प्रेस विज्ञप्ती

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको छैठौ बैठक आज मिति २०७८/५/५ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिका बारेमा छलफल भयो।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज टर्किस एयर तथा  जजिरा एयरको नियमित उडानबाट क्रमशः २६ जना र ९ जना गरी जम्मा ३५ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गर्नुभएको छ।

उद्धारको लागि सूचीकृत हुनुभएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नु भएकाहरूको विवरण रुजु गरी उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ ।

उल्लिखित सूचीमा समावेस भएका नेपालीहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको र काबुलस्थित सम्पर्क व्यक्तिको रूपमा सहयोग गरिरहनु भएका श्री सुरेश चन्द्र शर्माले समेत उद्धारको पर्खाइमा रहनुभएका नेपालीहरूको उद्धार कार्यमा समन्वय तथा सहजीकरण गरिरहनु भएको छ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०५