Press Note issued at the time of arrival of Rt. Hon. Prime Minister upon completion of the visit to Switzerland

प्रेश नोट
सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू स्वीट्जरल्याण्डको डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको ४९ औं वार्षिक बैठक २०१९ मा सहभागी हुनुभई स्वदेश फर्कनुहुंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहांद्वारा जारी प्रेश नोट
२६ जनवरी २०१९

विश्व आर्थिक मञ्चका संस्थापक तथा कार्यकारी अध्यक्ष प्रोफसर क्लाउस स्वाबको निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २१‒२५ जनवरी २०१९ मा मैले स्वीट्जरल्याण्डको भ्रमण गरेँ ।सो भ्रमणका क्रममा भएका प्रमुख गतिविधि तथा भेटघाटलाई संक्षिप्तमा प्रस्तुत गर्न चाहन्छु ।

२२ जनवरी

२२ जनवरी २०१९ का दिन विश्व आर्थिक मञ्चको वार्षिक बैठक (WEF Annual Meeting) मा Strategic Outlook on South Asia विषयक सत्रमा नेपालको प्रमुख राजनीतिक उपलब्धिहरुवारे प्रकाश पार्ने अवसर प्राप्त भयो । नीतिगत स्पष्टता र राजिनीतिक स्थिरताले सामाजिक तथा आर्थिक विकासमा अनुकूल वातावरणको सुनिश्चितता गर्ने कुरामा मैले जोड दिएँ ।

मैले दक्षिण एशिया प्रकृति, सभ्यता, संस्कृति र जनसांख्यिक लाभांशको हिसावले समृद्ध रहेको र अवको अनुकूल वातावरणमा आर्थिक विकासको प्रचुर संभावना रहेको कुरा उल्लेख गरेँ र हाम्रा यी विकास प्रयासमा क्षेत्रीय सहयोगको आवश्यकता र महत्व रहेको कुरा स्प्ष्ट पारेँ। त्यसैगरी ब्यापार, लगानी र सम्पर्क सञ्जालको क्षेत्रमा गहिरो र व्यापक सहयोगको आवश्यकतालाई जोड दिएँ ।

यस क्षेत्रको वातावरण संरक्षणमा नेपालको उच्च पर्वत तथा वनजंगलको योगदानवारे छलफल भयो । सामाजिक आर्थिक विकासको योजना तर्जुमा गर्दा मानव तथा पृथ्वीको भविष्यलाई केन्द्रमा राख्नुपर्ने कुरालाई जोडदार रुपमा उठाएँ ।

WEF Annual Meeting को सिलसिलामा जर्मन टिभि DW र चिनियां टिभि CGTN ले मसंग लिएको अन्तर्वार्तामा आर्थिक वृद्धि र समृद्धिको लक्ष्य हासिल गर्न नेपालको वर्तमान विकास प्राथमिकता र नीति तथा कार्यक्रमवारे आफ्नो धारणा राखेँ ।

जनवरी २२ का दिन वेलुका प्रोफेसर क्लाउस स्वाबले राज्य/सरकार प्रमुख, प्रतिनिधिमण्डलका प्रमुख र उद्यमशील/ब्यापार सम्बन्धी नेताहरु (Business Leaders) को सम्मानमा दिनुभएको रात्रीभोजमा धर्मपत्नी राधिका शाक्यसहित सहभागी भएँ । त्यस अवसरमा अनेक महत्वपूर्ण व्यक्तिहरुसँग ‌अनौपचारिक भेटघाट र वार्ताको सुयोग मिल्यो ।

सोही दिन अपरान्हमा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले UNCTAD द्वारा आयोजित Investment Trends Monitor विषयक सत्रलाई संवोधन गर्नुभयो । उहांले परम्परागत वैदेशिक प्रत्यक्ष लगानीको मोडलले अव कार्य गर्न नसक्ने र वित्तिय तथा जोखिम साझेदारी गर्ने नविनतम वित्तिय संयन्त्र (innovative financing mechanism with blended financing and risk sharing) विशेषत‌ः गरिव मुलुकहरुमा वित्तिय खाडल पुरा गर्न आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

