सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू COP 26 को World Leaders Summit मा सहभागी भई स्वदेश फर्कनु हुँदा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुबीच सम्प्रेषण गरिएको प्रेस नोट

उपस्थित संचारकर्मी मित्रहरु

नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा भएको United Nations Framework Convention on Climate Change को 26th Conference  of the Parties (COP 26) को World Leaders Summit मा भाग लिएर सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यू आज स्वदेश फर्कनु भएको छ।

सम्माननीय प्रधानमन्त्रीज्यूले नोभेम्बर १ मा World Leaders Summit लाई सम्बोधन गर्दै पर्वतीय क्षेत्रको पर्यावरणीय जोखिम र संवेदनशीलतालाई विश्व जगतले बुझिदिनुपर्ने बताउनुभयो उहाँले विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै विकसित मुलुक पनि सम्झौता कार्यान्वयनका लागि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो।हिमाल र पर्वतीय क्षेत्रमा पर्ने असरले समुद्र नजिकका सबै राष्ट्रलाई प्रभावित पार्ने कुरालाई गम्भीरताका साथ लिनुपर्नेमा उहाँले जोड दिनुभयो।सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले सन् २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको बताउदै आफ्नो अर्थतन्त्रको हरेक क्षेत्रलाई कार्बनरहित बनाउने महत्वाकांक्षी राष्ट्रिय निर्धारित योगदान (एनडीसी) पेश गरेको जानकारी विश्व समुदायसमक्ष राख्नु भयो।नेपालले नविकरणीय उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै शून्य उत्सर्जनको दिशातर्फ अगाडि बढ्न स्वच्छ उर्जा विकासको अभियानलाई प्रााथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।त्यसका लागि जलवायु वित्त र प्रविधि हस्तान्तरणमा नेपाल जस्ता मुलुकको सहज र सरल पहुँच हुनुपर्ने विषयमा जोड दिनु भयो।

COP26 को World Leaders Summit को क्रममा १ नोभेम्बरमा बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री आना मारी ट्रेवलिन र परराष्ट्र राज्यमन्त्री लर्ड अहमदले सम्माननीय प्रधानमन्त्रीज्यूसँग शिष्टाचार भेट गर्नुभएको थियो।सम्माननीय प्रधानमन्त्रीज्यू सोही दिन साँझ संयुक्त अधिराज्यका महामहिम प्रधानमन्त्री श्री बोरिस जोन्सनले आयोजना गर्नुभएको रात्रीभोजमा सरिक हुनुभयो।

नोभेम्बर २ मा High-level Event on Forest and Land Use मा एक विशिष्ट प्यानेलिष्टको रुपमा सम्बोधन गर्दै नेपालको वन, स्वैच्छिक कार्बन व्यापार र उत्सर्जन न्यूनीकरण र वन क्षेत्र वृद्धिसम्बन्धी Lowering Emissions and Accelerating Forests(LEAF) Instrument मा नेपालको रूची बारेमा जोड दिनुभयो।सोही दिन नेपालले जलवायु वित्त परिचालन गरी हरित विकासलाई प्रवर्द्धन गर्न संसारका १०० देशभन्दा बढी सम्मिलित LEAF Coalition मा सहभागी हुने सम्झौतामा हस्ताक्षर गरेको छ।साथै मिथेन ग्यास घटाउने अर्को सामूहिक प्रयासमा नेपाल आबद्ध भएको छ।

सोही दिन बिहान बेलायती प्रधानमन्त्री बोरिस जोनसनले केही सीमित देशका राष्ट्र/सरकार प्रमुखहरुको लागि आयोजना गर्नुभएको विशेष ब्रेकफास्ट मिटिङ्गमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले नेपालको वन संरक्षण र जमिनको सदुपयोगबारे छलफल गर्नुभयो।

नोभेम्बर २ मा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भयो।भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो।उक्त भेटमा सम्माननीय प्रधानमन्त्री देउवाले दुई मुलुकबीचको आपसी सहयोगका विषयमा छलफल गर्दै नेपालमा रासायनिक मलको अभाव भएको सन्दर्भमा सरल रूपमा मलको आपूर्तिको निरन्तरताका लागि आग्रह गर्नुभयो।भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भारतको आवश्यकता जे हो नेपाललाई पनि त्यस्तै सम्झेर सहयोग गर्ने वचन दिनुभयो।सो अवसरमा अन्य कुराका अतिरिक्त सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले भारतलाई अनुरोध गर्दै आएको भैरहवा, नेपालगन्ज, धनगढी र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेशको स्वीकृतिका लागि समेत आग्रह गर्नुभयो।

