२५६६ औं बुद्ध जयन्ती विशेष समारोहका अवसरमा आयोजित कार्यक्रममा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन मन्तव्य लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्र २०७९ जेठ २ गते (१६ मे २०२२)

२५६६ औं बुद्ध जयन्ती विशेष समारोहका अवसरमा  आयोजित कार्यक्रममा

सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको सम्बोधन मन्तव्य

लुम्बिनी अन्तर्राष्ट्रिय बुद्धिष्ट ध्यान तथा सम्मेलन केन्द्र

२०७९ जेठ २ गते  (१६ मे २०२२) 

 

मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू,

समादरणीय भिक्षु भिक्षुणीहरू,

भारतीय प्रतिनिधिमण्डलका सदस्यज्यूहरू,

उपस्थित विशिष्ट महानुभावहरू,

महिला तथा सज्जनवृन्द !

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल यस पवित्र भूमि लुम्बिनीमा मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ। यस पुण्य भूमि लुम्बिनीमा आजको यो विशेष उत्सवमा श्री मोदीजीको समुपस्थितिले लुम्बिनीको ऐतिहासिक गौरवलाई बढाउनुको साथै हामी सबैलाई अत्यन्त हर्षित तुल्याएको छ ।

विगत दुई वर्षमा कोभिड महामारीले गर्दा बुद्ध जयन्तीका कार्यक्रम सीमित रूपमा आयोजना गर्न बाध्य भएकोमा अहिले कोभिडमाथि क्रमशः नियन्त्रण कायम गर्न सफल भई २५६६ औँ बुद्ध जयन्ती भव्य रूपमा आयोजना गर्न पाउनु हामी सबैका लागि हर्षको विषय हो ।

बुद्ध धर्म– प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा रहेको कुरा हामी सबैमा विदितै छ । विश्वका विभिन्न मुलुकमा आजको दिनलाई बुद्ध पूर्णिमाको रूपमा विविध कार्यक्रमका साथ मनाइँदैछ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको आजको यस पवित्र दिनले सम्पूर्ण मानव-जगत्‌लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा, मुदिता र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न हामी सबैलाई प्रेरित गर्ने विश्वास लिएको छु ।

भारतका प्रधानमन्त्री श्री मोदीजीको यस भ्रमणले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउन योगदान पुर्‍याउने विश्वास लिएको छु । यस पूर्व उहाँबाट भएको जनकपुर, मुक्तिनाथ, पशुपतिनाथ लगायत नेपालका पवित्र तीर्थस्थलहरूको भ्रमणबाट दुई देशका जनता-जनताबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै ती क्षेत्रहरूमा भारतीय पर्यटकहरूको संख्या उल्लेख्य रूपमा वृद्धि हुन मद्दत पुगेको छ । यसका लागि म प्रधानमन्त्री मोदीजी प्रति आभार व्यक्त गर्न चाहन्छु ।

उहाँको यस भ्रमणले हाम्रा दुई मुलुकबीच ऐतिहासिक कालदेखि रहँदै आएको सामाजिक, धार्मिक, सांस्कृतिक तथा परम्परागत सम्बन्धलाई थप प्रगाढ र मजबुत बनाउनेछ भन्नेमा म विश्वस्त छु।

उपस्थित महानुभावहरू,

गौतम बुद्धले आफ्नो उदात्त चिन्तन र यशस्वी कर्मद्वारा नेपाल र भारतलाई अत्यन्त नजिकबाट जोड्नुभएको छ । दुवै देशका नागरिकहरूका लागि गौतम बुद्ध उत्तिकै श्रद्धेय र वन्दनीय हुनुहुन्छ । उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकहरूलाई नजिकबाट प्रभावित गरेको छ ।

भगवान् बुद्धले दुःखबाट मुक्ति हुनका लागि उपदेश गर्नुभएको चार आर्य सत्य (four nobel truth) र अष्टाङ्गका मार्ग (eight-fold path) सबै पिँढीका मानव मात्रका लागि शाश्वत सन्देशका रूपमा रहेका छन् । जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवर्द्धन गर्ने बुद्धका शिक्षाहरू हिजो जति उपयोगी थिए आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन्। त्यसैले बुद्धका शिक्षाले सार्वकालीन महत्त्व राख्दछन् ।

आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनु परेको छ। आतङ्कवाद, शस्त्रास्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनानुदित झन् कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझै सान्दर्भिक र मननीय हुन पुगेका छन् ।  पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अत्यन्त उपयोगी रहेका छन् ।

आदरणीय महानुभावहरू,

विश्व शान्तिप्रतिको नेपालको दृष्टिकोण भगवान् बुद्धका वाणी र विचारहरूमा आधारित रहेको छ । आत्म-मूल्याङ्कन, अरू प्रतिको सम्मान र समाजमा सबैको कल्याणका लागि बदलिँदो परिवेशअनुसार सदाचारपूर्वक प्रस्तुत हुनसक्‍ने सद्‍गुण अङ्गीकार गर्न बुद्धका उपदेशहरूले हामीलाई सदा प्रेरित गर्दछन्।