दीगो विकास लक्ष्यलाई साझा दायित्वको रुपमा सन् २०३० मा हासिल गर्न पूर्वाधार विकास केन्द्रित वैदेशिक लगानी आवश्यक हुन्छ जसले आर्थिक वृद्धिलाई पनि चलायमान वनाउँछ ।

त्यसैगरी पराराष्ट्र सचिव श्री शंकरदास बैरागीले स्वीस संघीय काउन्सिलका विदेश सचिव Ms. Pascale Baeriswyl संग भेटवार्ता गर्नुभई नेपाल स्वीट्जरल्याण्ड द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल गर्नुभयो ।

२३ जनवरी

जनवरी २३ का दिन मैले ‘Shaping the Future of Democracy’ विषयक सत्रलाई सम्वोधन गरेँ ।

मेरो नेतृत्वको वर्तमान सरकारले सवै जनताको भलाई गर्न, मर्यादा सुनिश्चित गर्न, जीवनस्तर उठाउन लोकतन्त्रको वृहत अवधारणा (Comprehensive Approach) लिएको, जनतालाई शासन गर्ने होइन, प्रतिवद्धता सहित जनताको सेवा गर्ने सिद्दान्त अंगिकार गरेको कुरा राखें।

नेपालमा प्रेस स्वतन्त्रता भएको र लोकतन्त्र सवैको लागि हुनेहुंदा लोकतान्त्रिक अधिकारको अभ्यास गर्दा सवै उत्तिकै जिम्मेवार पनि हुनुपर्ने कुरालाई जोड दिएँ ।

तत्पश्चात “The End of Global Trade as We Know It?” विषयक विश्व आर्थिक नेताहरुको अनौपचारिक भेलामा सहभागी भई यसवारे आफ्नो धारणा व्यक्त गरेँ । सो अवसरमा मैले वहुपक्षीयवाद (Multilateralism) र नेपालजस्तो अतिकम विकसित तथा भुपरिवेष्ठित राष्ट्रको चासो र हितलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नियममा आधारित अन्तर्राष्ट्रिय ब्यापार प्रणालीलाई पुनजागृत गर्न आवश्यक रहेको कुरामा जोड दिएँ । उक्त सिलसिलामा समुह‒२० का नेताहरु तथा प्रमुख ब्यापारिक नेताहरुसंग विश्व व्यापारको विविध पक्षमा अन्तरक्रिया गर्ने अवसर प्राप्त भयो ।

विश्व आर्थिक मञ्चको बैठकको सिलसिलामा भियतनामका प्रधानमन्त्री H.E. Mr. Nguyen Xuan Phuc संग मेरो द्विपक्षीय भेटघाट भयो । हामीले द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी गर्यौं । व्यापार, लगानी तथा सम्पर्क सञ्जालका क्षेत्रमा आर्थिक सम्वन्ध विस्तारका साथै दुई देशवीच उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने कुरामा जोड दियौं ।

सोही दिन विहान Swiss pharmaceutical production company Novartis का प्रमुख कार्यकारी अधिकारी Mr. Vasant Narasimhan र Chairman and CEO of KPMG India Mr. Arun Kumar ले मसँग भेटघाट गर्नुभयो । सो अवसरमा नेपालको प्राथमिकता प्राप्त क्षेत्रहरुमा संभावित लगानीवारे छलफल भयो ।

परराष्ट्रमन्त्री माननीय प्रदिपकुमार ज्ञवालीसँग कोरिया टेलिकमकी दिगो व्यवस्थापन प्रमुख सुश्री सुन जु लीले भेट गर्नुभई उक्त कम्पनीले नेपालमा गरिरहेको र गर्न चाहेको सहयोगका विषयमा कुरा गर्नुभयो ।

