Press Release issued by the Embassy of Nepal, Bangkok regarding bilateral meeting between Hon’ble Foreign Ministers of Nepal and Singapore

प्रेस विज्ञप्ति

माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले आज सिंगापूरमा यहाँका मानव संशाधन तथा परराष्ट्र मन्त्री जोसेफाइन तियो संग भेटघाट तथा कुराकानी गर्नु भयो । भेटका अवसरमा दुवै मन्त्रीहरुले नेपाल र सिंगापूरबीच रहि आएको सुमधुर द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा भई रहेको सहकार्यप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनहरुमा द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नु भयो । भेटका अवसरमा माननीय परराष्ट्र मन्त्रीले लामो समयको राजनीतिक संक्रमणको समाप्तीसंगै नेपालले आर्थिक विकास र समृद्धि हासिल गर्ने दिशामा अग्रसरता देखाएको अवगत गराउनु भयो । उहाँले नेपालमा गएको विनाशकारी भूकम्प पश्चातको उद्धार तथा राहत वितरण एवम पुनर्निर्माणमा सिंगापूरबाट प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नु भयो । सिंगापूरका परराष्ट्र मन्त्रीले नेपालमा भुकम्पपछिको पूनर्निर्माण तथा पुनर्स्थापनामा भईरहेको प्रगतीबारे राख्नु भएको जिज्ञासामा माननीय परराष्ट्र मन्त्रीले नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र गैह्र सरकारी क्षेत्रको सहकार्यमा पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्य सन्तोषजनक रुपमा अघि बढिरहेको जानकारी गराउनु भयो ।

उक्त अवसरमा माननीय परराष्ट्र मन्त्रीले नेपालको आर्थिक विकासमा सिंगापूरको सहयोगका संभावनाहरु औंल्याउँदै  नेपालमा विषेश गरी जलश्रोत, पूर्वाधार विकास, पर्यटन तथा सूचना प्रविधीको क्षेत्रमा लगानी बढाउन सिंगापरको सहयोगको लागि अनुरोध गर्नु भयो । यसका लागि दुवै मुलुकका लगानी प्रबर्द्धन सम्बन्धी निकायहरु बीच सहकार्य गर्ने भन्ने सहमती भयो । यसका साथै माननीय परराष्ट्र मन्त्रीले सिंगापूरबाट नेपाल भ्रमणमा जाने  पर्यटकहरुको संख्यामा आगामी दिनहरुमा बृद्धि हुँदै जाने विश्वाश व्यक्त गर्नु भयो ।

त्यस्तै दुई मन्त्रीहरुबीच नेपाल र सिंगापूरका परराष्ट्र मन्त्रालयहरुबीच उपयुक्त तहमा द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने विषयमा समेत सकारात्क कुरा भयो । माननीय परराष्ट्र मन्त्रीले सिंगापूरका समकक्षी लाई नेपालको मानव संशाधन विकासमा सिंगापूरबाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिंदै नेपालका लागि विशेष कार्यक्रमहरु सञ्चालन गर्न अनुरोध गर्नु भयो । यसै सन्दर्भमा उहाँले सिंगापूरमा अध्ययन गर्न चाहने नेपाली बिद्यार्थीहरुलाई भिसा लगायतका व्यवस्थाहरुमा थप सहजीकरणका लागि समेत अनुरोध गर्नु भयो । सिंगापूर पक्षले यी विषयहरुमा सकारात्मक रुपमा विचार गर्ने आश्वासन दिएको छ ।

आजै बिहान माननीय परराष्ट्र मन्त्रीले सिंगापूरस्थित गोर्खा कन्टिन्जेन्टको  भ्रमण गरी उक्त कन्टिन्जेन्ट तथा त्यहाँ कार्यरत नेपालीहरुको बारेमा जानकारी हासिल गर्नु भयो । उक्त अवसरमा माननीय परराष्ट्र मन्त्रीलाई गोरखा कन्टिन्जेन्टका कमाण्डर एम एल आर फोरम्यान तथा गोर्खा मेजर मकर गुरुंग लगायत उच्च अधिकृतहरुले स्वागत गर्नु भएको थियो । माननीय परराष्ट्र मन्त्री उहाँहरुले आयोजना गर्नु भएको दिवा भोजमा समेत सरिक हुनु भयो ।

उपर्युक्त अवसरहरुमा माननीय परराष्ट्र मन्त्रीका साथ सिंगापूरका लागि नेपाली राजदूत महामहिम डा. खगनाथ अधिकारी तथा परराष्ट्र मन्त्रालयका सहसचिव श्री दुर्गा प्रसाद भण्डारीको पनि उपस्थिती रहेको थियो ।

माननीय परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले आजै साँझ नेपाली राजदूतावास, बैंकक तथा सिंगापूरस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासद्वारा संयुक्त रुपमा आयोजना हुने नेपालमा व्यापार, पर्यटन तथा लगानी प्रबर्द्धन बिषयक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

नेपाली राजदूतावास

बैंकक

४ मे २०१७