प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

 

सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीहरुको सकुशल उद्धार तथा घर फिर्तीका लागि नेपाल सरकारको निरन्तर प्रयास जारी छ। यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ (एकतिस) जना नेपालीमध्ये पोर्ट सुडान पुगेका उन्नाइस (१९) जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट ३० अप्रिल २०२३ मा जेद्दा शहर पुर्याइएको छ।

जेद्दा पुगेका उन्नाइस (१९) जनामध्ये छ (६) जना नेपाली नागरिकहरु २ मे २०२३ मा रोजगारदाता कम्पनीको प्रबन्धमा दुवईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन्। नेपाल फर्कन प्रतिक्षारत तेह्र (१३) जना नेपाली नागरिकहरुमध्ये आठ (८) जना आज ३ मे २०२३ को एअर अरवियाको उडानबाट काठमाण्डौ आइपुग्ने र बाँकी पाँच (५) जना भोलि ४ मे २०२३ मा जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भईरहेको छ।

नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी एघार (११) जना मध्ये छ (६) जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने  प्रयास जारीरहेको छ । बाँकि तीन (३) जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षित रुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु  दुई (२) जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सीमानास्थित सुरक्षित स्थानमा राखेको छ।

 

परराष्ट्र मन्त्रालय
सिंहदरबार, काठमाडौं
मितिः २०८०/०१/२०