Press Release on the presentation of Letters of Credence to the Governor General of Jamaica

प्रेस विज्ञप्ती

क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले मिति 2074 फाल्गुन 9 गते तदनुसार 21 फेब्रुअरी 2018 का दिन जमैकाको राजधानी किङ्गस्टनस्थित ‘किङ्गस् हाउस’ मा आयोजित एक विशेष समारोहका बीच जमैकाका सम्माननीय गभर्नर जनरल सर प्याट्रिक एलेनसमक्ष आफ्नो ओहदाको प्रमाण-पत्र पेश गर्नु भयो। ओहदाको प्रमाण-पत्र पेश गरेसँगै वहाँ जमैकाको लागि नेपालको पहिलो राजदूत हुनु भएको छ।

आफ्नो ओहदाको प्रमाण-पत्र पेश गर्नुहुँदै महामहिम राजदूत श्री पोखरेलले नेपालका सम्माननीय राष्ट्रपतिको तर्फबाट जमैकाका गभर्नर जनरलको व्यक्तिगत सुख र शान्तिको साथै जमैकाका समग्र जनताको शान्ति, समृद्वि र प्रगतिको कामना गर्नुभयो। जमैकाको लागि नेपालको पहिलो राजदूत नियुक्त हुनु भएकोमा जमैकाका गभर्नर जनरलले वहाँलाई बधाई दिदैं यसले द्विदेशीय सम्बन्धलाई सुदृढ तुल्याउने तथा आगामी दिनहरुमा यो सम्बन्ध अझ थप प्रगाढ एवं फराकिलो हुँदै जाने विश्वास व्यक्त गर्नु भयो।

उक्त दिन नेपालसँगै भियतनाम, रोमेनिया, एल साल्भाडोर, निकारागुवा, नामिविया, बुल्गेरिया, जाम्बिया र मलावीका राजदूतहरुले जमैकाका गभर्नर जनरल समक्ष तथा वहमासका राजदूतले प्रधानमन्त्री समक्ष आ-आफ्नो ओहदाको प्रमाण-पत्र पशे गरेका थिए।

उक्त दिनको विहान जमैकाको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयमा आयोजित एक कार्यक्रममा महामहिम राजदूत श्री पोखरेलले जमैकाका विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री माननीय सिनेटर कामिना जोनशन स्मिथलाई आफ्नो ओहदाको प्रमाण-पत्रको प्रतिलिपि बुझाउदैं सन् 2015 मा नेपालको संविधान जारी भए पश्चात् हालै स्थानीय, प्रदेशिक र संघीय सरकारको निर्वाचन सम्पन्न भई नयाँ सरकारको गठन भएको कुरा समेत बताउनु भयो। ओहदाको प्रमाण-पत्रको प्रतिलिपि बुझ्दै माननीय विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रीले नेपालको प्रधानमन्त्रीमा सम्मानीय श्री के.पी.शर्मा ओली नियुक्त हुनु भएकोमा वहाँलाई बधाई समेत ज्ञापन गर्नु भयो। साथै, वहाँले नेपालको संविधानका मूलभूत विशेषताहरु विशेषगरी समावेशीकरण र महिला सशक्तिकरणका सम्बन्धमा गरिएको व्यवस्था उपर सन्तुष्टि व्यक्त गर्नुभयो।

22 फेब्रुअरी 2018 को बिहान महामहिम राजदूत श्री कालीप्रसाद पोखरेल जमैकाको विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्रालयले सो मुलुकका लागि सहप्रमाणीकरण भएका आवासीय र गैरआवासीय कूटनीतिक नियोग प्रमुखहरुको लागि आयोजना गरेको वार्षिक कूटनीतिक दिवश ब्रिफङ (Annual Diplomatic Day Briefing) मा सहभागी हुनु भयो।जमैकाका विदेश मामिला तथा अन्तर्राष्ट्रिय व्यापार मन्त्री माननीय सिनेटर कामिना जोनशन स्मिथले कार्यक्रममा उपस्थित कूटनीतिक नियोगका प्रमुखहरुबीच जमैकाको विदेश नीति, सरकारको प्रथमिकता, मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक, सुरक्षा, वातावरणीय एवं अन्य विविध पक्षहरुको बारेमा ब्रिफिङ गर्नु भएको थियो।

