सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी ततपश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण समापन गरेर स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जारी गरिएको प्रेस नोट
सञ्चारकर्मी मित्रहरू,
१. नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही सेप्टेम्बर १७ देखि २१ सम्म संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी भई जनवादी गणतन्त्र चीनको State Council का Premier महामहिम लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न एवं चीनको हङ्जाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भई प्रतिनिधिमण्डलसहित म आज स्वदेश फर्केको छु।
२. यी भ्रमण तथा कार्यक्रमका सम्बन्धमा न्यूयोर्कस्थित नेपाली नियोग एवं चीनस्थित नेपाली राजदूतावास तथा ल्हासा र छेन्दुमा रहेका महावाणिज्यदूतावासहरूबाट जारी प्रेस विज्ञप्ति तथा भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मीहरूबाट प्रेषित समाचारहरूबाट यहाँहरूले विस्तृत जानकारी प्राप्त गरिसक्नुभएको छु। आज म यी दुई भ्रमणका बारेमा संक्षिप्तमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
३. सर्वप्रथम म मित्रराष्ट्र चीनको भ्रमणबाट शुरु गर्न चाहन्छु। मित्रराष्ट्र चीनको औपचारिक भ्रमण चीनका महामहिम राष्ट्रपति सि जिनपिङले सन् २०१९ मा गर्नुभएको नेपाल भ्रमणपछि नेपालबाट गरिएको पहिलो उच्चस्तरीय भ्रमण हो। कोभिड-१९ महामारीका कारण लामो समयदेखि उच्चस्तरमा भ्रमणहरू नभइरहेको सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास लिएको छु। यस भ्रमणका दौरान चीनका महामहिम राष्ट्रपति तथा प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल-चीन सम्बन्धलाई थप उचाइ दिन मद्धत पुगेको छ, विगतमा भएका समझदारीहरूको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको छ।
४. संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन गरी म १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन अमेरिकाको न्यूयोर्कबाट चीनको हङ्जाउ पुगेको थिएँ। उद्घाटन समारोह शुरु हुनुपूर्व चीनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रतिनिधिमण्डलस्तरमा वार्ता भयो। अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त द्विपक्षीय वार्तामा दुबै देशमा विद्यमान अवसर र सम्भावनाहरूको भरपूर सदुपयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा सघन छलफल भयो। दुई देशबीचको रहेको बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा विचारहरूको स्पष्ट आदानप्रदान हुनुका साथै नेपालको विकास प्रयासमा चीनको साथ र सहयोगका सम्बन्धमा खुलेर कुरा भयो।
५. नेपाल सदैव एक चीन नीतिमा प्रतिबद्ध रहँदै आएको छ। सो विषयलाई पुनर्पुष्टि गर्दै नेपाल चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तर्राष्ट्रिय मूल्य मान्यता र कानूनमा आधारित रहने र भविष्यमा यो सम्बन्धलाई अझ उचाइमा लैजाने दिशातर्फ दुबै पक्षले गर्नुपर्ने कार्यका बारेमा छलफल भयो।
६. सन् २०२६ सम्ममा नेपाल अति कम बिकसित मुलुकहरूको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सन्दर्भमा चीनले गरिबी निवारण र आर्थिक समृद्धिको क्षेत्रमा हासिल गरेको अद्वितीय सफलताको सन्दर्भमा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक-सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने मैले राखेको धारणाप्रति महामहिम राष्ट्रपतिले चीनको पूर्ण समर्थन रहने बताउनुभयो।
७. उक्त भेटमा नेपाल-चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल हुनुका साथै असल मित्रको रूपमा दुई देशबीच भएका समझदारीहरू अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भई अगाडि बढाउने कुराकानी भएको जानकारी गराउन चाहन्छु।
