रमणलाई दुवै देशका सरकारले उच्च महत्व दिएका थिए। भ्रमणका अवसरमा चीनका राष्ट्रपति महामहिम सी चिनफिङ लगायत उच्च राजनीतिक नेतृत्वसँग भएका सारगर्भित छलफलबाट दुई मुलुकबीच समझदारी, सहयोग तथा सहकार्यमा अभिवृद्धि भई द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।नेपाल-चीनबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्कको बृहत्तर फ्रेमवर्कलाई दुवै देशले ठोस र योजनावद्ध ढंगले अगाडि बढाउन सहमत भएका छन्।
  • अन्त्यमा, यस औपचारिक भ्रमणको अवधिमा चीन सरकारबाट प्रदान गरिएको स्वागत, सत्कार, आतिथ्यता तथा सदाशयताका लागि सम्माननीय राष्ट्रपतिज्यू तथा मेरो व्यक्तिगत तर्फबाट चीनका महामहिम राष्ट्रपति, चीन सरकारका सम्वद्ध सबै निकायहरु, चीनको सान्शी प्रान्तका नेता एवं पदाधिकारीहरु, चीनको स्वशासित क्षेत्र तिब्बतका नेता एवं पदाधिकारीहरु र सम्पूर्ण चिनियाँ जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।यस भ्रमणप्रति सदाशय राखेर सकारात्मक ढंगले समाचार सम्प्रेषण गर्नुहुने सबै सञ्चार माध्यमहरुलाई धन्यवाद ज्ञापन गर्दछु।

धन्यवाद ।