Press Release issued by Nepali Embassy, Denmark on the celebration of International Day of Vesak, Republic Day and Everest Day

प्रेस बक्तव्य

आज मे २९, २०१८ का दिन गणतन्त्र दिवस, अन्तर्राष्ट्रिय वैशाख दिवस तथा सगरमाथा दिवसको अवसरमा नेपाली राजदूतावास तथा डेनमार्कस्थित विभिन्न संघसंस्थाहरुको संयुक्त प्रयासमा कोपेनहेगनको अति व्यस्त सडक (वाकिङ्गस्ट्रिट) मा पन्चेबाजा सहित विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरियो । विभिन्न देशका राजदूतहरु तथा कूटनीतिक नियोगका पदाधिकारीहरु, सभासद, परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा अन्य उच्च पदस्थ अधिकारीहरु समेत उपस्थित रहेको उक्त कार्यक्रममा बोल्दै महामहिम राजदूत श्री युवनाथ लम्सालले उक्त तीन वटै दिवसहरु यसपटक एकै दिन परेको बताउँदै ती दिवसहरुको महत्वमाथि प्रकाश पार्नुभयो । साथै, उहाँले उक्त कार्यक्रमलाई हरेक बर्ष नियमित पर्वको रुपमा सम्भव भएसम्म वाकिङ्गस्ट्रिटमा नै गरिने कुरा बताउनु भयो । नाचगान कार्यक्रम र आ–आफ्नै भेषभुषा तथा राष्ट्रिय पोशाकहरुमा सजिंएका नेपालीहरुसँग तस्विर र भिडियो खिच्नेको घुइँचो लागेको थियो । यस प्रकृतिको पहिलो कार्यक्रम भएको र जनसमुदायको घुइँचो तथा सबैले रुचिपूर्वक कार्यक्रम हेरेको देख्दा कार्यक्रम साँच्चैनै सफल भएको सबैले महशुस गरेका थिए ।

उक्त कार्यक्रमस्थल विभिन्न पर्यटन प्रवद्र्धन हुने खालका व्यानरहरुले सजाइनुका साथै प्रशस्त मात्रामा पर्यटन सामाग्रीहरु वितरण गरिएको थियो । सो कार्यक्रमको सहआयोजकहरुमा नेपाल पर्यटन वोर्ड, डेनमार्कस्थित गैर आवासीय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च, जनप्रगतिशील मन्च, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास), विवेकशील साझा सद्भाव समूह, क्रियटिभ नेपाली वुमेन ग्रुप, नेपाल म्युजिक फेस्टिभल, वैज्ञानिक तथा प्राज्ञिक समूह थिए । साँस्कृतिक कार्यक्रमहरुको समन्वय ईनास, डेनमार्कले र पञ्चेबाजाको व्यवस्था गैर आवासीय नेपाली संघ, डेनमार्कले गरेका थिए । साँस्कृतिक कार्यक्रमहरु लगायतका कार्यहरुमा सबै नेपाली संघसस्था तथा व्यक्तिहरुहरुले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गरेका थिए । कार्यक्रमको तस्विर र भिडियो खिच्न क्लिक कोपेनहेगनले सहयोग गरेको थियो ।
नेपाली राजदूतावास

डेनमार्क
मे २९, २०१८