यसैगरी माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले “More than GDP” विषयक सत्रमा भाग लिनुभयो । उहासंग नेदरलैण्डस्थित Arcadis कम्पनीका निर्देशक Ms. Carolien Gehrels भेट गर्नुभयो र नेपालमा लगानी र विकास सहयोगका विषयमा छलफल भयो ।

United Nations High Commissioner for Refugees Mr. Filippo Grandi ले माननीय परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीज्यूसंग भेट गर्नुभयो । सो भेटघाटमा नेपालमा रहेका शरणार्थीहरु र शरणार्थी सम्बन्धी विश्व संझौता (Global Compact on Refugees) मा छलफल भयो ।

२४ जनवरी

जनवरी २४ का दिन सांझ नेपाली राजदूतावास जेनेभाले जुरिक सहरमा आयोजना गरेको स्वागत कार्यक्रममा सरिक भइयो । सो अवसरमा स्वीट्जरल्याण्डमा वस्ने नेपाली समुदाय, स्वीस प्राध्यापक, प्राज्ञ, वुद्धिजीवीहरु, गैर आवासीय नेपाली संघ, स्वीस‒नेपाली समाजका पदाधिकारीहरुसंग भेटघाट र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा कुराकानी गर्ने अवसर प्राप्त भयो । सो अवसरमा मैले ब्यापारी तथा उद्यमीहरुलाई नेपालमा लगानी गरी नेपालको समावेशी र परिवर्तनकारी विकास एजेण्डामा सहभागी हुन आव्हान गरेँ।

सोही दिन माननीय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली Centre for Security Studies of ETH Zurich मा सम्पन्न अन्तरकृयात्मक कार्यक्रममा सहभागी हुनु भई नेपालको अद्वितीय शान्ति प्रकृया तथा नेपालले अवलम्वन गरेको संघीय शासन प्रणाली तथा राष्ट्रिय विकासको दृष्टिकोण माथि मन्तब्य राख्नुभयो । त्यसैगरी २५ जनवरीका दिन वहाँले Swiss Institute of Foreign Policy (FORAUS) र Zurich University of Applied Sciences ले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भई नेपालको विदेश नीति, दक्षिण एसियामा क्षेत्रीय सहयोग र वहुपक्षियता सम्बन्धी नेपालको अवधारणाबारे विचार प्रस्तुत गर्नुभयो । यस अवसरमा नेपाल र स्वीट्जरल्याण्डका थिंक ट्याङ्कहरुबीच साझेदारी विकास गर्ने बारे सैद्धान्तिक सहमति भयो ।

स्वदेश फर्कने दिन विहान मैले Swiss Federal Institute of Technology (ETH Zurich) स्थित Innovation and Entrepreneurship Centre भ्रमण गरी दुईदेशवीच विज्ञान तथा प्रविधिको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने कुरा विशेष रुपमा राखेँ।

यी कुराहरुको अतिरिक्त हामीले विश्व आर्थिक मञ्चमा सहभागी हुन आउनुभएका विश्वका राजनैतिक, आर्थिक र वाणिज्य सम्वन्धी नेताहरुसंग अनौपचारिक अन्तरकृया गरी नेपालको विकास नीति, योजना तथा प्राथमिकतावारे अवगत गरायौं ।

समग्रमा, नेपालको राजनीतिक, सामाजिक, आर्थिक विकासमा वर्तमान सरकारका नीति, योजना र दृष्टिकोणलाई विश्व आर्थिक मञ्चजस्तो प्रभावशाली अन्तराष्ट्रिय मञ्चमा विश्व नेताहरु समक्ष सुस्पष्ट ढंगले प्रस्तुत गर्ने अवसर पाएको हुंदा म यस भ्रमणवाट सन्तुष्ट छु । यसले आगामी दिनमा नेपालमा लगानी भित्र्याउन, हाम्रो “समृद्ध नेपाल, सुखी नेपाली” को सपनालाई साकार पार्न र नेपाल स्वीट्जरल्याण्ड द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन तथा सुदृढ वनाउन सहयोग पुर्याउने छ भन्ने कुरामा दृढ विश्वास व्यक्त गर्न चाहन्छु ।