Press release on Economic Diplomacy Program.

प्रेस विज्ञप्ति

“नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान” बिषयमा नेपाली राजदूतावास, कुवेत तथा कुवेतका रोजगारदाता कम्पनीहरूबीच हिजो क्राउन प्लाजा होटेलमा एउटा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । उक्त अन्तर्क्रिया कार्यक्रममा कुवेतका प्रमुख रोजगारदाता कम्पनीका उच्च तहका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । अन्तर्क्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

अन्तर्क्रिया कार्यक्रममा कुवेतका लागि नेपाली राजदूत महामहिम श्री यज्ञबहादुर हमालज्यूले नेपाल तथा कुवेत बीचको मैत्रीपूर्ण सम्बन्ध तथा नेपाली नागरिकहरूको दक्षता एवं कर्मशीलताको बारेमा उल्लेख गर्दै नेपालका दक्ष एवं अर्धदक्ष लगायतका जनशक्तिका लागि रोजगारीका अवसरहरू बृदि गरिदिन कुवेतका रोजगारदाता कम्पनीहरूलार्इ आग्रह गर्नु भयो । सो समयमा उहांले नेपाली श्रमिकहरूका लागि कुनै पनि प्रकारका समस्या सृजना हुन नदिन निरोधात्मक (Preventive) उपायमा जोड दिन र त्यसरी प्रयास गर्दा पनि कुनै समस्या उत्पन्न भएमा प्रभावकारी उपचारात्मक (Curative) कार्यव्दारा समस्या समाधान गरी उनीहरूको रोजगारीलार्इ समस्यारहित एवं उपलव्धिमूलक बनाउनका लागि आवश्यक सहयोग प्रदान गर्न समेत रोजगारदाताहरूलार्इ आग्रह गर्नुभयो ।

अन्तर्क्रिया कार्यक्रममा राजदूतावासका व्दितीय सचिव श्री ज्ञानबहादुर मगरले “नेपाली श्रमिकका समस्याहरू एवं तिनको समाधान” बिषयमा र श्रम सहचारी श्री ज्ञानेन्द्र शर्माले “नेपाली श्रमिकहरूका लागि थप रोजगारीको सम्भाव्यता” बिषयमा विस्तृत रूपमा प्रस्तुती (Power Point Presentation) गर्नु भएको थियो भने कार्यक्रमको संचालन एवं सहभागीहरूलार्इ स्वागत तथा धन्यवाद ज्ञापन प्रथम सचिव श्री भोगेन्द्र लिङ्देनले गर्नु भएको थियो । तत्पश्चात् सहभागीहरुका तर्फबाट विभिन्न प्रश्न एवं जिज्ञासाहरु राखिएको थियो र राजदूतावासका कर्मचारीहरुबाट त्यस बारेमा जवाफ एवं धारणा व्यक्त गरिएको थियो ।

उक्त कार्यक्रममा कुवेतका रोजगारदाता कम्पनीका प्रतिनिधिहरुले दक्ष एवं अर्धदक्ष लगायतका नेपाली श्रमिकहरुका लागि रोजगारीको अवसर बृददि गर्दै जाने प्रतिवद्दता व्यक्त गरेका थिए । साथै उनीहरूले नेपाली नागरिकहरुका लागि कुवेतमा रोजगारी प्रवर्दन गर्ने सिलसिलामा राजदूतावासबाट भएका पहलहरुको प्रसंशा समेत गरेका थिए ।

२०७४ साल फागुण ६ गते
(फेब्रुअरी १८, २०१८)