सोही दिन श्रीलंकाका राष्टपति महामहिम गोटावाया राजापाक्षे र सम्माननीय प्रधानमन्त्री देउवाबीच दुइपक्षीय भेटवार्ता भयो।भेटका क्रममा दुई देशबीचको शैक्षिक एवं साँस्कृतिक क्षेत्रमा आपसी सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको थियो।

यसैगरी, नोभेम्बर २ का दिन सम्माननीय प्रधानमन्त्री देउवासँग संयुक्त अधिराज्यका रक्षामन्त्री वेन वालेसले शिष्टाचार भेट गर्नुभयो।भेटमा सम्माननीय प्रधानमन्त्रीज्यूले भूतपूर्व गोर्खाहरुका चाँडो सम्बोधन गरिदिन आग्रह गर्नुभयो।यस सम्बन्धमा यसअघि सहमति भएअनुसार वार्ता समिति गठन गरी यो विषयलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने विषयमा कुराकानी भयो।मन्त्री वालेसले नेपालप्रति बेलायती सरकार र जनताको न्यानो एवं मित्रवत् सद्‌भाव रहेकोले कोभिड भ्याक्सिन सहयोग, द्विपक्षीय भ्रमणको आदान प्रदान एवम् जलवायु अनुकूलनको क्षेत्रमा लगानी बढाउने र प्रविधि हस्तान्तरणका विषयमा समेत कुराकानी भयो।

यस्तै, सोहि दिन सम्माननीय प्रधानमन्त्रीज्यूसँग विश्व बैँक समूहका म्यानेजिङ डाइरेक्टर श्री मेरी पेंगगेस्टुले भेट गर्नुभयो।सो क्रममा उहाँले जलवायु वित्तमा आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विश्व बैँकले कोभिड महामारीको बेला नेपाललाई सक्दो सहयोग गरेको र विशेषगरी बालबालिकाको खोप ल्याउन गरेको सहयोगप्रति सम्माननीय प्रधानमन्त्रीज्यूले धन्यवाद व्यक्त गर्नुभयो।

सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यूसँग इन्टरनेशनल मेरिटाइम अर्गनाइजेशनका महासचिव किट्याक लेमले भेटवार्ता गर्नुभयो। भेटका क्रममा महासचिव लेमले सामुन्द्रिक यातायात र क्रुजमा आकर्षक रोजगारीका अवसरहरू रहेकोले ती अवसरहरू लिन नेपाललाई तालिम र अध्ययनका लागि आफ्नो संस्थाले सहयोग गर्ने बताउनुभयो।सोही दिन एमसीसीका उप कार्यकारी निर्देशक एलेक्सा लाटोर्टले पनि सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको थियो।

लण्डनमा रहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले ३० अक्टोबरमा अल पार्टी पार्लियामेन्टरी ग्रुप फर नेपाल र यूके नेपाल ट्रेड एण्ड इन्भेस्टमेन्ट फोरमले आयोजना गरेको स्वागत समारोह तथा रात्रिभोजमा सरिक भई सो कार्यक्रमलाई सम्बोधन गर्नुभयो।

सम्माननीय प्रधानमन्त्रीज्यूसँग अक्टोबर ३० मा लण्डनस्थित नेपाली राजदूतावासमा बेलायतको हाउस अफ लर्डसका सदस्य लर्ड शेख र लर्ड पलले शिष्टाचार भेट गर्नु भएको थियो । उहाँहरुले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष नेपालसँगको सम्बन्ध र त्यसलाई प्रर्वद्धन गर्न वर्षौदेखि आफूहरुले खेलेको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो । यसैगरी अक्टोबर ३० मै ब्रिटेन-नेपाल सोसाइटीको एक प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीज्यूसँग भेट गर्‍यो।भेटमा नयाँ पुस्ताका ब्रिटीश युवालाई नेपाल भ्रमण गराउन र सद्भावना बढाउन नयाँ कार्य गर्नुपर्ने विषयमा छलफल भयो।

सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यूसँग गैर आवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेको एक प्रतिनिधिमण्डलले भेट गरेको थियो।भेटमा प्रतिनिधिमण्डलले नेपाली नागरिकताको निरन्तरता, भूतपूर्व गोर्खाको समस्या समाधान लगायतका विषयमा सम्माननीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।सम्माननीय प्रधानमन्त्रीज्यूले गैर आवासीय नेपालीले नेपाललाई माया गरेकोमा धन्यवाद दिँदै नेपालमा विदेशी लगानी भित्र्याउन दिनुपर्ने सुविधा दिन सरकार तयार रहेको स्पष्ट पार्नु भएको थियो।सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपाली जनसम्पर्क समिति बेलायतको टोलीले भेटेर नागरिकताको निरन्तरता लगायतका विषयमा ध्यानाकर्षण गराएको थियो।

यसैगरी,  सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूसँग संयुक्त अधिराज्य सरकारका मिनिस्टर फर लण्डन र स्मल इन्डस्ट्रिज मन्त्री पल सोलीले अक्टोबर ३१ मा राजदूतावासमा शिष्टाचार भेटवार्ता गर्नुभयो।सो अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्री सोलीलाई नयाँ प्रविधि भित्र्याउनका लागि सहयोग गर्न आग्रह गर्दै ग्रिन र क्लिन उर्जामा लगानी गर्न जोड दिनुभयो सोही दिन वल्र्ड इनर्जी काउन्सिलका चिफ अपरेटिङ अफिसर श्री तानिया बौम्यानले सम्माननीय प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो।

यसैगरी, बेलायतमा रहेका विभिन्न भूतपूर्व गोर्खा सैनिक सङ्गठनका प्रतिनिधिले सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यू सँग भेट गर्नुभयो।सोही दिन बेलायतमा रहेको यति नेपाली एशोसियशनको एक प्रतिनिधिमण्डले पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट गरेको थियो।

सोही दिन सम्माननीय प्रधानमन्त्रीज्यू नेपाली राजदूतावासले उहाँको सम्मानमा आयोजना गरेको दिवाभोज कार्यक्रममा सहभागी हुनुभयो।

नोभेम्बर ३ मा सम्माननीय प्रधानमन्त्रीज्यूले स्वदेश प्रस्थान गर्नुअघि एडिनबरास्थित रोयल बोटानिक गार्डेनले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गरी त्यहाँ रहेको नेपाली बगैँचामा बिरुवा रोप्नु भएको थियो।216 बर्षअघि देखि फ्रान्सिस बुचानन हेमिल्टनद्वारा नेपालको हिमाली र पर्वतीय क्षेत्रमा पाइने वनस्पतिका प्रजातिहरू संकलन गरिएको विश्व प्रसिद्ध उक्त बोटानिकल गार्डेनको भ्रमण गरी वृक्षारोपण गर्ने उहाँ पहिलो नेपाली प्रधानमन्त्री हुनुभएको छ।

COP 26 को बैठक आगामी १२ नोभेम्बर सम्म संचालन हुने हुँदा आगामी बैठकहरुको नेतृत्व माननीय वन तथा वातावरण मन्त्रीज्यूले गर्नुहुनेछ।

समग्रमा COP 26 को World Leaders Summit मा सहभागी भै नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गरेका अग्रणी कार्यहरू विश्व समुदायसमक्ष राख्न र अनुकूलन एवं जलवायु परिवर्तनबाट हुने क्षति न्यूनिकरण गर्न नेपाललाई वित्तीय र प्राविधिक सहायता जुटाउन महत्वपूर्ण भएको छ।सम्मेलनका अवसरमा साइडलाइनमा भएको विभिन्न भेटवार्ता र बैठकहरूबाट नेपाल र मित्र राष्ट्रहरू एवं विभिन्न महत्वपूर्ण संघ संस्थाहरूको सम्बन्ध र सहयोग थप प्रगाढ बनाउन मद्दत पुगेको छ।

सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रमण सम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने संचार माध्यम तथा संचारकर्मीहरू प्रति परराष्ट्र मन्त्रालय हार्दिक धन्यबाद ज्ञापन गर्दछ।