Nepali translation of the press release on the meeting between the Foreign Minister of Nepal and US Secretary of State

प्रेस विज्ञप्ति

नेपाल र संयुक्त राज्य अमेरिका दुई देशबीचको सात दशक लामो सहकार्य तथा साझेदारीलाई अझ फराकिलो र घनिष्ठ बनाउन सहमत भएका छन् ।

परराष्ट्रमन्त्री माननीय श्री प्रदीप कुमार ज्ञवाली र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री महामहिम माइकल रिचार्ड पम्पेओबीच आज अपरान्ह वासिङ्गटन डि.सी.स्थित स्टेट डिपार्टमेन्टमा फलदायी द्विपक्षीय भेटवार्ता सम्पन्न भयो।

उक्त भेटवार्ताको अवसरमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विविध आयामहरूमा छलफल भयो। परराष्ट्रमन्त्री श्री ज्ञवालीले नेपाल सरकारका प्राथमिकताहरू माथि प्रकाश पार्नु भयो। सो अवसरमा उच्च स्तरीय भ्रमणहरूको आदान प्रदानको माध्यमबाट राजनैतिक सम्बन्धलाई बढावा दिने तथा व्यापार, लगानी र विकास सहायता जस्ता आर्थिक सहयोगको क्षेत्र अभिबृद्धि गर्ने विषयमा विचारहरूको आदान प्रदान भयो। त्यसैगरी उहाँहरूले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट परियोजनाको शिघ्र कार्यान्वयन तथा यसका फाइदाबारे चर्चा गर्नुभयो।

यस अघि परराष्ट्र सचिव श्री शंकरदास बैरागी र Acting Assistant Secretary Ambassador Ms. Alice G. Wells ले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलबीच नेपाल-संयुक्त राज्य अमेरिका राजनीतिक परामर्श बैठक सम्पन्न भयो। उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकता, द्विपक्षीय सम्झौताको कायान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट परियोजनाको प्रगति, नेपालको शान्ति प्रक्रिया, विकास सहायता, व्यापार, लगानीका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयहरूमा छलफल भयो।

विदेशमन्त्री श्री पम्पेओसंग द्विपक्षीय भेटवार्ताका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माननीय मन्त्री श्री ज्ञवाली हिजो वासिङ्गटन डि.सी. आइपुग्नु भएको थियो। यो भ्रमण विगत केही वर्षहरूमा दुइ देशबीचमा सम्पन्न भएको पहिलो मन्त्रीस्तरीय भ्रमण हो।

उक्त नेपाली प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत महामहिम डा. अर्जुनकुमार कार्की, अर्थमन्त्रालयका सहसचिव श्री श्रीकृष्ण नेपाल, गृह मन्त्रालयका सहसचिव श्री महादेव पन्थका साथै परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास वासिङ्गटन डि.सी.का पदाधिकारीहरू सम्मिलित हुनु हुन्छ।

त्यसैगरी अमेरिकी प्रतिनिधिमण्डलमा नेपालका लागि अमेरिकी राजदूत महामहिम Randy Berry का साथै State Department, USAID, Department of Commerce र Office of Assistant Secretary Defense का उच्च पदाधिकारीहरू सम्मिलित हुनुहुन्थ्यो।

माननीय मन्त्री श्री ज्ञवालीले भोली MCC का Chief Operating Officer तथा Office of Secretary of Defense र National Security Council का उच्च पदाधिकारीहरूसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाली राजदूतावास, वासिङ्गटन डि.सी.
१८ डिसेम्बर २०१८