८. सोही दिन विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख एवं उच्चस्तरीय प्रतिनिधिको उपस्थितिमा राष्ट्रपति सी चिनफिङद्वारा भएको १९औं एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सरीक भई नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्ने अवसर प्राप्त भयो। यस प्रतियोगिताका विभिन्न विधाका खेलकुदमा नेपाली खेलाडीहरूको उल्लेख्य उपस्थिति रहेको छ।
९. सेप्टेम्बर २४ का दिन चीनको राजधानी बेइजिङमा नेपाली राजदूतावास, बेइजिङको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् (CCPIT) को संयुक्त आयोजनामा भएको नेपाल चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चीनियाँ निजी लगानीकर्ताहरूलाई आह्वान गरेको छु। नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र लगानी संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको थिएँ। उक्त सम्मेलनमा चीन सरकारका प्रतिनिधिले सकारात्मक सन्देश प्रवाह गरेका थिए भने उद्योगी व्यापारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
१०. सोही साँझ नेपाली राजदूतावासमा नेपाली र नेपालका शुभेच्छुक चीनियाँ मित्रहरूको समेत सहभागिता रहेको स्वागत समारोहमा सरीक भई नेपाल चीन सम्बन्धको वर्तमान अवस्था र सम्बन्ध सुदृढ गर्न सरकारले चालेका कदमका बारेमा जानकारी गराउँदै दुई देशबीच सम्पन्न सहमती र समझदारीको कार्यान्वयन लगायत सम्बन्ध विस्तारका समग्र पक्षमा सक्रिय रूपमा काम गर्न दूतावासलाई निर्देशन दिएको छु।
११. सेप्टेम्बर २५ मा चीनियाँ प्रधानमन्त्रीले मेरो सम्मानमा ग्रेट हल अफ द पिपुलमा औपचारिक समारोहसहित स्वागत गर्नुभयो। सो अवसरमा १९ तोपको सलामी सहित चीनियाँ स्थलसेना, नौसेना र हवाइसेनाका टुकडीले नेपाल र चीनको राष्ट्रिय गान सहित सम्मान गारद अर्पण गरेको थियो। औपचारिक स्वागत समारोहपश्चात चीनियाँ समकक्षी महामहिम लि छियाङसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भयो र सहकार्यका विविध बिषयहरूमा सविस्तार छलफल भयो। यस सम्बन्धमा नेपाल र चीनका तर्फबाट जारी संयुक्त विज्ञप्तिबाट समेत यहाँहरूलाई जानकारी भएको नै हुनुपर्दछ। उक्त द्विपक्षीय वार्ता मुख्यतः नेपालको उत्तरी सीमा क्षेत्रमा बिकट गाउँहरुमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत प्रसारण प्रणालीबाट विद्युतको पहुँच पुर्याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक सत्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाहरूको पुन: सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको थियो। यसैगरी उक्त भेटवार्तामा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनियाँ शहरहरूबाट हवाई सेवा विस्तार गर्ने लगायतका विषयमा समेत छलफल भएको थियो।
१२. नेपालको आवश्यकता अनुसार चीनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने भएको छ। त्यसैगरी स्याफ्रुबेसी-रसुवागढी सडक मर्मतका लागि चीनियाँ पक्ष तयार हुनुका साथै हिल्सा-सिमिकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै पक्ष सहमत भएका छन्। दुवै पक्षले टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउने कुरामा सहमति जनाउँदै काठमाण्डौँ चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको छ। यसैगरी नेपाल-चीन रेलवे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिट्टै आयोजना गर्ने सम्बन्धमा छलफल भएको छ।
१३. उक्त वार्ता पश्चात् देहायका समझदारीपत्रहरूमा नेपाल र चीनका सम्बन्धित अधिकारीहरूबाट हस्ताक्षर भई आदानप्रदान भएको छ:-
१) हिल्सा-सिमिकोट सडक परियोजना र नेपाल-चीन पावर ग्रीड इन्टरकनेक्सन परियोजना सम्बन्धी समझदारी पत्र।
२) शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
३) नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य सम्बन्धी समझदारी पत्र।
४) कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
५) शास्त्रीय महत्त्वका पुस्तकहरूको अनुवाद र प्रकाशनसम्बन्धी समझदारी पत्र।
६) हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्र।
७) डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी समझदारी पत्र।
८) नेपाल चीन व्यापार तथा भुक्तानी सम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन सम्बन्धी समझदारी पत्र।
९) वनस्पतिमा आधारित औषधीजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता (फाइटोसेनेटरी) शर्तसम्बन्धी प्रावधान समेटिएको प्रोटोकल।
१०) चीनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरण सम्बन्धी पत्रको आदानप्रदान।
११) चीनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरण सम्बन्धी प्रमाणपत्र।
१२) नेपाली सरकारी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने सम्बन्धी पत्रको आदानप्रदान।
१४. नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाकाहरू सुचारु गर्ने सम्बन्धमा चीनियाँ सरकारले औपचारिक जानकारी गराइसकेको छ। मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथाङ्का र ओलाङचुङगोला नाका पनि चाडै सञ्चालनमा ल्याउने कुराकानी भएका छन्। मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चीनियाँ पक्षले सहयोग प्रदान गर्ने समेत कुराकानी भएको छ।
१५. तिब्बत र नेपाललाई रेल, सडक, हवाई सेवा, विद्युत प्रसारण लाईन, सूचनामार्ग सबै क्षेत्रबाट जोडेर Trans-Himalayan Multidimensional Connectivity Network को अवधारणालाई व्यवहारमा उतार्ने विषयमा छलफल भएका छन्। ल्हासाबाट काठमाण्डौँ हवाई सेवा पुनःसुचारु गर्न समेत अनुरोध गरेको छु।
१६. सेप्टेम्बर २५ को बिहान चीनको राष्ट्रिय जन कंग्रेसका अध्यक्ष महामहिम झाओ लेजीसँग भएको भेटवार्तामा अध्यक्ष झाओ लेजीले नेपाल र चीनको सम्बन्धलाई प्रगाढ बनाउँदै लैजान राष्ट्रिय जनकंग्रेसले पनि महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो। मेरो तर्फबाट दुई देशको संसदबीच कानून निर्माणको अभ्यास र अनुभव आदानप्रदानबाट दुवै देश लाभान्वित हुने कुरा राखेँ।
१७. सेप्टेम्बर २६ मा चीनले गरेको कृषि क्रान्तिको नमूना हेर्न Chongqing Academy of Agricultural Science को भ्रमण गर्नुका साथै चीनले छोटो समयमा ८० करोड जनतालाई गरिबीबाट मुक्त गर्न गरेका कार्यहरूका बारेमा जानकारी लिएँ। सो अवसरमा कृषि र औद्योगिक विकासका लागि नेपालले चीनबाट सिक्नुपर्ने विषयहरू धेरै रहेको महसूस भयो। छोङछिङमा पार्टी सचिव तथा पोलिटब्युरो सदस्य Yuan Jiajun सँगको भेटघाटमा कृषिका साथै औद्योगिक विकास, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोगका विषयमा कुराकानी भएको छ।
१८. छोङछिङको भ्रमणपछि म सेप्टेम्बर २७ का दिन जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रको राजधानी ल्हासा पुगेँ। तिब्बत भ्रमणको महत्त्व यहाँहरूले बुझ्नुभएकै छ। नेपाल र चीनबीच सीमा जोडिएको एकमात्र प्रान्त तिब्बत रहेको, नेपालको चीनसँगको व्यापारको प्रवेश बिन्दु तिब्बत रहेको, चीनले नेपाललाई गर्ने सहयोगका केही कार्यक्रमहरू तिब्बतमार्फत् कार्यान्वयन हुने गरेको र परम्परादेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा जनस्तरको सम्बन्ध कायम रहेको परिप्रेक्ष्य र पछिल्ला दिनहरूमा नेपालको तर्फबाट राष्ट्र तथा सरकार प्रमुखहरूले तिब्बतको भ्रमण गर्ने परम्परा रहेको शृङ्खलाको पृष्ठभूमिमा मेरो भ्रमण भएको हो।
