Press Release Regarding the 24 th Conference of Parties to The United Nations Framework Convention on Climate Change (UNFCCC) Katowice, Poland,

प्रेश विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने मुलुक भए पनि जलवायु परिवर्तनको दुष्प्रभावको मारमा निरन्तर परिरहेको बताउनु भएको छ | उहाँले उक्त कुरा विभिन्न मुलुकका राष्ट्राधक्ष्य, सरकार प्रमुखहरु सम्मिलित जलवायु परिवर्तन सम्बन्धि महासन्धिको २४ औं सम्मेलनलाई पोल्याण्डको क्यातोविचमा आज सम्वोधन गर्दै बताउनु भएको हो |

जलवायु परिवर्तनबाट नेपालका हिमशिखर पग्लिने, नदीका जलाधार प्रणाली प्रभावित हुने, हिमपहिरो, बाढी, पहिरो र खडेरीका घटनाबाट प्राकृतिक स्रोतमा नकारात्मक प्रभाव परेको बताउदै सम्माननीय राष्ट्रपतिले हाम्रो राष्ट्रिय आयको ठूलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चिनु परेको उल्लेख गर्नु भयो |

यस्ता घटनाहरूको प्रत्यक्ष असर महिला र विपन्न वर्गमा झन बढी पर्ने गरेको कुरामा राष्ट्रपतिले जोड दिनु भयो | नेपाल जस्ता मुलुकले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको बताउदै निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष उहाँले आव्हान गर्नु भयो |

सम्माननीय राष्ट्रपतिज्यूले हालै सार्वजनिक गरिएको IPCC को विशेष प्रतिवेदनले तय गरेको १.५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सिमित गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्नु भयो |

नेपालमा पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्न, जलवायु परिवर्तन नीति र जलवायु परिवर्तनमा राष्ट्रिय योगदान (NDC) लाई पुनरावलोकन गरी समय सापेक्ष बनाउनेतिनको कार्यान्वयनका लागि दीर्घकालिन रणनीति तयार भई रहेको बताउदै नेपालले अपनाई आएको अनुकुलन र न्यूनीकरण (adaptation and mitigation) सम्वन्धि विभिन्न कार्यहरुबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउनु भयो |

उहाँले जलवायु परिवर्तन सम्वन्धि समस्यासँग मुकाविला गर्न नेपाल जस्ता अति कम विकसित मुलुकहरुलाई ज्ञान, सिप, प्रविधि र वित्तीय सहयोग (climate finance) को आवश्यकतामा जोड दिनु भयो |

स्वच्छ र सुरक्षित प्राकृतिक वातावरणमा बाँच्न पाउने हामी र हाम्रा सन्ततिको अधिकार रक्षा गर्नु सामुहिक दायित्व भएको उल्लेख गर्दै पेरिस सम्झौता कार्यान्वयनमा नेपालको प्रतिवद्धता दोहोराउनु भयो |

सम्माननीय राष्ट्रपतिज्युले गर्नु भएको सम्वोधनको पूर्ण पाठ संलग्न छ |

परराष्ट्र मन्त्रालय

काठमान्डौ

२०७५/०८/ १७