Press Release Issued by Nepali Embassy, Germany Regarding IWD 2019

प्रेस विज्ञप्ति
अन्तर्राष्ट्रिय नारी दिवस समारोह बारे ।

अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा मार्च ८, २०१९ का दिन नेपाली राजदूतावास, बर्लिनले जर्मनीमा बसोबास गरिरहेका अध्ययन, विभिन्न पेशा र व्यवसायमा संलग्न नेपाली नारीहरुको सम्मानमा एक स्वागत समारोहको आयोजना गरेको थियो ।

जर्मनीमा रहेका नेपाली नारी समुदायलाई एउटै मंचमा ल्याएर बर्लिनमा पहिलो पटक आयोजना गरिएको कार्यक्रमको सभापतित्व जर्मनीका लागि नेपाली राजदूत महामहिम श्री रमेश प्रसाद खनालले गर्नु भएको थियो ।

नेपाली  राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत श्री खनालले नेपालमा जारी भएको नयां संविधान र नेपाली नारीहरुको हकहतको संरक्षणका निम्ति नेपाल सरकारबाट भैरहेका सकारात्मक पहलहरु बारे जानकारी गराउनु भएको थियो। साथै, वहांले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई अत्यधिक रुपमा सफल पार्न जर्मनीमा रहेका नेपाली दिदिबहिनीहरुको ठूलो भूमिका रहने भएकोले दूतावास वहांहरुसंग सहकार्य गर्न तयार रहेको जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि श्रीमती सुष्मा खनालले नेपाली नारीहरुले हालसम्म प्राप्त उपलब्धिहरुको जगेर्ना गर्दै थप उपलब्धिहरुको निमित्त एक जु६ भै अगाडि बढ्न आव्हान गर्नु भएको थियो ।

सो अवसरमा नेपाली राजदूतावासका उपनियोग प्रमुख श्री विशाल भट्टराईले अन्तर्राष्ट्रिय नारी दिवसको ईतिहास, नेपालमा नारी सशक्तिकरणको वर्तमान स्थिति र हालसम्म प्राप्त उपलब्धि र चुनौतीहरु बारे प्रस्तुति पेश गर्नुभएको थियो ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ, जर्मनीका उपसभापति श्रीमती किरण सिग्देलले नारी दिवसको महत्व बारे आफ्नो विचार व्यक्त गर्नुभएको थियो । त्यसै गरी एन.आर.एन.ए.का संरक्षक श्रीमती उषा शर्माले नेपाली नारीहरुको सशक्तिकरण अभियानमा थप प्रयास जारी नै राख्नु पर्ने र नारीहरु आफ्ना हक अधिकार बारे सचेत हुन आवश्यक रहेको राय व्यक्त गर्नु भएको थियो ।

बर्लिनमा नेपाली सांस्कृतिक शैक्षिक क्षेत्रमा सक्रिय श्रीमती लक्ष्मी कुंवरले नेपालको विविधता झल्कने सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्न र त्यसको निमित्त नेपाली नारीहरुको सहयोगको निमित्त आव्हान गर्नु भएको थियो । साथै, नेपाली भाषा र संस्कृति जोगाउने उद्धेश्यका साथ बर्लिनमा हालै संचालनमा ल्याईएको नेपाली भाषा तथा नृत्य कक्षा बारे जानकारी दिनुभएको थियो।

सो समारोहमा नेपाली नारीहरुको संघर्षको प्रेरणादायी भिडियो प्रदर्शनी तथा नेपाली सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

नेपाली राजदूतावास,
बर्लिन, जर्मनी
मार्च ८, २०१९