१९. सो अवसरमा ल्हासास्थित नेपालको महावाणिज्यदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा भाग लिनुका साथै त्यहाँस्थित नेपालीहरूको संस्था नेपाली दुःख निवारण संस्थाको प्रतिनिधिमण्डलसँग भेटघाट गरेँ। उक्त भ्रमणका अवसरमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर जिम्मेवारीबोधका साथ काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन दिएको छु।
२०. ल्हासामा रहँदा चीनियाँ कम्युनिष्ट पार्टीको Tibet Autonomous Region का पार्टी सचिव Wang Junzheng सँग पनि वार्तालाप गरेँ।तिब्बतले विगत केही समयदेखि गरिरहेको तीव्र आर्थिक विकासबाट नेपालले पनि धेरै सिक्न सक्ने र लाभ लिन सक्ने देखिएकोले तिब्बत र नेपालबीच इतिहासदेखि रहिआएको सम्बन्धलाई आगामी दिनमा घनिभूत बनाउँदै लैजाने विषयमा छलफल भएका छन्। तिब्बतका अधिकारीहरूले मेरो भ्रमणका अवसरमा नेपाल र चीनबाट संयुक्त रूपमा जारी भएको विज्ञप्तिमा उल्लेखित विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
२१. त्यसैगरी छेन्दु हुँदै नेपाल फर्कने क्रममा सेप्टेम्बर २९ मा सिचुवान प्रान्तका चीनियाँ कम्युनिष्ट पार्टीका पार्टी सचिव Wang Xiaohui सँग छलफल गरेँ। छलफलका क्रममा दुई देशबीच व्यापार, लगानी, पर्यटन, कृषि क्षेत्रमा सहकार्यका कुरा भएका छन्। चीनियाँ हवाई कम्पनीको छेन्दुबाट काठमाण्डौँ सिधा हवाई सेवा उपलब्ध भइरहेको सन्दर्भमा छेन्दु र अन्य शहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई सेवा विस्तार गर्ने तर्फ सहयोग गर्न अनुरोध गरेको छु। यी विषयहरूमा पार्टी सचिव सकारात्मक हुँदै मेरो भ्रमणका अवसरमा नेपाल र चीनले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिलाई कार्यन्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो।
२२. अब म संयुक्त राष्ट्र संघको चालु ७८औँ महासभामा नेपालको सहभागिताका सम्बन्धमा केही कुरा राख्न चाहन्छु। महासभाको उच्चस्तरीय सत्रको General Debate मा असोज सेप्टेम्बर २१ मा मैले नेपालको तर्फबाट सम्बोधन गरेँ।
२३. यस सम्बोधनमा मैले प्रमुख रुपमा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्याउन अन्तराष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाल लगायत अल्पविकसित देशहरूमा पारेका प्रभाव र त्यसका निराकरणका उपायहरू, हिमाली राष्ट्रहरूका समस्या, दीगो विकासका लक्ष्यहरूको प्राप्तिमा अल्पविकसित राष्ट्रहरूका समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु।
२४. सम्बोधनमा मैले संयुक्त राष्ट्रसंघको बडापत्रमा निहित सिद्धान्त र उद्देश्यहरू प्रति नेपालको अटुट प्रतिबद्धता दोहोर्याउँदै विश्वशान्ति, सद्भाव तथा विकासका क्षेत्रमा सो संस्थाको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने धारणा राखेको छु। बहुपक्षीयता (Multilateralism) प्रति नेपालको पूर्ण प्रतिबद्धता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघको समयानुकूल सुधार तथा पुन:संरचनामा जोड दिएको छु। अतिकम विकसित तथा भूपरिवेष्टित राष्ट्रका समस्याहरूप्रति विश्वको ध्यानाकर्षण गराउँदै ती राष्ट्रहरूको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिएको छु। त्यसैगरी, समकालीन विश्वका प्रमुख मुद्दाहरू, मानवअधिकार, आतङ्कवाद तथा निशस्त्रीकरण बारे नेपालको दृष्टिकोण प्रस्तुत गरेको छु।
२५. सेप्टेम्बर १८ मा आयोजित दीगो विकास सम्बन्धी शिखर सम्मेलनलाई अति कम विकसित राष्ट्रहरूको समुहको अध्यक्षको हैसियतमा सम्बोधन गरेँ। सो सम्बोधनमा नेपाल लगायत अतिकम विकसित राष्ट्रहरूले दिगो विकासका लक्ष्यहरूको प्राप्तिमा भोगेका समस्याहरू र त्यसको समाधानका लागि दोहा कार्ययोजनालाई मूर्त रुप दिन तथा विकास साझेदारहरूबाट स्रोतसाधन र प्राविधिक सहयोग उपलब्ध हुनुपर्ने कुरामा मैले जोड दिएको छु।
२६. सेप्टेम्बर १९ को साँझ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम Joseph Biden ले आयोजना गर्नु भएको जलपान कार्यक्रमका अवसरमा अमेरिकी राष्ट्रपतिसँग नेपाल र अमेरिकाबीचको सम्बन्धको विषयमा संक्षिप्त कुराकानी भयो।
