press release issued by the Nepali Embassy, State of Kuwait on the occasion of the Republic Day-2075

प्रेस विज्ञप्ति

गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा यस राजदूतावासद्वारा आज कुवेतस्थित गैर आवासीय नेपाली संघ तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न कम्पनीमा कार्यरत नेपालीहरू, संचारकर्मी एवं अन्य नेपालीहरूको उपस्थितिमा एक भव्य कार्यक्रमको आयोजना गरियो । नेपालको राष्ट्रिय गान बजाई गणतन्त्र प्राप्तिका लागि शहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरूको सम्झनामा एक मिनट मौन धारण गर्दै कार्यक्रम शुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रममा कुवेतका लागि नेपालका राजदूत महामहिम यज्ञबहादुर हमालज्यूले कुवेतस्थित सम्पूर्ण नेपाली नागरिकहरूलाई गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात् देशमा पहिलोपटक जनताका प्रतिनिधिहरूको संविधान सभाद्वारा संविधान जारी भई लागू भएको र संघीय, प्रादेशिक तथा स्थानीय तहको निर्वाचन पश्चात् सबै तहका सरकारहरू गठन भर्इ संघीयताले संस्थागत रूप ग्रहण गरेको कुरा उल्लेख गर्नु भयो । सो अवसरमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अबको गन्तव्य भनेको दीर्धकालीन शान्ति र राजनीतिक स्थायित्व, विकास र समृद्धी एवं स्वतन्त्र र सुखी जीवन रहेको हुँदा सरकारका साथै स्वदेश एवं विदेशमा रहेका सबै नेपाली नागरिकहरूले समेत उक्त गन्तव्य प्राप्तिका लागि आ-आफ्नो तर्फबाट कर्तव्य निर्वाह गर्नु आवश्यक रहेको रहेको कुरामा जोड दिनुभयो।

कार्यक्रममा उपस्थित नेपाली समुदायका प्रतिनिधिहरूले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा अबको समय भनेको विकासप्रतिको बढ्दो जनअपेक्षा पुरा गर्नु रहेको बताएका थिए। साथै वक्ताहरूले सबै नेपालीहरूमाझ आपसी सदभाव र सहिष्णुता अभिवृद्धि गर्दै शान्त र समृद्ध नेपालको निर्माण भएमा मात्र गणतन्त्र स्थापनाको सार्थकता हुने कुरामा जोड दिएका थिए।

कार्यक्रमको संचालन द्वितीय सचिव श्री ज्ञानबहादुर मगरले गर्नु भएको थियो भने स्वागत मन्तव्य प्रथम सचिव श्री भोगेन्द्र लिङदेनले दिनु भएको थियो।

गणतन्त्र दिवसको उपलक्ष्यमा तीन दिनसम्म राजदूतावास परिसरमा दिपावलीको कार्यक्रम राखिएको छ।

२०७५ जेठ १५ गते

Republic Day 2075