“रेक्याभिक ग्लोबल फोरम- वुमन लिडर्स”मा
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुहुने विशेष सम्बोधन
०९ नोभेम्बर २०२२
रेक्याभिक, आइसल्याण्ड
गणतन्त्र आइसल्याण्डकी प्रथम महिला महामहिम एलिजा जाँ रीड,
वुमन पोलिटिकल लिडर्सका अध्यक्ष तथा संस्थापक श्री सिल्भाना कोक-मेहरिन,
महामहिमहरु,
भद्र महिला तथा सज्जनवृन्द।
महिला नेतृत्वको यस विश्वव्यापी मञ्चमा आमन्त्रित गर्नुभएकोमा यहाँहरुलाई धन्यवाद दिन चाहन्छु । नेपाल देखि आइसल्याण्ड आउने मेरो यस यात्राले हामीलाई “तेस्रो ध्रुव”देखि उत्तरी ध्रुवसम्म जोडेको छ । भगवान बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सदभाव लिएर म यहाँ आएको छु।
विश्व महिला राजनीतिक नेतृत्व मन्चले “संचार, सम्बन्ध, र समुदाय” को बहुआयामिक प्रयासबाट लैंगिक समानताको नयाँ बाटो तय गर्ने लक्ष्य लिएको छ। समानता, आवाज, प्रतिनिधित्व र सहभागिताका लागि हामीले गरेको लामो संघर्षका उपलब्धिहरू एक आपसमा साट्ने उत्सवको रुपमा पनि हामीले यस फोरमलाई लिएका छौँ ।
आज विश्वले कैयन चुनौतीहरु सामना गर्नुपरेको सन्दर्भमा महिलाहरुको दृष्टिकोण निर्णय प्रक्रियाको अग्रपंक्तिमा मुखरित हुनु अपरिहार्य बनेको छ । कुनैपनि संकटले आमा, पत्नी र छोरीहरूलाई नै सबैभन्दा बढी प्रभावित गर्दछ । दक्षिणका मुलुकहरूको अवस्थाले यसलाई अझ स्पष्ट गर्दछ ।
हालैको विश्वव्यापी कोभिड-१९ महामारीले सीमान्तकृत समुदायहरू नै संकटको समयमा बढी जोखिममा पर्ने वास्तविकतालाई उजागर गरेको छ । जलवायु परिवर्तनको असर पनि यो भन्दा फरक छैन ।जलवायु परिवर्तन आज हाम्रो अस्तित्वलाई नै सकट ल्याउने कारक बन्दै गएको छ ।
नेपालमा जलवायु परिवर्तनको असर हरेक वर्ष बढ्दो र झन् विनाशकारी हुँदै गएको हामीले अनुभव गरेका छौँ । हिमनदीहरू सुक्दै गइरहेका छन् । हिमालयमा सधैं महिना जमिरहने हिउँ पग्लिरहेको छ । लाखौं मानिसहरुको जीवन एवं जनजीविका जोखिममा परेको छ । अनपेक्षित मौसमी घटनाहरुमा वृद्धि भई अर्थतन्त्र, पारिस्थितिकीय प्रणाली तथा मानव जीवनमा गम्भीर क्षति पुगिरहेको छ ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुकमध्येमा पर्दछ भने हामीसँग सो जोखिमको सामना गर्न स्रोत, साधन र क्षमताको अभाव पनि उत्तिकै टड्कारो रुपमा रहेको छ । नेपाल हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रमा पर्दैन तर, जलवायु परिवर्तनबाट अत्यन्त नकारात्मक रूपले प्रभावित छ। तथापि जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण अभियानमा हाम्रो उच्च प्रतिबद्धता रहेको छ। हामी पेरिस सम्झौता कार्यन्वयन गर्न दृढ छौँ र सन् २०४५ सम्म सापेक्षिक शुन्य उत्सर्जनमा पुग्ने लक्ष्य लिएका छौँ । यी उद्देश्य प्राप्त गर्न स्रोत-साधन, प्रविधि हस्तान्तरण, तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न हामी विश्व समुदायलाई आह्वान गर्दछौं ।
अध्यक्ष महोदय,
हाल नेपालमा हामी मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्तहरु आत्मसात गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छौँ ।
समानता र न्यायपूर्ण समाजको निर्माणका लागि हामीले शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक-राजनीतिक प्रबन्धहरुमा लगानी गरिरहेका छौँ ।
हामीसंग संघीय तथा प्रादेशिक विधायिकाहरुमा महिलाको एक तिहाई प्रतिनिधित्व सुनिश्चित गरिएको सुदृढ संवैधानिक आधारशिला रहेकोछ ।
हालसालै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा एकचालीस प्रतिशत राजनीतिक पदहरुमा महिलाहरु निर्वाचित हुनुभएको छ । निजामती सेवा, सुरक्षा निकाय, सहकारी तथा निजी संस्थानहरु जस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भइरहेको छ ।
तथापि राष्ट्रिय जीवनमा पूर्ण लैंगिक समानताको लक्ष्य हासिलगर्ने हाम्रो लामो यात्रा अझै जारी छ । सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कुरितीहरु विरुद्धको लँडाई जित्न बाँकी नै रहेको छ । यस अभियानमा हाम्रो प्रतिबद्धता अटल र प्रयास इमान्दार रहेकोछ।
अध्यक्ष महोदय,
आज म यस फोरमलाई सम्बोधन गरिरहँदा, गरिबी, अल्पविकास तथा वन्चितीकरणका कारण कष्ट झेलिरहेका महिलाहरुलाई सम्झीरहेको छु ; आफ्नो र आफ्नो सन्ततिको जीवन सुधार गर्न कैयन विघ्नवाधा तथा अड्चनसँग जुधिरहेका महिलाहरुलाई सम्झीरहेको छु।
आज यहाँ विभिन्न पुस्ताका नेपाली विराङ्गनाहरुको प्रतिनिधित्व गर्न पाउँदा मैले गौरवान्वित महसुस गरेको छु । महिला र पुरुष बीचको समान हैसियत हुने समावेशी समाज निर्माण गरी विश्वका चुनौतीहरु सामना गर्ने यस सामुहिक अभियानमा सम्मिलित हुन पाउँदा सम्मानित महसुस गरेको छु ।
धन्यवाद।