२७. सेप्टेम्बर २० मा आयोजित Climate Ambition Summit मा अतिकम विकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपाल लगायत अतिकम विकसित राष्ट्रहरूमा पारेको प्रभावहरूको बारेमा गम्भीर ध्यानाकर्षण गराउँदै अन्तर्राष्ट्रिय समुदायले Green Climate Fund, Loss and Damage Fund, Adaptation Fund लगायतका जलवायु वित्तको विषयमा गरेका प्रतिबद्धता पूरा गर्न र जलवायु परिवर्तनको चपेटामा परेका नेपाल लयागतका राष्ट्रहरूलाई सहज वित्तीय पहुँचको व्यवस्था गर्न माग गरेको छु। साथै जलवायु परिवर्तन सम्बन्धी नेपालले अपनाएका नीति र लक्ष्यहरूबारे विश्व समुदायलाई अवगत गराउँदै नेपालले हासिल गरेका उपलब्धि एवं जलवायु अनुकूलनमा पुर्याएको योगदान विश्व समक्ष स्पष्ट ढङ्गले राखेको छु।
२८. सेप्टेम्बर २० मै आयोजना गरिएको High-level Meeting on Pandemic Prevention, Preparedness and Response (PPPR) लाई सम्बोधन गर्दै महामारीपछि मुलुकहरूको आर्थिक पुनरुत्थान असमान ढङ्गले भइरहेको र गरीब मुलुकहरू झन् कठिनाइमा परेको जनाउँदै महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालले गरेका प्रयास तथा सो सम्बन्धमा अन्तराष्ट्रिय समुदायको साथ सहयोग आवश्यकता औंल्याएको छु।
२९. सोही दिन आयोजित High-Level Dialogue on Financing for Development लाई सम्बोधन गर्दै अहिले वैश्विक अर्थ व्यवस्थामा देखिएको असन्तुलित र असमान विकासलाई न्यायोचित, समान र सन्तुलित बनाउन अन्तराष्ट्रिय समुदायले गरेका विकास सहायताको प्रतिबद्धता पूरा गर्नुपर्ने तथा अन्तराष्ट्रिय वित्तिय संयन्त्र तथा संरचनाहरूमा व्यापक सुधार र रुपान्तरण गर्नुपर्ने विषयमा जोड दिएको छु।
३०. सेप्टेम्बर २१ मा आयोजित High-Level Meeting on Universal Health Coverage मा सम्बोधन गर्दै नवप्रवर्तनशील तथा आधुनिक स्वास्थ्य पूर्वाधार नेपालको उच्च प्राथमिकतामा रहेको र स्वास्थ्योपचारमा लगानी बढाउँदै स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्न नेपाललाई अन्तराष्ट्रिय सहयोगको आवश्यकता रहेको विषयमा धारणा राखेको छु।
३१. सोही दिन एन्टिगुवा र बारबुडाका प्रधानमन्त्रीले आयोजना गर्नु भएको United Nations Friends of Vision High-Level Brief मा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि एवं स्वास्थ्यसम्बन्धी SDGs प्राप्तिका लागि आँखाको उपचार सर्वसुलभ र सहज बनाउनु पर्नेमा जोड दिएको छु।
३२. संयुक्त राष्ट्र संघको महासभामा मेरो कार्यतालिका अत्यन्त व्यस्त रह्यो। महासभा र यसका विभिन्न उच्चस्तरीय बैठकमा सक्रिय सहभागिताका अतिरिक्त साइडलाईनमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा राष्ट्र संघीय उच्च अधिकारीहरूसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ताहरूमा द्विपक्षीय एवं बहुपक्षीय साझा चासोका विषयमा छलफल भएका छन्। यस सिलसिलामा सेप्टेम्बर १७ मा संयुक्त राष्ट्र संघका महासचिव Antonio Guterres सँग मेरो द्विपक्षीय भेटवार्ता भयो। भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढिकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्याएको योगदानको विषयमा छलफल भयो। सोही क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र मेरो निमन्त्रणा स्वीकार गरी उहाँ छिट्टै नेपाल भ्रमणमा आउनुहुने भएको छ।
३३. यसै सिलसिलामा श्रीलंङ्काका राष्ट्रपति महामहिम रनिल विक्रमसिङ्गे, दक्षिण कोरियाका राष्ट्रपति महामहिम Yoon Suk Yeol, नर्वेका प्रधानमन्त्री महामहिम H. E. Jonas Gahr Støre, विश्व स्वास्थ्य संगठनका महानिर्देशक Dr. Tedros Adhanom Ghebreyesus, भूपरिवेष्ठित मुलुक, अतिकम विकसित मुलुक एवं साना टापु मुलुकहरूका लागि संयुक्त राष्ट्रसंघीय कार्यालयका उपमहासचिव श्री रबाब फतिमासँग द्विपक्षीय भेटघाट र आपसी हितका विषयमा कुराकानी भएको छ।