नेपालको सामाजिक-सांस्कृतिक उन्नयनको मार्ग बुद्धको शान्ति र सद्भावको मान्यताबाट निर्देशित छ । हामीले राष्ट्रिय विकासको एजेन्डामा समावेशी लोकतन्त्र, समानता अनि विभेदको अन्त्य जस्ता विषयहरूलाई उच्च महत्त्व दिएका छौँ।

भगवान् बुद्धको जन्मभूमि लुम्विनी बुद्धका ज्ञानरुपी अनन्त ज्योतिलाई सदैव प्रज्ज्वलित राख्न  प्रतिबद्ध छ । लुम्बिनीलाई समग्र विश्वकै एक महत्त्वपूर्ण सम्पदाको रूपमा एवं विश्व शान्तिका लागि प्रेरक केन्द्रको रूपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ । त्यसैले लुम्बिनीलाई बुद्ध धर्म तथा दर्शनको विश्वव्यापी केन्द्रको रूपमा विकास गर्ने हाम्रो प्रतिबद्धता हो ।  यस पवित्र उद्देश्य हासिल गर्न सबैको सहकार्य र ऐक्यबद्धताको हामी कदर गर्दछौँ ।

महिला तथा सज्जनवृन्द,

नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजाने उपायहरूका सम्बन्धमा मोदीजी र मैले आज फलदायी छलफल गरेका छौँ। सांस्कृतिक एवं पर्यटनका क्षेत्रमा हाम्रो सहयोगलाई अझ दरिलो बनाउनुका साथै भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्त्वपूर्ण स्थानहरूलाई एक आपसमा जोड्ने बुद्धिष्ट सर्किट (Buddhist Circuit) को विकास गर्न हामी प्रतिबद्ध छौँ ।

नेपालको लुम्बिनीलाई भारतको बोधगया, सारनाथ र कुशीनगरसँग एक आपसमा जोड्ने यस्तो सर्किटले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवर्द्धनका क्षेत्रमा अत्यन्त सकारात्मक योगदान पुर्‍याउनेछ । यसले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेका भगवान् बुद्धको जीवनसँग जोडिएका महत्त्वपूर्ण स्थलहरूको भ्रमणमा आउन उत्प्रेरित गर्नेछ ।

भर्खरै निर्माण सम्पन्न गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन भएसँगै हामी लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो संख्यामा पर्यटक तथा तीर्थयात्रीहरूलाई स्वागत गर्न उत्सुक छौँ ।

नेपाल र भारत समान सांस्कृतिक एवं आध्यात्मिक मूल्य-मान्यताले जोडिएका छन्। यस अवसरमा केही समयअघि सम्पन्न वाराणसीको मेरो भ्रमणको सुखद स्मरण गर्न चाहन्छु । सो अवसरमा काशी विश्वनाथ बाबाको दर्शन र पूजा अर्चना गर्ने सौभाग्य मलाई प्राप्त भएको थियो । सो अवसर जुटाइ दिनुभएकोमा भारतका प्रधानमन्त्री मोदीजी र उत्तर प्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथजी प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

भारत हाम्रो बहु-आयामिक सम्बन्ध भएको घनिष्ठ छिमेकी मित्र हो।  कोभिड-१९ महामारीले जनजीवन कष्टकर बनाएको अत्यन्तै कठिन समय लगायत अन्य विषम परिस्थितिहरूमा भारत सरकारले हामीलाई उदारता र आत्मीयतासाथ महत्त्वपूर्ण सहयोग गरेको छ ।

नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि नेपाल सरकार भारत सरकारप्रति आभार प्रकट गर्दछ। नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत, कृषि तथा मानव संसाधनको विकासका साथै भू-कम्पपछिको नवनिर्माण एवं सांस्कृतिक सम्पदाको पुनःस्थापना र पुनर्निर्माणका लागि भारत सरकारले पुर्‍याएको अमूल्य सहयोगका लागि हामी आभार व्यक्त गर्दछौ ।

यसै वर्ष नेपाल-भारत कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाउँदै गर्दा हामी आपसी समझदारी तथा पारस्परिक सम्मानका आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै थप उचाइमा पुर्‍याउन चाहन्छौँ ।

आदरणीय भिक्षु, भिक्षुणी तथा विशिष्ट अतिथि महानुभावहरू,

भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले हाम्रो देश, यो क्षेत्र तथा सम्पूर्ण विश्वमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव स्थापना गर्ने तथा ज्ञानको आलोकबाट हाम्रो जीवनलाई पावन र पल्लवित बनाउने हाम्रो सत्प्रयासलाई सदैव मार्गदर्शन गर्नेछ भन्ने कुरामा म एकपटक पुनः जोड दिन चाहन्छु ।

अन्त्यमा २५६६ औँ बुद्ध जयन्तीको पावन अवसरमा नेपाल, भारत लगायत विश्वभरका समस्त बौद्ध धर्मावलम्बीहरूलाई पुनः एकपटक हार्दिक शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य  यही टुङ्ग्याउँदछु ।

भवतु सब्ब मंगलम् ।

धन्यवाद ! जय नेपाल !