माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० चैत्र १९ मा जारी गर्नुभएको प्रेस नोट

माननीय उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्री नारायणकाजी श्रेष्ठले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरी स्वदेश फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० चैत्र १९ मा जारी गर्नुभएको प्रेस नोट

सञ्चारकर्मी मित्रहरू,

१. Political Bureau of the Communist Party of China (CPC) Central Committee का सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यी (Wang Yi) को निमन्त्रणामा यही चैत्र ११ देखि १९ गतेसम्म तदनुसार २४ मार्चदेखि १ अप्रिल २०२४ सम्म मैले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मित्र राष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु।

२. यस भ्रमण कार्यक्रमका सम्बन्धमा परराष्ट्र मन्त्रालय र चीनस्थित नेपाली नियोगहरूबाट जारी प्रेस विज्ञप्तिहरूमार्फत तपाईंहरूले जानकारी प्राप्त गरिरहनुभएकै छ। आज म यस भ्रमणका बारेमा संक्षिप्तमा जानकारी गराउन चाहन्छु।

३. यस भ्रमणले नेपाल र चीन बीचको आपसी सद्‍भाव, सम्मान र विश्‍वासलाई थप सुदृढ बनाउन तथा दुई मुलुकबीच विद्यमान ऐतिहासिक मित्रवत्स म्बन्धलाई अझ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको विश्‍वास लिएको छु।
भ्रमणका क्रममा National Committee of the Chinese People’s Political Consultative Conference (CPPCC) का अध्यक्ष महामहिम वाङ हुनिङ (H.E. Mr. Wang Huning) तथा Political Bureau of the Communist Party of China (CPC) Central Committee का   सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यी (H.E. Mr. Wang Yi) सँग द्विपक्षीय हितका विविध बिषयहरूमा छलफल भएको छ।साथै, चिनियाँ कम्युनिष्ट पार्टी, छोङछिङ नगर समितिका सचिव महामहिम युआन जियाजुन (H.E. Mr. Yuan Jiajun), चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वायत्त क्षेत्रका सचिव महामहिम वाङ जुनछेङ (H.E. Mr. Wang Junzheng), सिचुवान प्रान्तका गभर्नर (Governor of the People’s Government of Sichuan Province ) महामहिम हुवाङ्ग छियाङ्ग ( H.E. Mr. Huang Qiang ) र   चिनियाँ कम्युनिष्ट पार्टी  अन्तर्राष्ट्रिय विभागकी Vice Minister महामहिम सुन हायान (H.E. Ms. Sun Haiyan) सँग भेटघाट गरी नेपाल-चीन सम्बन्धका विविध  आयामहरूमा छलफल गरेको छु।

४. मेरो चीन भ्रमणको क्रममा भएका केही महत्त्वपूर्ण उपलब्धिहरूलाई तपाईंहरूसमक्ष राख्न चाहन्छु-

