Press note delivered upon arrival of the Hon. Foreign Minister Mr. Pradeep Kumar Gyawali after attending 74th UNGA

परराष्ट्र मन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई स्वदेश फर्कनु हुँदा सञ्चारकर्मीहरूसँग संवादमन लागि तयार गरिएको प्रेस नोट
(०२ अक्टोबर २०१९)


सञ्चारकर्मी मित्रहरू,
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी संयुक्त राष्ट्रसंघको ७४औं महासभामा सहभागी भई आज स्वदेश फर्केको छु ।

यहाँहरूलाई अवगत नै छ यसै अवधिमा जलवायु शिखर सम्मेलन, SDG शिखर सम्मेलन, सवैका लागि स्वास्थ्य (Universal Health Coverage) र विकासका लागि आर्थिक स्रोतको व्यवस्था (Financing for Development) विषयमा छुट्टाछुट्टै उच्चस्तरका बैठकहरू आयोजना भएका थिए । ती बैठकहरूमा नेपालको तर्फबाट सम्बन्धित माननीय मन्त्रीज्यूहरू तथा राष्ट्रिय योजना आयोगका माननीय सदस्यहरूले भाग लिनु भएको थियो । संयुक्त राष्ट्रसंघको महासभा तथा उपर्युक्त उच्चस्तरीय बैठकहरूमा नेपालको सहभागिताका बारेमा तत्समयमै संप्रेषित प्रेस वक्तव्य, वेवपेज, ट्विटर लगायतका माध्यमबाट यहाँहरूलाई जानकारी भएकै छ ।

यस वर्षको महासभामा संसारभरबाट १२३ भन्दा बढी राष्ट्र/सरकार प्रमुखहरू र अन्य देशहरूबाट उपराष्ट्रपति, उपप्रधानमन्त्री र परराष्ट्र मन्त्री समेतको तहमा गरी १९२ राष्ट्रबाट प्रतिनिधित्व भएको थियो । विद्यमान अन्तर्राष्ट्रिय व्यवस्था, शान्ति सुरक्षा र यसका चुनौती, दीगो विकास र सोका लागि साधन स्रोतको व्यवस्था, जलवायु परिवर्तन, संयुक्त राष्ट्रसंघको सुधार, द्वन्द्व तथा आतंकवाद जस्ता जल्दाबल्दा विषयहरूमा महासभामा छलफल तथा विचार आदानप्रदान भएको थियो ।

नेपाली प्रतिनिधिमण्डलको नेताका रूपमा मैले उक्त महासभालार्इ २७ सेप्टेम्बरका दिन सम्बोधन गरें । सम्बोधनको पूर्ण पाठ यहाँहरूले पाइसक्नु भएकै छ । उक्त बक्तव्य परराष्ट्र मन्त्रालय तथा न्यूयोर्कस्थित नेपाली स्थायी नियोगको वेवपेजमा पनि उपलब्ध छ । यस पटक मैले समग्र विश्व राजनीति र घट्नाक्रममा नेपालको धारणा, राजनीतिक परिवर्तन पश्चात समावेशी विकासका लागि वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमहरू, जलवायु परिवर्तन, हिमाली राष्ट्रहरूका समस्या र दीगो विकासका सम्बन्धमा हाम्रा चासोहरू खासगरी साधनस्रोतको व्यवस्था, नेपाल जस्ता भूपरिवेष्टित र अतिकम विकसित राष्ट्रहरूका साझा समस्याहरू, मानवअधिकार तथा संक्रमणकालीन न्याय बारे नेपालको प्रतिबद्धता जस्ता विषयहरूमा जोड दिएको छु ।

मैले सम्बोधनमा संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित सिद्धान्त र उद्देश्यहरू प्रति नेपालको प्रतिबद्धता दोहो-याउदै उक्त संस्थाले विश्वशान्ति, सद्रभाव तथा विकासका क्षेत्रमा खेलेको भूमिकाको समर्थन गरेको छु । वर्तमान चुनौतिहरूलाई मध्यनजर गरी बहुपक्षीयता (Multilateralism) थप सुदृढ हुनुपर्ने तथा संयुक्त राष्ट्रसंघको विकल्पका रूपमा सुधारिएको तथा सुदृढ संयुक्त राष्ट्रसंघ मात्र हुन सक्ने धारणा राखेको छु । अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको छु ।