22 फेब्रुअरी 2018 को मध्यान्ह महामहिम राजदूत श्री पोखरेलले जमैकामा सम्मानीय प्रधानमन्त्री श्री एन्ड्रयु होलनेससँग शिष्टाचार भेट गर्नु भई नेपाल र जमैकाबीच रहदैं आएको सुमधुर द्विपक्षीय सम्बन्धका साथै नेपालको विद्यमान राजनीतिक, आर्थिक एवं सामाजिक क्षेत्रमा विकासित सकारात्मक घटनाक्रमहरुको बारेमा चर्चा भयो। सम्माननीय प्रधानमन्त्रीले नेपालले जमैकाको लागि राजदूत नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै जमैकाका लागि नेपालको पहिलो राजदूत नियुक्त हुन भएकोमा महामहिम राजदूत श्री पोखरेललाई बधाई समेत ज्ञापन गर्नु भयो।साथै, वहाँले दुई देशको आपसी हितका विषयमा द्विपक्षीय र बहुपक्षीय मञ्चहरुमा मिलेर अघि बढ्ने कुरा उल्लेख गर्नु भयो।

22 फेब्रुअरी 2018 कै दिन महामहिम राजदूतले जमैकाको विदेश मन्त्रालयकी सचिव श्री मार्सिया गिल्वर्ट-रोबर्टस् र सोही मन्त्रालयकको द्विपक्षीय सम्बन्ध विभागकी निर्देशक श्री सोर्ना-के रिचार्डसँग छुट्टाछुट्टै भेट गर्नु भई द्विपक्षीय हितका विविध विषयहरुमा कुराकानी गर्नु भएको थियो भने सोही दिनको बेलुका जमैकाका सम्माननीय गभर्नर जनरलले कूटनीतिक नियोगका प्रमुखहरुको लागि आयोजना गर्नु भएको रात्रिभोजमा महामहिम राजदूत सरिक हुनुभयो।

त्यसैगरी, 23 फेब्रुअरी 2018 का दिन महामहिम राजदूत श्री पोखरेलले जमैकाका श्रम तथा सामाजिक सुरक्षा मन्त्री माननीय शाहिने रविन्सनसँग शिष्टाचार भेट गर्नु भई नेपालीहरुका लागि जमैकामा उपलब्ध हुनसक्ने संभावित रोजगारीका अवसरहरु साथै हाल त्यहाँ कार्यरत नेपालीहरुको सेवा, सुविधा, उनीहरुको सेवाको सुरक्षा र मर्यादित रोजगारीका बारेमा समेत कुराकानी गर्नु भयो।

जमैका भ्रमणमा रहँदा महामहिम राजदूत श्री पोखरेलले जमैकाको राजधानी किङ्गस्टन र त्यहाँको पर्यटकीय नगरी मन्टेगो वेमा कार्यरत रहेका नेपाली दाजुभाईहरुसँग भेटघाट गरी उनीहरुले पाउने सेवा, सुविधा, कार्य वातावरण, व्यक्तिगत सुरक्षा लगायतका विषयमा जानकारी लिनु साथै उनीहरुलाई नेपाली राजदूतावासले उपलब्ध गराउने कन्सुलर सम्बन्धी सेवाहरुको बारेमा जानकारी समेत गराउनु भएको थियो।

उल्लिखित भेटघाट तथा बैठकहरु सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएका थिए। सन् 2015 मा दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको र हाल जमैकाका लागि नेपालका राजदूतको नियुक्ति भई ओहदाको प्रमाण-पत्र समेत पेश गरेको हुँदा यसले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ।

क्यारेवियन क्षेत्रका क्युवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटी यस राजदूतावासबाट सहप्रमाणीकृत भएका मुलुकहरु हुन्।

श्री नेपाली राजदूतावास
ओटवा, क्यानडा
2074/11/15