भारतको अौपचारिक भ्रमण पश्चात् मिति २०७३ असोज २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले सञ्चारकर्मीहरुलाई सम्बोधन गर्नुभएको प्रेस नोट

प्रेस नोट

उपस्थित सञ्चारकर्मी साथीहरू,

मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २०७३ साल भाद्र ३० देखि असोज ०२ सम्म भारतको ४ दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु । मेरो भ्रमणदलमा माननीय परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत सहभागी हुनुहुन्थ्यो । यसैगरि भ्रमणदलमा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रमेश लेखक¸ व्यवस्थापिका संसदका माननीय सदस्यहरु¸ नेपाल सरकारका सचिव तथा अन्य उच्च पदाधिकारीहरु,  व्यापारिक समुदाय र संचार माध्यमका साथीहरू रहनुभएको यहाँहरूलाई जानकारी नै छ । भ्रमणदलमा संलग्न सञ्चारकर्मी मित्रहरुबाट नियमित समाचार सम्प्रेषण भैरहेकै हुँदा यहाँहरु भ्रमणका सम्वन्धमा सुसूचित नै हुनुहुन्छ ।

भारतका महामहिम राष्ट्रपति श्री प्रणव मुखर्जीको आतिथ्यमा हामी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा बस्यौं । राष्ट्रपति भवनको प्रांगणमा आयोजित औपचारिक स्वागत समारोहमा भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले मेरो स्वागत गर्नुभयो ।

भ्रमणमा जानु अघि सम्मानित व्यवस्थापिका संसदमा मैले अवगत गराए अनुसार यस भ्रमणमा हाम्रो प्राथमिकता धेरै विषयहरुको उठान गर्नुभन्दा असल नियतका साथ नेपाल र भारतका बीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यस अघि सहमतिमा पुगेका परियोजनाहरुको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिनुमा रह्यो ।

भ्रमणका दौरान नयाँ दिल्लीमा भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग एक्ला एक्लै र प्रतिनिधिमण्डलस्तरमा मेरो वार्ता भयो। नेपाल भारत सम्बन्धका सवै पक्ष र विषयहरुमा हामीले सौहार्द्रपूर्ण वातावरणमा गहन र खुला छलफल गर्यौ । हाल चालु रहेका सीमापार रेलवे¸ एकीकृत चेकपोष्ट तथा हुलाकी सडक जस्ता महत्वपूर्ण परियोजनाहरुको प्रगतिको नियमित समीक्षा गरी समयबद्ध रुपमा पूरा गर्नका लागि ठोस उपायहरु अपनाउनुका साथै शीघ्र कार्य सम्पन्न गर्न हामी सहमत भयौं । यी लगायत नेपाल भारत सम्वन्धका सम्पूर्ण विषयहरुमा समीक्षा र पुनरावलोकन गर्न र आगामी दिनमा चाल्नुपर्ने कदमका वारेमा निर्णय लिन परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक यही सन् २०१६ मा गर्ने सहमति भयो ।

भारतले हुलाकी राजमार्गको दोश्रो चरण¸ बुटबल जोड्ने सीमापार ट्रान्समिशन लाइन र हेटौडा तथा ढल्केबरमा विद्युतीय सबस्टेशनको निर्माण एवं काश्कीमा पोलिटेक्निक निर्माणमा नयाँ सहुलियतपूर्ण ऋण उपलव्ध गराउने भएको छ ।

यसका साथै भूकम्प पश्चातको पूनर्निर्माणका लागि भारत सरकारले घोषणा गरेको सहुलियतपूर्ण ऋण उपयोग सम्वन्धी सम्झौता¸ विगतमा घोषित सहुलियतपूर्ण ऋणको संशोधित सम्झौता र भारत सरकारको सहयोगमा निर्माण हुने हुलाकी सडक पहिलो चरण निर्णाणका लागि परामर्शदाता नियुक्ति सम्बन्धी सम्झौताहरुमा हस्ताक्षर भई आदान प्रदान भयो ।

जलविद्युत दुई देशको साझेदारीको प्रमुख क्षेत्र हुनुपर्ने कुरामा जोड दिंदै यस क्षेत्रमा लगानी तथा सहयोगको अभिबृद्धिका लागि सन् २०१४ मा सम्पन्न नेपाल भारत उर्जा व्यापार सम्झौतालाई आवश्यक उपायहरु अवलम्वन गर्दै कार्यान्वयनमा लैजान दुवै पक्ष सहमत भएका छन् । यस सम्वन्धमा शीघ्र प्रगति हुने अपेक्षा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अध्ययन गरी अन्तिम रुप दिन दुवै पक्षबीच सहमति भएको छ । भारतले हामीलाई भूकम्प पश्चातको पूनर्निर्माणका लागि उदारतापूर्वक प्रदान गरेको सहयोगलाई प्रभावकारी रुपमा उपयोग गर्ने सहमति भएको छ ।