यहाँहरूलाई थाहा नै छ संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरूमा सैनिक तथा प्रहरी पठाउने राष्ट्रहरु मध्ये नेपाल हाल चौथो स्थानमा रहेको छ । यस विषयमा संयुक्त राष्ट्रसंघका सम्बन्धित अधिकारीहरूसँग भेट गरी शान्तिकर्मीहरूको सुरक्षा, बन्दोबस्तीका लागि भएको खर्चको समयमै सोधभर्ना तथा निकासा लगायत नेपालले समय समयमा उठाउँदै आएको जिम्मेवार तथा उच्च पदहरूमा नेपालको समुचित प्रतिनिधित्वका विषयमा पनि चासो व्यक्त गरेको छु ।

दीगो विकास सम्बन्धी २०३० एजेण्डा अनुमोदनको चार बर्ष पछि आयोजना भएको पहिलो SDG शिखर सम्मेलनमा यसको कार्यान्वयनका लागि उच्चतम् तहबाट राजनीतिक पुनः प्रतिबद्धता व्यक्त गर्ने अवसर समेत प्राप्त भएको छ ।

महासभाको अवसरमा यस वर्ष पनि सार्कको वर्तमान अध्यक्षका हैसियतले नेपालले सार्क राष्ट्रका परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठक आयोजना ग-यो । सार्कका सबै राष्ट्रहरूको सहभागिता रहेको सो बैठकले सार्कका गतिविधिहरूको विस्तृत समीक्षा गर्नुका साथै सार्क प्रकृयालाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा छलफल गरेको छ । साथै, उक्त बैठकले सार्कका नयाँ महासचिवको नियुक्तिलाई अनुमोदन गरेको छ । सार्क प्रकृया सापेक्षिक रूपमा सुस्त रहेको वर्तमान परिप्रेक्ष्यमा सदस्य राष्ट्रहरूका परराष्ट्र मन्त्रीस्तरको यो बैठक सम्पन्न हुनुले सार्क प्रकृया सुचारू गराउन मद्दत पुगेको मैले विश्वास लिएको छु ।

साथै, Asia Cooperation Dialogue को अनौपचारिक मन्त्रिस्तरीय बैठकमा सहभागी भई एशियाली मुलुकहरूबीचको सहकार्य तथा आपसी सहयोगमा जोड दिँदै यस क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई यस क्षेत्रको विकास र समुन्नतिका लागि प्रयोग गर्न सबै एशियाली देशहरूलाई आव्हान गरेको छु ।

महासभाको दौरानमा मैले असंलग्न आन्दोलन, सतहत्तर समूह, अतिकम विकसित मुलुकहरूको समूह, भूपरिवेष्टित विकासोन्मुख राष्ट्रहरूको समूह, मध्यस्थताका मित्रहरूको समूह, आणविक हतियारको पूर्ण निःशस्त्रीकरण सम्बन्धी छुट्टाछुट्टै मन्त्रीस्तरीय बैठकहरूमा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरें । साथै, शान्तिस्थापना सम्बन्धी छुट्टै उच्चस्तरीय बैठकमा समेत सहभागी भई मैले सम्बोधन गरें । यहाँहरूलाई अवगतै छ नेपाल समेत सक्रिय सदस्य रहेको यी समूहहरू बहुपक्षीय मञ्चमा विकासोन्मुख तथा अल्पविकसित मुलुकका साझा चासोका विषयहरूलाई सामूहिक रूपमा प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा रहेका छन् ।

महासभाको साइडलाइनमा विभिन्न मित्रराष्ट्रका समकक्षीहरू तथा अन्य उच्च अधिकारीहरूसँग भेटघाट गरी द्विपक्षीय तथा बहुपक्षीय हित र चासोका विषयहरूमा छलफल तथा कुराकानी भएको छ ।

नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री श्री डाग इङ्ग उलस्ट्टिनसंग भएको भेटघाटमा दुईदेशबीचको मित्रवत सम्बन्ध तथा नेपालको विकास प्रयासमा नर्वे सरकारको सहयोगका विविध क्षेत्रमा कुराकानी भएको छ । साथै, नेपालका तुलनात्मक लाभका क्षेत्रमा नर्वेली लगानी र प्रविधि हस्तान्तरण थप विस्तार गर्ने लगायत बहुपक्षीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य बढाउने बारेमा समेत विचार विमर्श भएको छ ।

