नेपाली राजदुतावास, प्रिटोरियाको सार्वजनिक अपिल/अनुरोध !

श्री नेपाली राजदूतावास¸ प्रिटोरियाको सार्वजनिक अपील/अनुरोध !
अफ्रिकामा काम लगाइदिने प्रलोभनमा पारी रकम उठाउने र मानव तथा चेलिवेटी बेचविखनको जालोबाट विदेश पुर्याई अलपत्र पार्ने काममा संलग्न वा शंकास्पद व्यक्ति/दलाल/संस्थासंग सचेत र सतर्क रहने बारे ।

अफ्रिका महादेशका मुलुकहरुः दक्षिण अफ्रिका¸ कङ्गो¸ केन्या¸ ग्याबोन¸ जाम्बिया¸ जिम्बाव्वे¸ तान्जानिया¸ मोजाम्बिक¸ मौरिशस¸ बोत्स्वाना¸ लेसोथो¸ सेसेल्स र स्वाजील्याण्ड लगायतमा बैदेशिक रोजगारीको अवशर वा अध्ययनसंगै काम गर्ने अवशर जुटाइदिने प्रलोभनमा पारी वेरोजगार नेपाली युवायुवती बाट मोटो रकम लिएर वा महिलाहरुलाई थप प्रलोभन देखाएर उनीहरुलाई विभिन्न देशको बाटो हुँदै दक्षिण अफ्रिका वा आसपासका देशमा मानव तथा चेलिबेटीको बेचबिखन गर्ने वा ठगी गरी अलपत्र पार्ने घटनाहरु बृद्दि भइरहेका छन्। यस्ता आश्वासनमा परी अफ्रिकामा आई हालसम्म धेरै नेपाली नागरिकहरु पीडित हुनेगरेको र जानकारीमा आएका घटनामा दूतावासका तर्फबाट उद्दार समेत भइरहेको छ।

पीडितहरुले दूतावासमा दिएको जानकारी अनुसार मानव तथा चेलिबेटी बेचबिखनमा संलग्न दलालले पीडितहरुबाट नेपालमा रकम असुल गरिसकेपछि पनि गन्तव्यमा पुर्याउने बहानामा ती दलालका मतियारमार्फत बाटोमा समेत पीडित नेपालीलाई डर-धम्की देखाई उनीहरु वा आफन्तबाट थप रकम असुल गरी बाटैमा छाड्ने गरेको पाइएको छ। युवतीहरुका सन्दर्भमा कतिपय अवस्थामा “तलवबापत” भनी केही रकम अग्रीम उनीहरुलाई नेपालमै दिएर विदेशमा पुर्याई ज्यानमार्ने धम्की दिई जवर्जस्ती अमर्यादीत/अनैतिक काममा लगाउने गरेका घटना समेत हुनेगरेको जानकारीमा आएको छ।

ठगी वा मानव बेचबिखनमा संलग्न रहेको भनी आरोपित व्यक्ति/संस्थाको नाम उल्लेख गरी दूतावासमा यसरी प्राप्त भएका उजुरी तथा निवेदन नेपालीसंग सम्बन्धित भएमा आवश्यक अनुसन्धान र कारबाहीका लागि नेपालका सम्बद्द निकायमा दूतावासबाट लेखीपठाउने र त्यस्तो ठगीमा अन्य देशका नागरिक वा संघसंस्थाको संलग्नता देखिएमा इन्टरपोलको माध्यमबाट ठगी गर्नेको पहिचान गरी उनीहरुलाई कानुनको दायरामा ल्याई पीडितलाई न्याय दिलाउन सम्बन्धित निकायमा पत्राचार गर्ने गरिएको छ। तथापी विदेशमा नेपाली युवायुवतीलाई अलपत्र पार्ने घटनाहरु घटिरहेको पाइएकाले दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ।

त्यसैले¸ थप नेपाली नागरिकहरु यस्ता ठग वा मानव बेचविखनमा संलग्न दलालको जालोमा पर्ने खतराबाट बच्न आफै सचेत रहनुपर्ने देखिएको छ। त्यसका लागि दक्षिण अफ्रिका र आसपासका देशमा कामको अवशर मिलाइदिने भनी प्रस्ताव गर्ने वा मध्यस्थता गर्ने कुनै शंकास्पद व्यक्ति¸ दलाल¸ संघसंस्था आदिको प्रलोभनमा नपर्न हुन र उनीहरुसंग कारोबार¸ लेनदेन वा सम्झौता नगर्न हुन समेत यो दूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ। दूतावासको कार्यक्षेत्र तोकिएका माथि उल्लिखित देशहरुमा काम वा अध्ययनका लागि खासै अवशर नभएकाले त्यस खालका अवशर रहेको भनी कतैबाट प्रस्ताव आएमा सो बारेमा श्री कन्सुलर सेवा विभाग¸ त्रिपुरेश्वर¸ काठमाडौं वा श्री नेपाली राजदूतावास¸ दक्षिण अफ्रिकाबाट बुझेर मात्रै थप प्रक्रिया अगाडि बढाउन उचित हुने। विदेशमा काम वा अध्ययनको अवशरको खोजीमा जान चाहाने जो कोही नागरिक ठगीमा परी विदेशमा अलपत्र हुनबाट जोगिन आफैले आवश्यक पूर्व सावधानी अपनाउनु हुन र सचेतना जगाउने विषयमा सम्बन्धित निकाय र संचार जगतले समेत आवश्यक सहयोग पुर्याइदिनु हुन दूतावास हार्दिक अनुरोध गर्दछ।

प्रिटोरिया¸ दक्षिण अफ्रिका
मितिः २०७४।१०।१२ गते (इ.सं. २०१८ जनवरी २६)