Nepal National Day was celebrated at the International Horticultural Expo in Beijing

प्रेस विज्ञप्ति

बेइजिङमा आयोजना भइरहेको अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ (International Horticultural Expo 2019, Beijing Expo 2019) मा आज नेपाल राष्ट्रिय दिवस मनाइयो । सो कार्यक्रमको आयोजना नेपाली राजदूतावास बेइजिङ, अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी २०१९ आयोजक समिति तथा नेपालको Implementing Expert Group (IEG) को संयुक्त तत्वावधानमा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै चीनका लागि नेपाली राजदूत महामहिम लीलामणि पौड्यालले पृथ्वीको कुल भूभागमध्ये सानो अंशमात्र ओगट्ने भएपनि नेपालमा जैविक विविधताको विपुल सम्पदा रहेको उल्लेख गर्दे यस प्रदर्शनीस्थलमा नेपालको सहभागिताको विशेष महत्त्व रहेको बताउनुभयो । राजदूत श्री पौड्यालले नेपालको अनुपम साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विशेषताको चर्चा गर्दै आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमण गर्न चिनियाँ जनतालाई आमन्त्रण गर्नुभयो ।

अन्तर्राष्ट्रिय वागवानी प्रदर्शनी बेइजिङ २०१९ का प्रमुख इन्जिनियर Zhang Lannian ले यस विश्वकै हालसम्मको विशालतम वागवानी प्रदर्शनीमा लुम्बिनी शान्ति बाटिका नामक नेपाल पभिलियनको विशेष स्थान रहेको उल्लेख गर्दै यस प्रदर्शनी अवधिभरि नेपालको सक्रिय सहभागिताको सराहना गर्नुभयो ।

प्रदर्शनीका आयोजक एवम् विभिन्न देशका प्रदर्शकहरु, विदेशी कूटनीतिक प्रतिनिधिहरु, बेइजिङस्थित नेपाली समुदाय तथा चिनियाँ सर्वसाधारण सहित् २५० सय जना भन्दा बढी सहभागी रहेको सो कार्यक्रममा कुमारी स्वागत नृत्यका साथै विविध नेपाली नृत्यसहितको साँस्कृतिक कार्यक्रम एवम् नेपाली खानाको व्यवस्था गरिएको थियो ।

प्रदर्शनीस्थलमा रहेको लुम्बिनी शान्ति बाटिका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले २८ अप्रिल २०१९ मा उद्घाटन गर्नुभएको थियो । सो प्रदर्शनी अक्टोबर २०१९ सम्म जारी रहनेछ ।

५ असोज २०७६ (तदनुसार २२ सेप्टेम्बर २०१९)
नेपाली राजदूतावास
बेइजिङ