प्रेस विज्ञप्ति

प्रेस विज्ञप्‍ती

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीका सिलसिलामा त्यहाँ रहेका नेपालीहरुको अवस्था वस्तुगत रुपमा यकिन गरी आवश्यक समन्वयका साथ उद्धारका कार्यहरु गर्नका लागि नेपाल सरकारका मुख्यसचिवको संयोजकत्वमा उहाँको कार्यकक्षमा भएको अन्तर-मन्त्रालय बैठकले यस मन्त्रालयका मध्य एसिया, पश्‍चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड-19 संकट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागबाट राजपत्राङ्‍कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका सदस्यहरु रहने गरी एक कार्यदल गठन गरिएको छ।

उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गर्न कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/ मा Online Registration Portal को व्यवस्था गरिएको छ। सो पोर्टलमा आफ्नो नामसहितको उल्लेख गर्नुपर्ने विवरण तत्काल भरी दर्ता गराउनुहुन सम्बन्धित व्यक्ति वा परिवारका सदस्यलाई आग्रह गरिन्छ।

उद्धारसँग सम्बन्धित सम्पर्कको लागि Viber र WhatsApp सुविधा सहितको मोबाइल नम्बरहरु +977-9749326458 (कन्सुलर सेवा विभाग) र +977-9749326459 (परराष्‍ट्र मन्त्रालय) को व्यवस्था गरिएको छ। आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा उक्त नम्बरहरु मार्फत सम्पर्क गर्न सकिने ब्यहोरा जानकारी गराइन्छ।

काबुलस्थित विभिन्‍न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तराष्‍ट्रिय संघ संस्थाहरुमा कार्यरत नेपालीहरुलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्‍न र स्वदेश फर्काउन नेपाल सरकारले मित्र राष्‍ट्रहरु संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, जर्मनी, युरोपियन युनियन, जापान तथा संयुक्त राष्‍ट्र संघको कार्यालयहरुलाई औपचारिक पत्राचार गरी अनुरोध गरिसकेको छ।

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट Travel Advisory जारी गरिएको छ। आवश्यक सहयोगका लागि दूतावासको निम्नलिखित फोन नम्बर र इमेलहरु मार्फत सम्पर्क गर्न सकिने छः-
Embassy of Nepal, New Delhi
Hotline: +91-8929601925 (also WhatsApp active)
Email: eonnewdelhi@mofa.gov.np
consularnepalembassy@gmail.com

अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीहरुले त्यहाँ कार्यरत नेपालीहरुको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्यांक तत्काल उपलब्ध गराउनुहुन आग्रह गरिएको छ।

परराष्‍ट्र मन्त्रालय,
सिंहदरबार, काठमाडौँ।
2078/04/31