सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू वाट म्यानमार गणतन्त्र संघको राजकीय भ्रमण  सम्बन्धमा सम्प्माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूद्वारा जारी गरेको प्रेश नोट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू वाट म्यानमार गणतन्त्र संघको राजकीय भ्रमण  सम्बन्धमा सम्प्माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूद्वारा जारी गरेको
प्रेश नोट

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी म्यानमार गणतन्त्र संघका राष्ट्रपति महामहिम उ विन मिन्ट (U Win Myint) को मैत्रीपूर्ण निमन्त्रणामा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २९ आश्विन – ३ कार्तिक 207६ तदनुसार १६-२० अक्टोबर २०१९ सम्म म्यानमार गणतन्त्र संघको राजकीय भ्रमण सम्पन्न गरेर जापानका सम्राटको गद्दी आरोहणमा सहभागि हुन त्यस तर्फ़ प्रस्थान गर्नु भएको छ। म्यानमार भ्रमणका सम्बन्धमा नेपाली राजदूतावास, म्यानमारबाट जारी भएका प्रेस विज्ञप्तिहरू तथा भ्रमणदलमा संलग्न सञ्चारकर्मी मित्रहरुबाट सम्प्रेषित समाचारबाट जानकारी भएकै छ।त्यसैगरी म्यानमारको राजधानीबाट जारी भएको संयुक्त वक्तव्यबाट पनि भ्रमणका क्रममा भएका मुख्य उपलब्धीहरूको जानकारी भएकै हुनुपर्छ।तथापि, यस भ्रमणका मुख्य मुख्य गतिविधिहरू तथा प्राप्त उपलब्धिहरूलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न चाहन्छु।

