Press Release Issued by Nepali Embassy, Oman on “परदेशमा घरदेश”

प्रेस विज्ञप्ति

ओमनमा काम गर्ने नेपाली कामदारहरूलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटले मिति २०७६/०७/०१ गते लुलु कम्पनीमा एक श्रमिक सचेतना तथा साँगीतिक कार्यक्रम “परदेशमा घरदेश” आयोजना गर्यो।

विदेशी भूमिमा रहने हुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, वहाँहरूलाई मानसिक तथा सामाजिक रूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य (आत्महत्या) र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।उक्त कार्यक्रम नेपालको इमल इभेन्टससँगको सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा नेपाली राजदूतावासका द्वितीय सचिव श्री सोमेश थापाले उपस्थित सबैलाई स्वागत गर्दै गएको बडादशैं तथा आउँदो छठ पर्व तथा नेपाल सम्वत् ११४० को अवसरमा सबैलाई शुभकामना प्रदान गर्दै नेपाली राजदूतावास सबैको लागि अभिभावककोरूपमा रहेको जानकारी गराउनु भयो। कार्यक्रममा दूतावासकी श्रम सहचारी श्री कृष्णा कुमारी गौलीले श्रमिकहरूले थाहा पाउनुपर्ने विविध पक्षहरू तथा नेपाली राजदूतावासले प्रदान गर्ने सेवा सम्बन्धी विविध जानकारीहरूको सम्बन्धमा आफ्नो प्रस्तुति दिनु भएको थियो।

सकारात्मक वक्ता श्री बिष्णु दाहालले श्रमिकहरूलाई परदेशमा रहेर पनि आफुलाई कसरी बिरानो महसुस हुन नदिने तथा अन्य मनोबैज्ञानिक समस्या तथा निवारणका उपाय सम्बन्धी आफ्नो प्रस्तुति दिनु भएको थियो।

कार्यक्रममा गायकद्वय श्री सत्यराज आचार्य तथा स्वरूपराज आचार्यले विविध साँगीतिक प्रस्तुति मार्फत करीब एक घन्टा उपस्थित श्रमिक साथीहरूलाई मनोरञ्जन प्रदान गर्नु भएको थियो।

उपस्थित श्रमिक साथीहरूले उक्त कार्यक्रम लिएर आएकोमा नेपाली राजदूतावास मस्कटप्रति आभार प्रकट गर्नुभयो।

लुलुको प्रतिनिधि, नेपाली राजदूतावासका कर्मचारीहरू तथा इमल इभेन्ट्सका पदाधिकारीहरू समेत गरी २०० भन्दा बढीको सहभागिता रहेको थियो।

नेपाली राजदूतावास आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्बता जाहेर गर्दछ। साथै नेपाली दूतावासलाई सम्पर्क गर्नु परेमा दूतावासको facebook: Embassy of Nepal in Muscat, Whatsapp/imo/ hot line: 79512490 मा सम्पर्क गर्न सकिने छ।

नेपाली राजदूतावास, मस्कट
कार्तिक ०१, 2076, शुक्रबार।