नेपाल र भारतका बीच सुरक्षा सम्वन्धी समान चासोका विषयहरु रहेको सन्दर्भमा दुवै पक्षका सुरक्षा निकायका बीच सहयोग तथा समन्वयको विस्तार गरी अवाञ्छित तत्वबाट खुला सीमानाको दुरुपयोग हुन नदिने बारेमा कुराकानी भएको छ ।

दुवै मुलुक व्यापार तथा पारबहन व्यवस्था सहज र सुदृढ गर्नका निमित्त थप उपायहरु अपनाउन सहमत भएका छन् । साथै¸ भारतसँगको नेपालको बढ्दो व्यापार घाटा कम गर्न नेपालको निर्यात बढाउने उपायका बारेमा कुराकानी भयो । नेपालको ‌औद्योगिकीकरण तथा व्यापार विस्तारमा भारतको सार्वजनिक तथा निजी क्षेत्रको सहभागिताका लागि समेत जोड दिंदै दुबै मुलुकका निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिने सम्वन्धमा छलफल भयो ।

हाम्रा बीच छलफल भएका महत्वपूर्ण विषयहरु तथा सहमतिलाई संयुक्त पत्रकार सम्मेलन मार्फत् म र भारतका महामहिम प्रधानमन्त्रीले सार्वजनिक गरिसकेका छौं । साथै¸ भ्रमण सम्वन्धी संयुक्त विज्ञप्ति पनि जारी भैसकेको छ ।

भारतका महामहिम राष्ट्रपतिसँग भएको द्विपक्षीय भेटघाटमा उहाँ र मेरो बीच नेपाल भारत सम्वन्धका विविध विषयमा विचारको आदान प्रदान हुनुका साथै उहाँले निकट भविष्यमा गर्नुहुने नेपालको राजकीय भ्रमणका वारेमा कुराकानी भयो ।

नयाँ दिल्लीमा रहँदा मसँग भारतका विदेश मन्त्री श्रीमती सुष्मा स्वराज¸ गृह मन्त्री श्री राजनाथ सिंह¸ अर्थ मन्त्री श्री अरुण जेट्ली तथा उर्जा राज्य मन्त्री श्री पियूष गोयलले भेटघाट गर्नुभयो । उहाँहरुसँग समग्र सम्वन्ध एवं विषयगत सहयोगको क्षेत्रमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भयो । साथै भारतका भूतपूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह¸ भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार श्री अजित कुमार डोभाल लगायत भारतका विभिन्न राजनीतिक दलका नेताहरुसँग सँग मेरो भेटघाट भएको थियो ।

भ्रमणका दौरान मैले भारतको हिमाचल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत आयोजनाको नीरिक्षण गरें । यसबाट उच्च पहाडमा निर्मित ठूलो जलविद्युत परियोजनाले स्थानीय विकास तथा राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानका वारे जानकारी हासिल गर्ने अवसर प्राप्त भयो । हरिद्वारस्थित पतञ्जली योगपीठको भ्रमण गरी खाद्य तथा जडिबुटी पार्कको अवलोकन समेत गरें ।

भारतीय निजी क्षेत्रका शीर्ष संस्थाहरु ASSOCHAM, CII  र FICCI द्वारा आयोजित विशेष अन्तर्किया कार्यक्रमलाई सम्वोधन गर्दै भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्ने आह्वान गरें ।

India Foundation ले मेरो सम्मानमा आयोजना गरेको कार्यक्रममा भारतका विशिष्ट विद्वतवर्गलाई एक्काइसौं शताव्दीका लागि नेपाल भारत साझेदारी विषयमा सम्बोधन गरें ।

नेपाली राजदूतावास¸ नयाँ दिल्लीले आयोजना गरेको नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रममा म सहभागी भएँ । साथै दूतावासले मेरो सम्मानमा आयोजना गरेको स्वागत समारोहमा समेत म सरीक भएँ।

औपचारिक कार्यक्रमहरु सम्पन्न भएपश्चात् भ्रमणका उपलव्धिहरु समेतका वारेमा मैले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएँ ।

मेरो यस राजकीय भ्रमणबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको छ । विगतमा भएका आर्थिक सामाजिक विकास तथा पूर्वाधार निर्माण सम्वन्धी सम्झौता एवं सहमति लगायत चालू परियोजनाहरुको सफल कार्यान्वयन गर्न एवं सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गर्ने तर्फ यस भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको मैले महशुस गरेको छु ।

समग्रमा यस भ्रमणबाट नेपाल र भारतका बीच शदियौंदेखि रहँदै आएको घनिष्ठ¸ मैत्रीपूर्ण एवं वहुआयामिक सम्वन्धलाई थप सुदृढ गर्न मद्दत पुगेको मेरो विश्वास छ ।

धन्यबाद।

Please click here for pdf file