मित्रराष्ट्र कतारको द्विपक्षिय औपचारिक भ्रमण सम्बन्धमा माननीय परराष्ट्रमन्त्रीको प्रेस नोट

मित्रराष्ट्र कतारको द्विपक्षिय औपचारिक भ्रमण सम्बन्धमा माननीय परराष्ट्रमन्त्रीको प्रेस नोट

(१नोभेम्बर२०१८)

संचारकर्मी मित्रहरु,

  • सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीज्यू कतारका अमिर His Highness Sheikh Tamim bin Hamad Al Thani को मैत्रीपूर्ण निमन्त्रणामा मिति २०७५ कार्तिक १२ देखि २०७५ कार्तिक १५ सम्मको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ।
  • भ्रमणदलमा रहनु भएका संचारकर्मी मित्रहरुबाट भ्रमणको सम्बन्धमा विस्तृत रुपमा समाचार सम्प्रेषण भएकै छ । यस अवसरमा म भ्रमणको मुख्य उपलब्धिहरुबारे संक्षेपमा चर्चा गर्न चाहान्छु ।
  • कतार भ्रमणमा रहंदा सम्माननीय राष्ट्रपतिज्यूको त्यहाँका महामहिम अमिरसँग द्विपक्षीय भेटवार्ता भएको र उक्त अवसरमा नेपाल कतार द्विपक्षीय सम्बन्धका सबै बिषयहरुमा कुराकानी भएको छ।सो अवसरमा, कतारलाई नेपालको कृषि, पशुपालन, पूर्वाधार विकास विशेषतः विमानस्थल निर्माण, स्वच्छ पानीको निर्यात, उर्जा लगायत अन्य उत्पादनशील क्षेत्रमा लगानी गर्न अनुरोध गरिएको छ ।
  • कतारमा कार्यरत नेपाली कामदारको हकहित प्रवर्द्धन, सुरक्षा र कल्याण सम्बन्धी बिषयमा बिस्तृत कुराकानी भएको छ । भ्रमण अवधिमा कतारका प्रशासनिक बिकाश,श्रम तथा सामाजिक मामिला मन्त्री (Minister of  Administrative Development, Labour and Social Affairs) सँग मेरो  छुट्टै पनि भेटवार्ता भयो। अशक्त कामदारको स्वदेश फिर्ती र नेपालमै उपचारको व्यवस्था मिलाउने सम्बन्धी बिषय, नेपाली कामदारको सीप र दक्षता अभिवृद्धिका लागि नेपालमा सीप विकास र तालिम केन्द्रको स्थापना एवम् बैदेशिक रोजगार सूचना केन्द्रको स्थापना र विकासमा कतारबाट सहयोग प्राप्त गर्ने बिषयमा कुराकानी भएको र कतारले यसलाई सकारात्मक रूपमा लिएको छ । आगामी महिना हुने संयुक्त समितिको बैठकमा यी बिषयहरुले थप गति पाउने भएका छन् । कतारी पक्षले कतारमा कार्यरत सम्पूर्ण कामदारहरुको हितलाई ध्यानमा राखेर एक कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको जानकारी गराएको छ । साथै, उल्लेख्य संख्यामा कामदार पठाउने नेपाल लगायतका मुलुकहरुमा कामदार छनौट प्रक्रियामा सहजीकरणका लागि छुट्टै केन्द्र स्थापना गर्ने निर्णय समेत गरेको छ । श्रीलंकामा यस्तो केन्द्रको स्थापना भै सकेको र नेपालमा पनि छिट्टै स्थापना गर्ने जानकारी दिएको छ ।
  • भ्रमण अवधिमा दुई मुलुक बीच तीन वटा दस्तावेजमा हस्ताक्षर सम्पन्न भएको छ । दुवै मुलुकका सरकारी र कूटनैतिक राहदानी वाहकका लागि प्रबेशाज्ञा उन्मुक्ति दिने बिषयक Agreement ले उच्चस्तरीय भेटघाट र भ्रमणलाई सहज तुल्याउन बल पुग्ने छ भने कृषि तथा खाद्य सुरक्षा सहयोग सम्बन्धी Memorandum of Understanding ले  कृषि, पशुपालन,मासु र माछापालन आदिको क्षेत्रमा सहयोग आदान-प्रदानको बाटो खोलि दिएको छ । नेपालमा जैविक खेतीलाई प्रवर्द्धन गर्ने सम्बन्धमा समेत विस्तृत छलफल भएको र यो MoU ले सो कार्यलाई सहयोग पुर्याउने विश्वास गरिएको छ । त्यस्तै, नेपाल प्रहरी (Nepal Police) तथा कतारको सार्बजनिक सुरक्षा निर्देशनालय (General Directorate of Public Security)  बीच हस्ताक्षर भएको Letter of Intent on Security Cooperation ले ती निकायका सुरक्षा अधिकारी बीच  सार्बजनिक सुरक्षा चासोका  बिषयमा मिलेर काम गर्ने र सहयोग प्रवर्द्धन गर्ने बिषयलाई समेटेको छ ।