३४. त्यस्तै भमण दलका सदस्य परराष्ट्र मन्त्री माननीय एन पी साउदले सेप्टेम्बर २१ मा आयोजित “Ministerial Meeting of the Least Developed Countries (LDCs)” को अध्यक्षता गर्नुभयो। त्यसैगरी, उहाँले “Ministerial Meeting of the Land-locked Developing Countries (LLDCs)”, Preparatory Ministerial Meeting on the Summit of the Future (SOTF), Ministerial Meeting of Asian Cooperation Dialogue मा सहभागी भई सम्बोधन गर्नुभयो।
३५. महासभाको साइडलाइनमा माननीय परराष्ट्र मन्त्रीले रोमानियाका परराष्ट्र मन्त्री, सर्बियाका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, फिनल्यान्डका विकास सहायता मन्त्री, क्रोएशियाका परराष्ट्र मन्त्री तथा माल्दिभसका परराष्ट्र राज्यमन्त्री, CTBTO का कार्यकारी सचिव र International Seabed Authority का महानिर्देशकसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभई द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल र बहुपक्षीय मञ्चमा आपसी सहयोग अभिवृद्धिको बारेमा कुराकानी गर्नुभएको छ।
३६. यहाँहरूलाई अवगत नै छ, संयुक्त राष्ट्रसंघीय शान्ति मिशनहरूमा सैनिक तथा प्रहरी पठाउने प्रमुख राष्ट्रहरूमध्ये नेपाल एक हो। हामीले छ दशकभन्दा बढी समयदेखि निरन्तर यस्ता मिशनहरूमा सहभागिता जनाइरहेका छौं। संयुक्त राष्ट्रसंघका सम्बन्धित अधिकारीहरूसँग भएको भेटका समयमा मैले शान्तिकर्मीहरूको सुरक्षा, बन्दोबस्तीका लागि भएको खर्चको समयमै सोधभर्ना तथा निकासा लगायत नेपालले गरेको अटुट र उच्चतहको योगदानको कदरस्वरुप जिम्मेवार तथा उच्च पदहरूमा नेपालको समुचित प्रतिनिधित्व हुनुपर्ने विषयलाई प्रमुख रुपमा मुखरित गरिएको छ। माननीय परराष्ट्र मन्त्रीले संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ पोलिटिकल एन्ड पिस बिल्डिङ्ग अफेअर्सका उपमहासचिव, डिपार्टमेन्ट अफ पिस अपरेसनका उपमहासचिव, तथा डिपार्टमेन्ट अफ अपरेसनल सपोर्टका उपमहासचिवसँग गर्नुभएको भेटमा यस विषयमा छलफल गर्नुभएको छ।
३७. न्यूयोर्कमा रहँदा त्यहाँस्थित नेपाली महावाणिज्य दूतावास, एन.आर.एन. न्यूयोर्क च्याप्टरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा समेत सहभागी भएँ। संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्क र न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको निरीक्षण गरी दुवै नियोगले गरिरहेका कार्यहरूबारे जानकारी लिंदै नेपाल र नेपालीको हितरक्षा गर्दै आ-आफ्नो कार्य क्षेत्रमा नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्न निर्देशन गरेको छु।
३८. समग्रमा दुवै भ्रमणका बारेमा भन्नुपर्दा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ, र अझ महत्त्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चीनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ।
३९. त्यसैगरी, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने, नेपालमा द्बन्द्वबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दीगो विकासका लक्ष्यहरूको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरू बारे नेपाल लगायत अति कम विकसित मुलुकहरूका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा नेपाललाई यसपटक देखिने गरी प्रस्तुत गर्न सफलता मिलेको छ।
४०. अन्त्यमा, संयुक्त राष्ट्रसंघको ७८औं महासभामा नेपालको सहभागिता तथा म र मेरो प्रतिनिधिमण्डलबाट भएको छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका विषयमा निरन्तर सूचना तथा समाचार सम्प्रेषित गर्नुहुने सम्पूर्ण पत्रकार मित्रहरू एवं सञ्चार माध्यमहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
धन्यवाद !