प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको चौथो बैठक आज मिति २०७८/५/३ मा बस्यो।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । आज जजिरा एयरको कुवेत-काठमाडौ नियमित उडानबाट थप  ८ जना समेत गरी  हालसम्म कूल २९६ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म ३०० जना नेपालीहरूले आफ्नो विवरण दर्ता गर्नुभएको छ। त्यसै गरी परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा अन्तर्गत नायव शिष्टाचार महापालको नेतृत्वमा रहेको Situation Room मा तोकिएका मोवाइल नम्वर तथा ईमेल ठेगानामा आज साँझ ५ बजेसम्म ४२ जना नेपालीहरूले आफ्नो नामसहितको विवरण दर्ता गराउनुभएको छ। त्यसमध्ये कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको, कतिपयको एकै जनाको धेरै ठाउबाट बिवरण भरिएको र कतिपयको उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नु भएकोले त्यसलाई रुजु गरी बांकीको उद्दारका लागि काबुलबाट उद्दार उडान गरिरहेका मित्रराष्ट्रहरुसंग सहकार्य र समन्वय भैरहेको छ ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्दार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०३