Press Note on the State visit of the Rt. Hon. President to Bangladesh

बंगलादेशको राजकीय भ्रमण (२०७७ चैत्र ९-१०) सम्पन्‍न गरी स्वदेश फर्कनुहुँदा सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको तर्फबाट माननीय परराष्‍ट्र मन्त्रीज्यूद्वारा त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलमा जारी प्रेस नोट

१. बंगलादेशका महामहिम राष्‍ट्रपति मोहम्‍मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा बंगलादेशका राष्‍ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने सिलसिलामा सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू २०७७ साल चैत्र ९ गतेदेखि १० गते सम्म बंगलादेशको राजकीय भ्रमण सम्पन्‍न गरेर आज स्वदेश फर्कनु भएको छ ।

२. राजकीय भ्रमणको पहिलो दिन सम्माननीय राष्‍ट्रपतिज्यूले हिजो बंगलादेशको सावरस्थित राष्‍ट्रिय शहीद स्मारकको भ्रमण गर्नुभई बंगलादेशका शहिदहरूप्रति श्रद्धाञ्‍जली अर्पण गर्नुभयो ।

३. हिजो सम्माननीय राष्‍ट्रपतिज्यूको समुपस्थितिमा ढाकाको National Parade Ground मा बंगबन्धुको जन्म शतवार्षिकी कार्यक्रम एक भव्य समारोहबीच सम्पन्‍न भएको थियो । सो समारोहमा बंगलादेशका राष्‍ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू एवम् विशिष्‍ठ व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो ।

४. सम्माननीय राष्‍ट्रपतिज्यूले बंगबन्धुको जन्म शतवार्षिकी कार्यक्रममा “नेपाल-बंगलादेश सम्बन्ध एवम् बंगबन्‍धुको जन्म शतवार्षिकी” शीर्षकमा मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा उहाँले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।साथै, उहाँले बंगबन्धुको व्यक्तित्वको बारेमा समेत चर्चा गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपालको साँस्कृतिक टोलीद्वारा नेपाली संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

५. सम्माननीय राष्‍ट्रपतिज्यूले बंगलादेशका राष्‍ट्रपतिसँग ढाकामा हिजो द्विपक्षीय वार्ता गर्नुभएको थियो । सो वार्ताको क्रममा उहाँहरूबीच नेपाल तथा बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ एवम् फलदायी बनाउने सन्दर्भमा द्विपक्षीय हितका सबै पक्षहरूमा छलफल एवम् विचारको आदानप्रदान भयो । साथै, दुई देशबीचको राजनीतिक सम्बन्धलाई सुढृढ गर्दै आर्थिक सम्बन्धलाई अझ गहिरो एवम् फलदायी बनाउँदै लैजाने कुरामा सहमति भएको थियो ।

६. त्यसका अतिरिक्त ऊर्जा व्यापारको लागि द्विपक्षीय सहकार्यलाई अघि बढाउने, द्विपक्षीय व्यापारको प्रबर्द्धन गर्ने र व्यापारलाई सन्तुलित बनाउने, बंगलादेशले नेपाललाई सरल एवम् सहज ढङ्गबाट पारवहन सेवा उपलब्ध गराउने, कृषि, संस्कृति, पर्यटन लगायतका क्षेत्रहरूको विकासको लागि दुवै देशको सम्भाव्यतालाई आपसी सहकार्यको माध्यमबाट समेत उच्चतम उपयोग गर्ने जस्ता विषयहरूमा छलफल भएको छ ।

७. सम्माननीय राष्ट्रपतिज्यू तथा बंगलादेशका प्रधानमन्त्री महामहिम शेख हसिना बीचको भेटघाटको अवसरमा नेपालको जलविद्युत बंगलादेशमा निर्यात गर्ने, दुवै देशबीचको व्यापारमा वृद्धि एवम् सन्तुलन कायम गर्ने, हवाई सेवाको विस्तार, रेलसेवा तथा सडकमार्गको सुधार एवम् अन्तर्देशीय जलमार्गको संचालन जस्ता सम्पर्क संजालहरूको विकास गर्ने, नेपालको लागि बंगलादेशबाट थप पारवहनको सुविधा उपलब्ध गराउने, शिक्षा एवम् कृषि क्षेत्रमा सहकार्य वृद्धि गर्ने तथा जलवायू परिवर्तन जस्ता समसामयिक र ज्वलन्त विषयमा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मञ्‍चहरूमा एकापसमा सहयोग, अभिवृद्धि र सहकार्य गर्ने लगायतका विविध विषयहरूमा छलफल भएको थियो ।

८. साथै, बंगलादेशका परराष्‍ट्र मन्त्री महामहिम डा. ए. के. अब्दुल मोमेनले पनि हिजो दिउँसो सम्माननीय राष्‍ट्रपतिज्यूसँग शिष्‍टाचार भेटवार्ता गर्नुभएको थियो । सो समयमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो ।

९. भ्रमणको अवसरमा नेपाल र बंगलादेशबीच ४ वटा Memorandum of Understanding/ Letters of Exchange मा हस्ताक्षर भएको छः
• MoU on Tourism Cooperation
• MoU on Strengthening Sanitary and Phytosanitary (SPS) Cooperation
• Cultural Exchange Programme for 2022-2025
• Exchange of Letters on designation of Rohanpur-Singhabad railway route as an additional transit route for movement of traffic-in-transit between Nepal and Bangladesh and also for third country transit trade

१०. सम्माननीय राष्‍ट्रपतिज्यू हिजो साँझ उहाँको सम्मानमा बंगलादेशका राष्‍ट्रपतिबाट आयोजित राजकीय भोजमा सरिक हुनुभयो ।

११. यसैगरी आज बिहान सम्माननीय राष्‍ट्रपतिज्यूले Bangabandhu Memorial Museum को भ्रमण गर्नुभयो र बंगलादेशका राष्‍ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानप्रति श्रद्धान्जली व्यक्त गर्नुभयो ।

१२. सम्माननीय राष्‍ट्रपतिज्यूले आजै ढाकास्थित नेपाली राजदूतावासको भ्रमण गर्नुभयो । उक्त भ्रमणको अवसरमा उहाँले बंगलादेशमा रहेका नेपाली नागरिकहरूसँग भेटघाट गर्नुभयो।

१३. सम्माननीय राष्‍ट्रपतिज्यूको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा म लगायत परराष्‍ट्र मन्त्रालय, राष्‍ट्रपतिको कार्यालय एवम् सम्बन्धित अन्य मन्त्रालयका अधिकारीहरु सामेल हुनुहुन्थ्यो । साथै, उहाँको भ्रमणदलमा एक नेपाली सांस्कृतिक टोली समेत सहभागी रहेको थियो ।

१४. समग्रमा सम्माननीय राष्‍ट्रपतिज्यूको बंगलादेशको भ्रमण फलदायी रह्‍यो । यो भ्रमणले नेपाल तथा बंगलादेशबीचको द्विपक्षीय सम्बन्धलाई थप उचाईमा पुर्‍याउन मद्दत पुगेको छ।

१५. सम्माननीय राष्‍ट्रपतिज्यूको राजकीय भ्रमणको लागि मिलाइएको उत्कृष्‍ट प्रबन्ध तथा प्रदान गरिएको आतिथ्यताको लागि सम्माननीय राष्‍ट्रपतिज्यूको तर्फबाट म बंगलादेश सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। साथै, भ्रमणका बारेमा सूचना सम्प्रेषित गर्नुहुने संचार माध्यमहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।

***