प्रेस विज्ञप्ति

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हिजो राति फ्लाई दुवईको उडानबाट ३९ जना, आज टर्किस एयरबाट ७ जना तथा  कतार एयरको उडानबाट १०४ जना गरी जम्मा १४९ जना स्वदेश फर्कनु भएको छ। हालसम्म कूल ६५४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहनुभएका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको छ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज साँझ ५ बजेसम्म ३६१ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गर्नुभएको छ। हालसम्म सम्पर्कमा आउनु भएका मध्ये दूई जनाको राहदानी नभएको जानकारी प्राप्त भएकोले यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको छ।

काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुली नसकेको हुँदा बाँकी नेपालीहरूको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भैरहेको छ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरू +९७७ ९७४९३२६४५८ (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

साथै, नाम टिपाउनु भएका मध्ये उद्धार भई सुरक्षित गन्तव्यमा पुगेपछी सो को जानकारी माथी उल्लेखित फोन नम्बरहरु, WhatsApp, Viber  वा अनलाइन पोर्टलबाट गराई दिनहुन समेत अनुरोध गरिन्छ ।

अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धारका लागि गठित अन्तर निकाय कार्यदलको आठौं बैठक आज मिति २०७८/५/७ मा बसी त्यहाँबाट उद्दार गर्न बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँको समन्वय, उद्धार पछीको स्वदेश फिर्ति आदिको व्यवस्था बारे छलफल गरी सम्बन्धित सबै विन्दुहरूमा परराष्ट्र मन्त्रालय तथा नेपाली नियोगहरूमार्फत आवश्यक समन्वय र सहजीकरण भैरहेको छ।

परराष्‍ट्र मन्त्रालय
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०७