नेपाल भ्रमण बर्ष -२०२०, युरोप उद्धघाटन कार्यक्रम

प्रेस विज्ञप्ति

नेपाल भ्रमण बर्ष -२०२०, युरोप उद्घघाटन कार्यक्रम

जर्मनीको राजधानी बर्लिनमा भव्यताका साथ मार्च ६, २०१९ देखि सुरू भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावासको संयुक्त पहलमा नेपालका ३५ टुर तथा ट्राभल व्यवसायी कम्पनिहरूले सक्रियतापूर्वक सहभागिता जनाइरहेका छन् ।

मार्च ६, २०१९ बिहान जर्मनी स्थित नेपाली राजदूत म. म. श्री रमेश प्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री दिपकराज जोशीले संयुक्त रूपमा नेपाल पेभेलियनको औपचारिक उद्घघाटन गर्नु भएको थियो ।

सोही साँझ नेपाली राजदूत निवासमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल विद्यार्थी समाज तथा नेपाली समुदायका वीच नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जर्मनीमा अयोजना गरिने नेपाल पर्यटन प्रबर्द्धन कार्यक्रमहरू बारे विस्तृत रूपमा छलफल गरिएको थियो ।

मार्च ७, २०१९ को साँझ बर्लिनको लोगेनहाउस हलमा एक भब्य समारोहका वीच नेपाली राजदूत म. म. श्री रमेश प्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री दिपकराज जोशीले संयुक्त रूपमा नेपाल भ्रमण बर्ष-२०१९, युरोप को शुभारम्भ गर्नु भएको थियो । उक्त अवसरमा जर्मनीका उच्च अधिकारीहरू, टुर तथा ट्राभल व्यवसायी, नेपाली समुदाय, कूटनैतिक समूदाय जर्मनी स्थित नेपालका मित्रहरू लगायत ३०० जना भन्दा बढीको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रममा श्रीलंकाका पर्यटन मन्त्री महामहिम Mr. John Amaratunga, जमैकाका पर्यटन मन्त्री महामहिम Mr. Edmund Bartlet तथा संयुक्त राष्ट्रसंघ World Tourism Organization का पूर्व महासचिव Dr. Taleb Rifai को उपस्थिति रहेको थियो।

गत मिति  फेब्रुअरी २७, २०१९  मा हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ढयन मन्त्री श्री रवीन्द्र प्रसाद अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी समवेदना व्यक्त गरीएको थियो ।

उक्त  कार्यक्रममा  Himalyan Trails  नामक पुस्तकका जर्मन लेखक Mr.Peter Heinz तथा २५ बर्ष सम्म निरन्तर  ITB मेलामा पर्यटन बोर्डलार्इ सहयोग गर्दै आउनु भएका जर्मनी स्थित अवैतनिक पर्यटन प्रतिनिधि श्री दिल गुरूङ्गलार्इ प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रमलार्इ सम्बोधन गर्दै नेपाली राजदूत म. म. श्री रमेश प्रसाद खनालले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्य अनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आव्हान गर्दै नेपाली राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरिने र सो मार्फत जर्मनी लगायत युरोपका अन्य देशहरूमा समेत नेपाली पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमहरू अयोजना गरिने जानकारी गराउनु भएको थियो । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री दिपकराज जोशीले नेपाल भ्रमण बर्ष २०२० का विभिन्न पक्षहरू बारे उल्लेख गर्नु हुँदै सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा स्वागत गर्न अवश्यक पर्ने पूर्वाधारहरूको विकास द्रुत गतिमा भैरहेको विषयमा जानकारी गराउनु भएको थियो।

कार्यक्रममा जमैकाका माननीय पर्यटन मन्त्रीले नेपाल जीवनमा कम्तिमा एक पटक भ्रमण गर्नै पर्ने मुलुक रहेको र नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्ति र पुर्नउत्थानशिलताको प्रशंसा गर्नु हुदै अगामी मे, २०१९ मा नेपालमा हुने पहिलो World Tourism Resilience Summit बारे उल्लेख गर्नु भएको थियो ।

संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व महासचिवले कार्यक्रमलार्इ सम्बेधन गर्नु हुँदै  नेपालको पर्यटन व्यवसायको भविष्य उज्वल रहेको र जीवनमा एक अलौकिक आनन्द प्राप्त गर्ने हो भने कम्तिमा एक पटक नेपालको भ्रमण गर्नका निमित्त उपस्थित सबैमा आव्हान गर्न’भएको थियो ।

कार्यक्रममा लेखक Mr.Peter Heinz, पर्यटन बोर्डका  बरिष्ठ निर्देशक श्रीमती नन्दिनी लाहे थापा, पर्यटन प्रतिनिधि श्री दिल गुरूङ्ग तथा गैर आवासीय नेपाली संगठन जर्मनीका तर्फबाट श्री हरि न्यौपानेले नेपाल भ्रमण बर्ष २०२० लार्इ सफल पार्ने सम्बन्धमा आ-आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपालको पर्यटन सम्बन्धि एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

नेपाली राजदूतावास,
बर्लिन, जर्मनी
मार्च ८,२०१९