  • कतार च्याम्बरद्वारा आयोजित कतार र नेपालका उद्योगपति  तथा  व्यापारिक क्षेत्रका प्रतिनिधिमूलक संस्थाका  प्रतिनिधि सम्मिलित अन्तर्क्रिया कार्यक्रमलाई सम्माननीय राष्ट्रपतिज्यूबाट  महत्वपूर्ण सम्बोधन गर्दै नेपालमा लगानी गर्न आह्वान गर्नु भयो।Nepal Investment Board का CEO ले वैदेशिक लगानीको क्षेत्रका सम्बन्धमा सरकारी नीति तथा कार्यक्रमबारे र निजि क्षेत्रका प्रतिनिधिहरुले नेपालमा व्यापार र लगानीको अनुकूलताएवम् प्रमुख क्षेत्र लगायत अन्य बिषयमा प्रकाश पार्नु भएको थियो । यो कार्यक्रमलाई कतारी उद्योगी एवम् व्यापारी वर्गले  प्रशंसा गर्नुको साथै नेपालमा लगानीका लागि सकारात्मक धारणा व्यक्त गर्नु भएको छ।
  • सम्माननीय राष्ट्रपतिज्यूबाट शिक्षा, विज्ञान तथा प्रविधि र सामुदायिक क्षेत्रको विकासमा कतारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको र संयुक्त राष्ट्र संघद्वारा अनुमोदित दिगो विकासका लक्ष्यहरु प्राप्तिमा सहयोग पुर्‍याउदै आएको संस्था  Qatar Foundation को भ्रमण गरी उक्त संस्थाको व्यवस्थापन लगायत सहयोग आदान प्रदान सम्बन्धी नीति, कार्यक्रम बारे जानकारी लिनु भयो। उक्त संस्थाका अध्यक्षले सम्माननीय रास्ट्रपतिज्यूसँग आफ्नो Foundationले  नेपालका सम्बन्धित संस्थाहरुसँग मिलेर सहयोगात्मक कार्य गर्नसक्ने कुरा बताउनु भएको छ । श्रोत, साधन र कार्यक्रमको  हिसाबले कतारमा ख्याति आर्जन गरेको यो संस्थाबाट नेपालका सम्बन्धित क्षेत्रमा भबिष्यमा सहयोग प्राप्तगर्ने दिशामा महत्वपूर्ण कुराकानीभएको छ।
  • सम्माननीय राष्ट्रपतिज्यूबाट कतारमा काम गरी बसेका नेपालीहरुसँग नेपाली राजदूतावासको समन्वयमा भेटघाट गरी आफुले विदेशमा सिकेको सीप, ज्ञान, प्राप्त अनुभव र दक्षता नेपालको विकास प्रयासमा लगाउन आह्वान गर्नु भएको छ ।नेपालीहरुको उक्त भेलालाई परराष्ट्रमन्त्रीको हैसियतले मैले पनि सम्बोधन गरें ।नेपालको सम्मुन्नति र प्रगतिका लागि स्वदेशमा मात्र नभई बिदेशमा रहेका नेपालीहरूको समेत उल्लेख्य भूमिका रहने विचार व्यक्त गरें।
  • आज बिहान सम्माननीय राष्ट्रपतिज्यूसँग कतारका प्रसिद्ध सरकारी र निजी व्यवसायी कम्पनीका प्रमुखहरुले छुट्टाछुट्टै शिष्टाचार भेटघाट गर्नुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूबाट उक्त अवसरमा नयाँ विमानास्थल निर्माण, जलविद्युत आयोजना, वित्तिय क्षेत्र र शुद्द पानी एवम् खाद्य उत्पादन जस्ता क्षेत्रमा नेपालमा लगानी गर्न उहाँहरुलाई आह्वान गर्नुभएको छ ।
  • समग्रमा, नेपाल संघीय गणतन्त्रमा प्रवेश गरिसके पछिको दोस्रो र सन २०१५मा नयाँ संविधान जारी भै सके पछि राष्ट्राध्यक्षको स्तरबाट सम्पन्न पहिलो कतार भ्रमण भएकोले यसको विशेष महत्व रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।यस भ्रमणले कतारबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन, नेपाल-कतार दुई पक्षीय व्यापार प्रवर्द्धन एवम् पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने वातावरण सृजना भएको छ । लगभग चार लाखको हाराहारीमा रहेका नेपालीहरुको हकहित, सुरक्षा र कल्याण सम्बन्धी बिषयलाई भ्रमणमा भएका वार्ताका क्रममा विशेष रुपमा हामीले उठाएका छौं र हाम्रो अनुरोधलाई कतार सरकारले सकारात्मक रुपमा लिएको छ । भ्रमणका अवधिमा हस्ताक्षर भएका तीनवटा दस्तावेजहरुले नेपाल कतार द्विपक्षीय सम्बन्धलाई विस्तार गर्दै सहयोगका अभिवृद्धिका लागि मार्ग प्रसस्त गरेको छ । समग्रमा यो भ्रमण नेपाल कतार दुई पक्षीय सहयोगात्मक सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउन सफल भएको छ । सम्माननीय राष्ट्रपतिज्यूबाट न्यानो आतिथ्यका लागि कतारका महामहिम अमिर लगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।