फिनल्याण्डका विकास सहयोग तथा वैदेशिक व्यापार मन्त्री श्री भिली सिक्नारीसंग द्विपक्षीय भेटघाट सम्पन्न भयो । सो भेटघाटका अवसरमा नेपाल र फिन्ल्याण्ड बीचको द्विपक्षीय सम्बन्धका अतिरिक्त नेपालको विकासमा फिनल्याण्ड सरकारको सहयोग बारेमा कुराकानी भएको छ । उहाँलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको छु । उहाँले निकट भविष्यमा उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।

बहराइनका परराष्ट्रमन्त्री श्री खालिद् बिन अहमद अल खालिफासंग भएको भेटघाटको अवसरमा दुई देश बीच रहिआएको मित्रवत सम्बन्धका साथै बहराइनमा कार्यरत नेपाली श्रमिकहरूको हक हित लगायत व्यापार, पर्यटन तथा लगानी जस्ता विषयमा छलफल भएको छ । हाल प्रकृयामा रहेका केही द्विपक्षीय समझदारीपत्रहरूलाई छिट्टै टुंग्याउने विषयमा समेत कुराकानी भएको छ ।

साउदी अरेवियाका परराष्ट्रमन्त्री डा. इब्राहिम विन अब्दुलालाजिज अल-असफसंग भएको द्विपक्षीय भेटघाटका अवसरमा नेपाल र साउदी अरेवियाबीच तयारीको चरणमा रहेका सम्झौताहरुलार्इ शीघ्र अगाडि बढाउने तथा सम्बन्धका क्षेत्रहरू थप विस्तार गर्ने विषयमा कुराकानी भयो । साथै, दुई मुलुकबीच रहिआएको सम्बन्ध र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको हक हितको विषयमा समेत कुराकानी भएको छ ।

यसैगरी मित्रराष्ट्र संयुक्त अरब इमिरेट्सका परराष्ट्र राज्यमन्त्री डा. अनवर विन मोहम्मद गारगाशसँग भएको द्विपक्षीय भेटघाटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच रहिआएको मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउने विषयमा कुराकानी भएको छ । नेपालमा युएईको निजी क्षेत्रको लगानी बढाउने

महासभाको दौरान भुटानका परराष्ट्रमन्त्री श्री टन्डी दोर्जीसँग भएको भेटघाटमा दुइ मुलुकबीच रहिआएको परम्परागत सामाजिक सांस्कृतिक सम्बन्धलाई
यसैगरी ‍ओमानका परराष्ट्रमन्त्री श्री युसुफ विन अलावी विन अब्दुल्हासँगको भेटघाटमा ‍ओमानमा नेपाली श्रमिकहरूको हक हित तथा उनीहरूको सीप विकासमा लगानी लगायत नेपालमा ‍ओमानको निजी क्षेत्रको लगानी भित्र्याउने विषयमा कुराकानी भएको छ ।

आयरल्याण्डकी युरोपेली मामिला सम्बन्धी राज्यमन्त्री श्री हेलेन म्याक इन्टीसंग भएको भेटघाटमा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरुमा छलफल र बहुपक्षीय मञ्चमा आपसी सहयोगको बारेमा कुराकानी भएको छ । साथै, मोजाम्बिकका परराष्ट्रमन्त्री श्री जोज प्याचिगोसँग विपद् व्यवस्थापन तथा विपद्पछिको पुननिर्माणका विषयमा तथा भेनेजुएलाका परराष्ट्रमन्त्री श्री जोर्ज अल्बर्टो अर्रिअजा मोन्ट्सीराटसंग आसन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन लगायतका विषयमा कुराकानी भएको छ ।

साइडलाइनमै सांघार्इ कोअपरेसन अर्गनाइजेसनका महासचिव श्री भ्लादमिर नोरोभसंग भएको भेटघाटमा सो संस्थाको कार्यक्रम, रोडम्याप तथा संस्थामा डायलग पाटनर र अब्जर्भर बीचको आपसी सहयोगका विषयमा छलफल भयो ।