  1. म्यानमारको राजधानी ने पि टमा म्यानमारका राष्ट्रपति महामहिम उ विन मिन्टसँग नेपाल म्यानमारबीच परम्परागतरुपमा रही आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा वार्ता भयो । उक्त वार्तामा नेपाल म्यानमार द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा छलफल भएको र द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउँदै लैजाने सहमति भएको छ। दुई देशबीच विद्यमान सुमधुर सम्बन्धलाई आर्थिक पक्षहरुमा समेत बिकसित र बिस्तार गर्दै लैजाने उद्देश्यका साथ ब्यापार, लगानी पर्यटन लगायतका विभिन्न क्षेत्रहरूमा गहन रूपले सहकार्य गर्ने समझदारी बनेको छ।
  2. दुई देशका राष्ट्रपतिहरूका बीचमा एक बर्षमा दुई पटक भेट भएको स्मरण गर्दै ती भेटघाटहरूबाट द्विपक्षीय सम्बन्धलाई गति दिन तथा नयाँ उचाईमा पुर्‍याउन मद्दत पुगेकोमा सम्माननीय राष्ट्रपतिज्यूले सन्तोष व्यक्त गर्नुभयो । म्यानमारका राष्ट्रपतिको गत अगस्ट २०१८ मा भएको नेपाल भ्रमण र स्टेट काउन्सेलरले नोभेम्बर २०१८ मा गर्नु भएको नेपालको भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर हुने पर्यटन र संस्कृति सम्बन्धी सम्झौताहरूलाई प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको थियो।
  3. म्यानमारका स्टेट काउन्सेलर महामहिम आङ सान सूचीसँगको भेटमा नेपाल र म्यानमारबीच समान प्रकारका आर्थित सामाजिक समस्याहरु रहेका र तिनिहरुसँग जुध्न आपसी सहकार्य र अनुभवहरुको आदान प्रदानले दुवै पक्ष लाभान्वित हुने निष्कर्ष निकालिएको थियो।
  4. भ्रमणका समयमा निम्नानुसारका समझदारी पत्रहरूमा हस्ताक्षर भयोः-
    • नेपाल र म्यानमारबीच पर्यटन सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्र
    • नेपाल र म्यानमारबीच सांस्कृतिक सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारीपत्र
  5. द्विपक्षीय भेटका अवसरमा नेपाल र म्यानमारबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने‚ पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धी सम्झौताहरूले दुई देशबीच रहेको सामाजिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने कुरामा दुवै पक्षको एकमत रहेको थियो ।
  6. म्यानमारका नेतृत्वबर्गले नेपालले हासिल गरेको युगान्तकारी राजनैतिक उपलब्धीहरू र ती उपलब्धीहरूलाई संस्थागत गर्न नयाँ संविधान र राजनैतिक स्थायित्व र त्यस मार्फत नेपालले हासिल गरेको आर्थिक बृद्दिको प्रशंसा गर्नु भएको थियो । साथै‚ नेपामलले गरेको महिला सशक्तिकरणको प्रशंसा म्यानमारका नेतृत्व वर्गबाट भएको थियो।
  7. म्यान्मारका प्रधान सेनापति बरिष्ठ जनरल मिन आङह्लांगले सम्माननीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभयो। नेपाल र म्यानमारबीच रहिआएको सम्बन्ध सुदृढ बनाउने बिषयमा छलफल भएको थियो ।
  8. भ्रमणका अवसरमा म्यानमारको पिन ओ लिन नामक नगरमा नेपाली मूलका म्यानमारी नागरिकहरुसँग भेटघाट गरी सम्माननीय राष्ट्रपतिज्यूले सम्बोधन गर्नु भएको थियो ।उक्त अवसरमा स्थानीय समुदायसँग घुलमिल भई म्यानमारको बिकासमा नेपाली मूलका म्यानमारका नागरिकहरुले खेलेका भूमिकाको सम्माननीय राष्ट्रपतिबाट प्रशंसा भएको थियो । सो सभालाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपतिले लामो समय देखि म्यानमारमा बसेर नेपाली भाषा, संस्कृति, भेषभूषा संरक्षण गरेकामा आफू हर्षित भएको र अझ बढि परिश्रम गरी नेपालीलाई परिश्रमी जातिका रुपमा चिनाउन र नेपाल म्यानमार सम्बन्ध सुदृढ गर्न योगदान दिन आग्रह गर्नु भयो।
  9. सम्माननीय राष्ट्रपितज्यूले युनेस्कोले विश्व सम्पदामा सूचिकृत म्यानमारको वगान क्षेत्रको अवलोकन भ्रमण समेत गर्नु भएको थियो ।
  10. सम्माननीय राष्ट्रपतिज्यूले म्यानमारको ऐतिहासिक सांस्कृतिक धरोहरका रुपमा रहेको ‚ याङ्गुनको स्वेदगान पगोडाको अवलोकन गर्नु भएको थियो । याङ्गुनको स्वेदगान पगोडामा लुम्बिनी बिकास कोष र पगोडा ब्यबस्थापनले आयोजना गरेको लुम्विनी सम्बन्धि फोटो प्रदर्शनीको उदघाटन गर्नु भएको थियो।
  11. म्यानमारको भ्रमणका क्रममा याङ्गुनमा म्यानमार-नेपाल मैत्री संघ र म्यानमार-नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा मैले सम्बोधन गरेको थिए। नेपाललाई माया गर्ने म्यानमारका नागरिक‚ उद्यमी ब्यापारी लगायत म्यानमारका गण्यमान्य ब्यक्तिहरु उपस्थित उक्त कार्यक्रममा मैले नेपाल-म्यानमार सम्बन्ध र नेपालमा उद्यम ब्यवसाय गर्ने अवसरका बिषयमा चर्चा गर्दै नेपाल र म्यानमारबीच बढिभन्दा वढि पर्यटक तिर्थयात्रीको भ्रमण गर्न र नेपालमा लगानी गर्न आग्रह गरेको थिए। मैले उहाहरुलाइ नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आवश्यक सहयोगका लागि आव्हान समेत गरें ।
  12. म्यानमारमा रहँदा म्यानमारमा विभिन्न पेशा व्यवसाय गरी बसोबास गरिरहनु भएका नेपालीहरुसँग पनि भेटघाट तथा छलफल भएको थियो।

