प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरूको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरू गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको सातौं बैठक आज मिति २०७८/५/६ मा बसी त्यहाँबाट उद्दार गर्न बांकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरुसंगको समन्वय, उद्दार पछीको स्वदेश फिर्ति आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा  छलफल भयो।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गर्नुभएको छ।

उद्धारको लागि सूचीकृत हुनुभएका मध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्दार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नु भएकाहरूको विवरण रुजु गरी उद्धार हुन बाँकी व्यक्तिहरूको विवरण स्थानगत रूपमा समेत अद्यावधिक गरी उद्धारका लागि हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ। काबुलमा नागरिक उड्डयान सेवाको हवाई जहाजको आगमन अवतरण खुली सकेको अवस्था छैन।

उल्लिखित सूचीमा समावेस भएका नेपालीहरूसँग परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग तथा नेपाली राजदूतावास, नयाँदिल्लीबाट समेत सम्पर्क भैरहेको छ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०६