Statement by Defense Minister Honorable Mr. Ishwor Pokharel in Janakpur


माननीय रक्षामन्त्री श्री ईश्वर पोखरेलद्वारा मित्रराष्ट्र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीज्यूको स्वागतमा व्यक्त मन्तव्य
बाह्रविघा, जनकपुर
2075/01/28

मित्रराष्ट्र भारतका प्रधानमन्त्री  महामहिम श्री नरेन्द्र मोदीज्यू,
माननीय मन्त्रीज्यूहरु,
प्रदेश नम्बर २ का माननीय मुख्यमन्त्रीज्यू,
संसदका माननीय सदस्यज्यूहरु,
जनकपुर उपमहानगरका प्रमुखज्यू,
भारतीय भ्रमणदलका विशिष्ट सदस्यज्यूहरु,
संचारकर्मी मित्रहरु,
भद्रमहिला तथा सज्जनवृन्द,

नेपाल सरकार र नेपाली जनताको तर्फबाट र मेरो आफ्नै तर्फबाट मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री एवं भ्रमणदलका विशिष्ट सदस्यहरुलाई यस ऐतिहासिक नगरी जनकपुरधाममा स्वागत गर्ने अवसर पाउँदा खुशी व्यक्त गर्दछु ।

महामहिमज्यू, हामी यहाँ र यहाँको प्रतिनिधिमण्डललाई नेपाल र जनकपुरमा हृदयदेखि नै स्वागत गर्न चाहन्छौं ।

नेपाल र भारतले परापूर्व कालदेखि नै मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएका छौं । हाम्रा सम्बन्धहरु प्राग् ऐतिहासिक कालदेखि जनताको जीवन पद्दतिसँगै जोडिएका छन् । हामी सभ्यता, संस्कृति, इतिहास र भुगोलबाट अन्तर सम्बन्धित र जोडिएका छौं । हाम्रो सभ्यताको शुरुआतसँगै हाम्रो प्रगाढ मित्रताको सम्बन्ध विकसित हुँदै आएको वास्तविकतालाई हामी कहिल्यै भूल्न सक्दैनौं ।

महामहिमज्यू,

यस जनकपुर शहरले हाम्रो मित्रताको उचाइ बढाउन खेलेको भूमिका बारे यहाँ स्वयं जानकार हुनुहुन्छ । जनकपुर शहर, राजर्षी जनकको भूमि हो । महर्षी यज्ञवल्क्यको पाठशाला हो । गार्गि, मैत्रेयी, माधवी, श्रुत्रीकृती र अन्य विदूषीहरुले विद्वता प्रदर्शित गरेको ऐतिहासिक थलो हो । अझ महत्वपूर्ण कुरा, जनकपुर जानकीको जन्मस्थलको रुपमा सुपरिचित रहँदै आएको ऐतिहासिक स्थल हो । यो ऐतिहासिक नगरीले हामी दुईबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भविष्यमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दछु ।

शताव्दी पहिले रामायण युगमा, यस शहरद्वारा बांधिएको सुदृढ सामाजिक सम्बन्ध हाम्रो द्वीपक्षीय सम्बन्धको एक महत्वपुर्ण पक्षको रुपमा रहिआएको छ ।

यस शहरले मातृशक्तिलाई आदर र सम्मान गर्ने परम्पराको प्रतिनिधित्व गर्दछ ।

हामी नेपाली जनता खासगरी जनकपुरवासीले भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदी जी जस्तो प्रखर वौद्धिक तथा विशिष्ट व्यक्तित्वको जनकपुर जस्तो ऐतिहासिक नगरीमा स्वागत गर्न पाएका छौं ।

महामहिमज्यू,

नेपाल र भारतका बीच रहेको हार्दिक र मित्रवत सम्बन्धको विषयमा केही शब्दहरु व्यक्त गर्न पाउँदा खुसी छु । जनस्तरको सम्बन्ध, भ्रातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान, पारस्पारिक समझदारी र सुभेच्छा हाम्रा सम्बन्धका आधारशिला हुन् । हाम्रो खुल्ला सिमानाले जनस्तरको सम्बन्धलाई निकट बनाएको छ । हामी एक अर्काको सामिप्यतालाई वोध गर्छौ र एक अर्काका संवेदनशिलताप्रति सचेत छौं।

महामहिमज्यू,

हालका वर्षहरुमा खासगरी महामहिमज्यूको प्रधानमन्त्रीत्वमा मित्रराष्ट्र भारतले विकासका सबै क्षेत्रहरुमा उल्लेख्य प्रगति हासिल गरेको छ । हालै सम्पन्न निर्वाचन पछि नेपाल पनि शान्ति, स्थायित्व र सम्वृद्धिको मार्गमा अघि बढ्दै संविधानको प्रभावकारी कार्यान्‍वयनको मार्गमा अग्रसर भएको विषय प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । राजनीतिक मुद्दाहरुको समाधान सँगै मुलुकको विकास र जनताको सम्वृद्धिको काममा हामी पूर्णतः केन्द्रित छौं । यस सन्दर्भमा हाम्रा विकासका प्रयासहरुमा हाम्रो अनन्य मित्रराष्ट्र भारतको सुभेच्छा, समझदारी र सहयोगको अझ बढी आवश्यक छ ।

हामी महामहिमज्यूको सन् २०१४ मा भएको भ्रमणको स्मरण गर्दछौं। महामहिमज्यूद्वारा नेपाल भारत सम्बन्धका विषयमा व्यक्त गर्नुभएको सोच विचार युक्त भनाईहरु हाम्रो हृदयमा ताजै छन् । चार वर्षभन्दा कम समयमा तेस्रोपटकको भ्रमणले हाम्रो युगदेखिको सम्बन्धलाई अझ बढी सुदृढ बनाउँदै दुवै देश र जनताको पारस्परिक हितलाई नयाँ उचाइमा पुर्‍याउने छ । हामी अतितमुखी होइन, भविष्यमुखी भएर अघि बढ्न चाहन्छौं ।

हाम्रा दुबै देशका प्रधानमनन्त्रीज्यूहरुबाट आजै सुभारम्भ गर्नुभएको राम र जानकीको प्रतिकका रुपमा रहेका जनकपुर र अयोध्याबीच सिधा बस सेवा तथा “रामायण वृत्तपथ” ले दुई देश र दुई शहरको जनस्तरको सम्बन्ध र सांस्कृतिक सम्बन्धको विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

महामहिमज्यू,

नेपाल सरकार, नेपाली जनता र मेरो आफ्नै तर्फबाट यहाँ र यहाँको प्रतिनिधि मण्डलको नेपाल बसाईं आनन्ददायी र स्मरणीय रहोस् भन्ने सुभेच्छा व्यक्त गर्दछु। धन्यवाद ।