समग्रमा, राजनीतिक सुधारका साथ आर्थिक खुलापन वढाउँदै लगेको र दक्षिण पूर्व एसियामा राम्रो आर्थिक विकास गरिरहेको म्यानमारमा भएको नेपालको राष्ट्रपतिको पहिलो राजकीय भ्रमणले नेपाल र म्यानमारबीचको समग्र सम्बन्धलाई मजबुत बनाउन मद्दत पुगेको छ।बौद्ध दर्शनमा आधारित सांस्कृतिक-सामाजिक सम्बन्धले बुद्धको जन्मस्थल नेपाल र बौद्ध दर्शनलाई जीवनपद्धतिमा ढालेको म्यानमार संग अन्तरक्रियाले दुवै मुलुकलाई अझ नजिक ल्याउन सम्माननीय राष्ट्रपतिको भ्रमणले मद्दत गरेको छ। नेपालले म्यानमारका राजनीतिक  नेतृत्वसंग प्रत्यक्ष सम्बाद गरी त्यहाँ भइरहेको आर्थिक प्रगति, त्यहाँका धार्मिक सांस्कृतिक सम्पदाका अवलोकन र नेपाली मूलका म्यानमारका नागरिकसँग प्रत्यक्ष सम्बादलगायत बाट नेपाल-म्यानमार सम्बन्ध अझ सुदृढ भएको छ। विकासका समान आकाङ्क्षा र कठिनाईहरू भएकाले नेपाल र म्यानमारले एक आपसबाट सिक्न सक्ने कुराहरू धेरै रहेका छन्। साथै, द्विपक्षीय छलफलका क्रममा समसामयिक विश्व परिस्थिति र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय चासोका साझा मुद्दाहरूमा भएको विचारको आदान प्रदानबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र म्यानमारबीच सहकार्य र सहयोग विस्तार गर्ने थप अवसर प्राप्त भएको छ्। दुवै मुलुक विमिस्टेक र एसियाली सहयोग संगठनका सदस्यदुवैवीच कनेक्टीभिटि बढाउन पनि यस भ्रमणले मद्दत पुर्याउने विश्वास छ ।

लुम्विनीको विकासमा म्यानमार सरकार र त्यहाँका जनताको सहयोग तथा म्यानमारी नागरिक संयुक्त राष्ट्र संघका पूर्व महासचिव उ थान्तको ब्यक्तिगत भूमिकाको सन्दर्भमा पनि लुम्बिनीको विकासमा अन्तर्राष्ट्रिय सद्भाव र सहयोग जुटाउन यस भ्रमणले महत्वपूर्ण अवसर प्रदान गरेको छ।आगामी दिनहरूमा हाम्रा प्रयासहरूले सार्थक गति लिने विश्वास रहेको छ।जनस्तरमा लुम्बिनी प्रतिको ज्ञान र चासोमा अभिवृद्धि हुनुका साथै आकर्षण पनि बढ्न गएको महसुस गरेको छु। सन् २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने परिप्रेक्ष्यमा यसले लिएका उद्देश्य पूरा गर्न यस भ्रमणले सघाउ पुर्‍याउनेमा छ भन्ने लागेको छ ।

मुलुकले हासिल गरेको ऐतिहासिक राजनीतिक रूपान्तरण र राजनीतिक स्थायित्वको जगमा तीव्र आर्थिक रूपान्तरण हासिल गर्नु र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूर्ति गर्नु यति बेलाको हाम्रो एक मात्र उद्देश्य हो।यसका लागि अनुकूल अन्तर्राष्ट्रिय परिस्थिति निर्माण गर्नु हाम्रो वाह्य सम्बन्धको सार हो र विदेश नीतिको मुख्य पक्ष पनि यही हो।सबैसँग मित्रता कायम गर्ने र कसैसँग पनि वैरभाव नराख्ने मूल नीतिमा आधारित रहेर नेपालले यतिबेला वाह्य सम्बन्धहरूमा र विशेष गरी छिमेकमा सक्रिय अग्रसरता प्रदर्शन गरिरहेको छ र यसले वाह्य जगतमा नेपालको छवि उदाउँदो अर्थतन्त्र, शान्ति प्रेमी र स्वाभिमानी राष्ट्रको रूपमा उकासिँदै गएको छ।यी भ्रमणहरूले यसमा अझ बल पुर्‍याएको छ।

उक्त भ्रमणदलमा परराष्ट्रमन्त्री, परराष्ट्र सचिव‚ राष्ट्रपति कार्यालयका सचिव‚ राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ पदाधिकारीहरु म्यानमारका लागि नेपाली राजदूत एवं नेपाल राजदूतावासका पदाधिकारीहरू का साथ सञ्चारकर्मीहरू रहनु भएको थियो।

उक्त भ्रमणको लागि मिलाइएको उत्कृष्ट प्रबन्ध तथा प्रदान गरिएको न्यानो आतिथ्यको लागि म्यानमार सरकारलाई हार्दिक धन्यवाद छ । साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरूलाई पनि धन्यवाद दिन चाहन्छौं।

परराष्ट्र मन्त्रालय
सिंहदरवार ।
२०७६।०७।४