  1. रसुवागढी-केरुङ, तातोपानी-झाङ्‌मु, यारी-पुरान तथा नेचुङ-लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेका छन्। कोभिड महामारीका कारण बन्द भएका नेपाल-चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ। यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने  अपेक्षा गरेको छु।
  2. नेपाल-चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग (Joint Commission at the level of Foreign Minister)  गठन गर्न दुबै पक्ष सकारात्मक भएका छन्।
  3. बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन योजना (BRI Implementation Plan) लाई अन्तिम रूप दिई कार्यान्वयन गर्ने बारे छलफल भएको छ।
  4. नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकहरूलाई नेपालले सन् २०१६ देखि नै निःशुल्क भिसा उपलब्ध गराउँदै आएको छ। चीन भ्रमण गर्न चाहने नेपालीहरूलाई पनि चिनियाँ भिसा निःशुल्क उपलब्ध गराउन मैले अनुरोध गरेको छु। यसमा चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया दिएको छ।
  5. नेपालको महत्त्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रूपमा रहेको मित्र राष्ट्र चीनले नेपाललाई थप गुणात्मक सहयोग (enhanced level of cooperation) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
  6. नेपाल-चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्।
  7. सन् २०१२ मा नेपाल-चीनबीच हस्ताक्षर भएको Agreement on Trans-Frontier Pasturing by Border Inhabitants बमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ।
  8. नेपालको काठमाडौं र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बस सेवा (Direct bus  service) पुनः सुचारु गर्न दुवै पक्ष सकारात्मक भएका छन्।
  9. Cooked buffalo meat, haylage (घाँस), plant-based medicinal products, तरकारी तथा फलफूलहरू लगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न मैले चिनियाँ पक्षलाई अनुरोध गरेको छु। यसमा चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
  10. नेपाल-चीन सीमाका केही क्षेत्रमा Multi-functional lab स्थापना गर्न मैले गरेको अनुरोधलाई  चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको छ।
  11. नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको छ।
  12. नेपालको काठमाडौं र पोखरा तथा चीनका विभिन्न सहरबीच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन् । यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने देखिन्छ।
  13. आगामी २८-२९ अप्रिल २०२४ मा काठमाडौंमा आयोजना हुने तेस्रो नेपाल लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको छु। यसमा उच्चस्तरीय चिनियाँ नेतृत्वले उक्त सम्मेलनमा सहभागिताका लागि चिनियाँ लगानीकर्ताहरूलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छ। साथै, बेइजिङस्थित नेपाली राजदूतावासले २६ मार्च २०२४ मा आयोजना गरेको Pre-investment summit लाई समेत सम्बोधन गरी चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न अनुरोध गरेको छु।
  14. चीनमा नेपाल भ्रमण वर्ष २०२५ लाई सफलतापूर्वक मनाउन दुई देशका सम्बन्धित निकायहरूले मिलेर काम गर्ने सहमति भएको छ। यसबाट नेपालमा चिनियाँ पर्यटकहरू बढ्ने विश्वास लिएको छु।
  15. अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइन आदिको विस्तार गरी नेपाल-चीन बीचको connectivity लाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्।
  16. नेपालको ‍औद्योगीकरण गर्न, उत्पादनशीलता बढाउन र जनशक्ति विकास गर्न चीन र नेपालले संयुक्त रूपमा काम गर्ने बारेमा महत्त्वपूर्ण छलफल भएको छ। खास गरी चिनियाँ ज्ञान र प्रविधि नेपाल भित्र्याउन मैले विशेष अनुरोध गरेको छु।
  17. चीन भ्रमणको क्रममा मैले Huawei Beijing Research and Development Executives Exhibition Centre र छोङछिङ्गस्थित Seres Phoenix तथा International Logistics Hub को भ्रमण गरी चीनले खास गरी सूचना-प्रविधि क्षेत्र र औद्योगिकरणमा प्राप्त गरेको अभूतपूर्व सफलताको अवलोकन गरेँ।
  18. नेपाल-तिब्बत-छोङछिङ्ग-सिचुवानबीच Development Corridor बनाउने विषयमा पनि हामीबीच सकारात्मक छलफल भयो।
  19. खास गरी कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यन्वयन गर्दै जान दुवै पक्ष सहमत भएका छन्।५. Political Bureau of the Communist Party of China (CPC) Central Committee का सदस्य तथा जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्री महामहिम वाङ यी (Wang Yi) लाई मैले नेपाल भ्रमणका लागि आमन्त्रण गरेँ।महामहिम वाङ यीले यसै बर्ष उपयुक्त समयमा नेपाल भ्रमण गर्ने जानकारी गराउनुभएको छ।

    ६. भ्रमणका क्रममा मैले बेइजिङस्थित नेपाली राजदूतावास, छन्दु र ल्हासास्थित नेपाली महावाणिज्यदूतावासहरूको पनि भ्रमण गरेँ।

    ७. मेरो भ्रमण टोलीमा चीनका लागि नेपाली राजदूत म. म. श्री विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका सहसचिव श्री कृष्णप्रसाद ढकाल, ल्हासास्थित नेपाली महावाणिज्यदूत श्री नवराज ढकाल, छन्दुस्थित नेपाली महावाणिज्यदूत श्री सुरेश राउत, नेपाली राजदूतावास बेइजिङका नियोग उपप्रमुख श्री सुरेन्द्रकुमार यादवलगायत सहभागी हुनुहुनथ्यो।

    ८. मेरो यस भ्रमणले नेपाल र चीनबीचको आपसी बुझाइलाई थप गहिराइ र सम्मानलाई थप उचाइ प्रदान गरेको छ। आपसी सहयोग र सहकार्यका क्षेत्रहरूमा विस्तृत र स्पष्ट छलफल भएका छन्। यसले नेपाल र चीनबीच विद्यमान सदियौं पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत गरेको छ भन्नेमा म विश्वस्त छु।

    ९. मेरो चीन भ्रमणको समाचारलाई प्राथमिकताका साथ प्रचार-प्रसार गर्नुभएकोमा म सम्पूर्ण सञ्चारकर्मी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु।

 

चैत १९, २०८०

काठमाण्डौ।