प्रेस विज्ञप्ति

अफगानिस्तानमा विकसित पछिल्लो घट्नाक्रमका कारण त्यहाँ रोजगारीको सिलसिलामा रहेका नेपालीहरुको अवस्था यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्न यस मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा गठित कार्यदलको तेस्रो बैठक आज मिति २०७८/५/२ मा बस्यो।

मित्रराष्ट्रहरुसंगको निरन्तर प्रयास र समन्वयमा हिजो मिति २०७८/०५/०१ विहान ११८ जना र राति ८४ जना तथा आज मिति २०७८/०५/०२ विहान ६१ जना र अपरान्ह २५ जना समेत गरी  हालसम्म कूल २८८ जना नेपाली नागरिकहरू अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ।

आगमन पश्चात अध्यागमन लगायतका आवश्यक प्रक्रिया पूरा गरी सिसिएमसीको समन्वयमा उहाँहरूलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृयामा हुनुहुन्छ ।

कन्सुलर सेवा विभागको वेव पोर्टलमा आज सांझ ५ बजेसम्म २९६ जना नेपालीहरुले आफ्नो विवरण दर्ता गर्नुभएको छ। दर्ता भएकाहरू मध्ये १६ जना नेपाली नागरिकहरू उद्धार भई नेपाल आइसक्नुभएको छ।

अफगानिस्तानमा नै रहनुभएका र आफ्नो नाम दर्ता नगराउनु भएकाहरूले आफै वा परिवारजनले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/  अनलाईन पोर्टलमा रहेको नाम सहितको विवरण दर्ता गर्न तथा Viber र WhatsApp सुविधा सहितको मोवाइल नम्वरहरु +९७७ ९७४९३२६४५८  (कन्सुलर सेवा विभाग), +९७७ ९७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय), +९७७ ९८४१ ७९२७७४ (Situation Room, परराष्ट्र मन्त्रालय) र +९१ ८९२९६०१९२५ (नेपाली राजदूतावास, नयाँ दिल्ली) प्रयोग गरी विवरण टिपाउन पुनः अनुरोध गरिन्छ।

अफगानिस्तानमा उद्धारको पर्खाईमा रहनुभएका नेपालीहरूले काबुलमा रहनुभएका श्री सुरेश चन्द्र शर्मा (Viber र WhatsApp सुविधा सहितको मोवाईल नं. ‌+९३७८७८४५९९४) लाई सम्पर्क गरी आफ्नो विवरण उपलब्ध गराइदिनुहुन समेत अनुरोध गरिन्छ।

परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखा अन्तर्गत नायव शिष्टाचार महापालको नेतृत्वमा रहेको Situation Room मा तोकिएका मोवाइल नम्वर तथा ईमेल ठेगानामा आज साँझ ५ बजेसम्म १४ जना नेपालीहरूले आफ्नो नामसहितको विवरण दर्ता गराउनुभएको छ।

 

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबारकाठमाडौँ।
२०७८/०५/०२