न्यूयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरससँग भेटघाट गरी नेपाल र संयुक्त राष्ट्रसंघबीच लामो समयदेखि रहिआएको शान्ति तथा विकासमा साझेदारीका विविध विषयमा कुराकानी भएको छ । महासचिवले नेपालको राजनीतिक रूपान्तरण तथा स्थायित्वको प्रशंसा गर्नुभएको छ । नेपालले ६ दशकभन्दा बढी देखि संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा पु-याउदै आएको योगदानको सराह्रना गर्दै महासचिवले दीगो विकासका लक्ष्यहरू हासिल गर्न संयुक्त राष्ट्रसंघको साझेदारी निरन्तर रहने विश्वास दिलाउनु भएको छ । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूले सगरमाथा संवादको पहिलो शृङ्खलामा भाग लिनका लागि गर्नुभएको निमन्त्रणा मैले महासचिवलाई हस्तान्तरण गरेको छु ।

महासभाका अवसरमा आतिथेय मुलुक संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम श्री डोनाल्ड ट्रम्पले आयोजना गर्नुभएको रिशेप्सनमा सहभागी भई सद्भाव आदानप्रदान भएको छ ।

महासभाको दौरान भएको संयुक्त राष्ट्रसंघका डिपार्टमेन्ट अफ पिस अपरेसनका उपमहासचिव श्री जीन-पिएर ल्याक्रों र डिपार्टमेन्ट अफ अपरेसनल सपोर्टका उपमहासचिव श्री अतुल खरेसंग भएको छुट्टाछुट्टै भेटघाटमा शान्ति स्थापना कार्यमा नेपालको सहभागिता थप प्रभावकारी बनाउने तथा सेना तथा प्रहरी पठाउने मुलुकहरूलाई जिम्मेवारीका उच्चपदहरूमा सम्मानजनक प्रतिनिधित्व दिलाउने समेतका विषयमा छलफल भएको छ ।

नेपालको कूटनीतिक दायरालार्इ थप फराकिलो पार्दै जाने नीति अनुरूप घानासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी समझदारी पत्रमा यसै अवसरमा हस्ताक्षर भएको छ । यससँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका राष्ट्रहरूको संख्या अव १६८ पुगेको छ ।

संयुक्त राज्य अमेरिकामा रहेको अवसर सदुपयोग गर्दै परराष्ट्र मन्त्रालयको ब्रेन गेन सेन्टर अन्तर्गतको ब्रेन गेन इनिसियटिभ मार्फत अमेरिकामा बस्ने नेपाली डायस्पोराको ज्ञान सीप र पुँजी भित्र्याई नेपालको विकास प्रयासमा योगदान पु-याउने विषयमा अमेरिकाको शिकागोमा आयोजना भएको बौद्धिक र विज्ञहरूसँगको एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएँ । उक्त इनिसियटिभको पहिलो चरणमा शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई नेपालका विभिन्न विद्यालयहरूको क्षमता अभिवृद्धि गर्ने कार्यमा आबद्ध गर्ने विषयमा कुराकानी भएको छ ।

न्यूयोर्क तथा आसपासका राज्यहरूमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूसँग एक भेटघाट कार्यक्रममा सहभागी भएँ । त्यस अवसरमा त्यहाँ रहेका नेपालीहरूका चासो तथा समस्याहरूका बारेमा प्रत्यक्ष रूपमा जानकारी लिनुका साथै नेपालको विकास र समुन्नतिको यात्रामा योगदान गर्ने अवसरलाई सदुपयोग गर्न सुझाव गरेको छु ।

अन्त्यमा, संयुक्त राष्ट्रसंघको ७४औं महासभामा नेपालको सहभागिता तथा नेपालको चासो रहेका थुप्रै विषयसँग सम्बन्धित विभिन्न सूचनाहरू निरन्तर रूपमा सम्प्रेषित गर्नुहुने सञ्चार माध्यमहरूलाई धन्यवाद ज्ञापन गर्दछु । भ्रमणको कुशल व्यवस्थापन गर्ने संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, अमेरिका स्थित नेपाली राजदूतावास र न्यूयोर्क स्थित महावाणिज्य दूतावासलाई पनि धन्यवाद ज्ञापन गर्दछु ।

धन्यवाद !